सात महिनामा प्रहरीको विज्ञान प्रयोगशालाबाट ३३ हजार भन्दा बढी नमूना परीक्षण

140
Shares

काठमाडौं ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला भौतिक सवुद प्रमाणहरूको वैज्ञानिक परीक्षण, विश्लेषण, तुलना एवम् पहिचान गरी अपराध अनुसन्धान कार्यलाई सहयोग गर्दै न्याय सम्पादन गर्न प्रभावकारी हुँदै आएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत काठमाडौं सामाखुसीमा केन्द्रीय प्रयोगशाला रहको छ । साथै नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाई धरान सुनसरी र नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाई नेपालगंज बाँके समेत रहेका छन् ।

३ वटै कार्यालयबाट सम्बन्धित निकायहरू प्रहरी, अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतलाई विधि विज्ञान सेवा उपलब्ध हुँदै आएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा प्रयोगशालामा ५ हजार ५७४ वटा केशका ३० हजार ६१२ वटा नमूना प्राप्त भएका छन् । तीमध्ये नयाँ र पुरानो गरी ५ हजार ४३१ केशका ३३ हजार १२२ वटा नमूना प्रयोगशालाले परीक्षण गरेको छ ।

तीमध्ये सामाखुशी प्रयोगशालाबाट ३ हजार ५०९ वटा केशका २७ हजार ८९ वटा नमूना, धरान इकाईबाट १ हजार ३३३ वटा केशका ४ हजार २२८ वटा नमूना र नेपालगंज इकाईबाट ५८९ वटा केशका १ हजार ८०५ वटा नमूना परीक्षण गरिएको हो । आर्थिक २०७९/०८० मा सामाखुशी प्रयोगशालाबाट ६० हजार ५३ वटा, धरान इकाईबाट ४ हजार १८० वटा र नेपालगंज इकाईबाट १ हजार ७३४ वटा नमूना परीक्षण गरिएको थियो ।

आर्थिक वर्ष २०७९/(८) मा ९ हजार ६३३ वटा केश, आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ९०० वटा केश, आर्थिक वर्ष २०७७र०७८ मा ९ हजार ४५६ वटा केश, आर्थिक वर्ष २०७६/०७७ मा ८ हजार ९०५ वटा केश र आर्थिक वर्ष २०७५/०७६ मा १० हजार १०३ वटा केशका नमूना परीक्षण गरिएको थियो । नमूना परीक्षणको प्रभावकारिताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “देशभरि घट्ने विभिन्न अपराधका भौतिक सवुद प्रमाणको परीक्षण प्रयोगशालाहरूमा हुँदै आएको छ ।

ती नमूनाहरूको वैज्ञानिक परीक्षण, विश्लेषण, तुलना एवं पहिचान सूक्ष्म तरिकाले हुने गर्दछ । यसबाट अपराध अनुसन्धान, न्याय सम्पादन तथा मानव अधिकारको संरक्षण र सम्वर्धनमा सहयोग पुग्दै आएको छ । परीक्षण कार्यलाई व्यवस्थित, वस्तुगत, छिटोछरितो र प्रभावकारी बनाउन आधुनिक साधनस्रोतको व्यवस्थापन र दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छौं ।”

चालु आर्थिक वर्षमा विष विज्ञान (टक्सीकोलोजी) तर्फ ६ हजार ७६२ वटा, जीवर सिरम विज्ञान (बायो सेरो)तर्फ ७ हजार ९७९ वटा, रसायनरलागूऔषध (केमेष्ट्रीरनार्कोटिक्स) तर्फ ६ हजार ३१७ वटा, डकुमेन्टतर्फ ६ हजार १८७ वटा, शश्त्रास्त्र विज्ञान (व्यालेष्टिक्स)तर्फ २ हजार ४८ वटा, औंठाछापतर्फ ३ हजार २७२ वटा, भौतिक विज्ञान (फिजिक्स) तर्फ १६ वटा, डिएनएतर्फ ३५८ वटा र विष्फोटक पदार्थ (एक्सप्लोसिभ्स) तर्फ १८३ वटा नमूनाको परिक्षण गरिएको छ ।

प्रयोगशालाको स्तरवृद्धि गर्दै थप प्रभावकारी बनाउने सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “प्रत्येक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापन गर्दै लैजाने संगठनको नीति रहेको छ । यसबाट केन्द्रमै नमूना ल्याउने बाध्यताको अन्त्य भई छिटोछरितो परीक्षण र न्याय सम्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।”

प्रयोगशालाको कामबारे जानकारी दिँदै नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीका सूचना अधिकारी प्रहरी उपरीक्षक योग बहादुर पाल भन्नुहुन्छ, “दैनिक प्राप्त हुने नमूना परीक्षणको लागि सीमित जनशक्ति र प्रविधिको उच्चतम प्रयोग गर्दै छिटोछरितो कार्यसम्पादन गर्न प्रयोगशाला सक्रिय छ । यसलाई अझ व्यवस्थित बनाउँदै विशेषज्ञ राय प्रदान गर्न निरन्तर क्रियाशील भई लागी रहेका छौं ।”