पनौतीलाई बालश्रम मुक्त नगरपालिका घोषणाको तयारी

280
Shares

काभ्रे। 

पनौती नगरपालिकाले बालश्रम निवारणका लागि संचारकर्मीसँग अन्तरक्रिया गरेको छ । बालश्रममुक्त नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेको नगरपालिकाले हालसम्म गरेका प्रगति तथा आगामी योजनाको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरपालिकाका निर्देशक प्रणराज न्यौपाने, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा अध्यक्षहरु, कार्यपालिकाक सदस्य एवं विभिन्न शाखाका शाखा प्रमुख लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले बालबालिकाको क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । बालमैत्री स्थानीय शासन अन्तर्गत सञ्चालित कार्यक्रमले बालबालिकाको अवस्थामा सुधार आएको, विद्यालय छाडेका धेरै बालबालिका पुनः विद्यालय भर्ना भएको उनले बताए । यस्तै उपप्रमुख गीता बञ्जाराले बोल्न समेत लजाउने बालबालिका अहिले आफ्नो लागि आफैं योजना बनाउन थालेका भन्दै खुसी व्यक्त गरिन् । उनले बालमैत्री दिगोपनाका लागि नरपालिकाले काम गरिहरेको बताइन ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बालबालिकालाई उचित शिक्षाको खाँचो रहेको बताए । बालबालिकालाई देशको भविष्य र सहाराको रुपमा चित्रित गर्दै उनले बालबालिकालाई विद्यालय पठाउन आग्रह गरे । बालश्रम निन्दनीय र दण्डनीय रहेको उनले बताए।

नगरपालिकाका बालमैत्री सम्पर्क व्यक्ति केशव बञ्जाराले नगरपालिकाले हालसम्म गरेका कार्यको बारेमा जानकारी गराएका थिए । पनौती नगरपालिकालाई  २०७८ असार ३० गते बालमैत्री नगरपालिका घोषणा गरिएको थियो । नगरपालिकाले बालमैत्री स्थानीय शासन अन्तर्गत ५१ वटा सूचकमा रहेर काम गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा नै उक्त विषय समावेश गरिएको बालमैत्री सम्पर्क व्यक्ति बञ्जाराले बताए । हालसम्म पनौती नगरपालिकाका १२ वटा वडा मध्ये वडा नम्वर ११ नगरपालिकाकै पहिलो बालश्रममुक्त वडा घोषणा भएको छ । अन्य वडाहरु बालश्रम मुक्त घोषणाको तयारीमा रहेका छन् । बालश्रमको तथ्यांक संकलन गरिएको, बालश्रममुक्त नगर घोषणा कार्यविधि तयार गरिएको, होर्डिङ बोर्ड, हातेपर्चा, प्रतिबद्धता पत्र तयार भएको, बालश्रम निवारण डेस्क बनाइएको बालमैत्री सम्पर्क व्यक्ति बञ्जाराले बताए । यस्तै हरेक वडामा एक घर, एक मिनेट कार्यक्रम समेत सञ्चालन गरिएको छ भने बालश्रम प्रयोग नगर्ने उद्योगी व्यवसायीलाई सम्मान गरिएको छ । नगर भित्र अझै पनि १७ जना बालबालिका श्रममा रहेको तथ्यांक सार्वजनिक भएको छ । बालबालिकाको जन्मदर्ता विवरण तयार गर्ने, क्षमता अभिवृद्धि गर्ने, चेतनामूलक कार्यक्रम तयार पार्ने, बालश्रमको अवस्था अनुगमन लगायतका कार्य गर्ने लगायतको काम नगरपालिकाले गर्नेछ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका उद्धवराज पौड्यालले बालश्रमिकको अवस्था बारे जानकारी गराएका थिए । उनका अनुसार नेपालमा ५ देखी १७ वर्ष उमेर समूहका ७० लाख बालबालिका मध्ये ११ लाख बालबालिका श्रममा संलग्न छन् । जसमा १ देखी १३ वर्ष उमेर समूहका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखी १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालक भन्दा बालिका श्रममा बढी छन् । १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेको पौड्यााले बताए ।

बालश्रम न्युनिकरणका लागि जोखिममा परेका बालबालिकाको परिवारको आर्थिक अवस्थामा सुधार, अनुगमन, नीति तथा कानुन संशोधनको आवश्यकता समेत पौड्यालले औँल्याएका छन् । जोखिममा रहेका परिवारलाई लक्षित गर्दै सामाजिक सुरक्षा स्किम तयार पार्नुपर्ने उनको भनाई छ ।