इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

3.1k
Shares

काठमाडौं ।

निर्वाचन आयोगले आगामी वैशाख १५ गते शनिबार इलाम र बझाङमा उपनिर्वाचन गराउने निर्णय गरेको छ। सरकारसँग परामर्शपछि आयोगको आइतबार बसेको बैठकले इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको र बझाङको १ (१) मा प्रदेश सभाको उपनिर्वाचन गराउने निर्णय गरेको आयोगका उपसचिव एवं सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिनुभयो।

आयोगका अनुसार संघीय संसद्तर्फ प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि उहाँ निर्वाचित इलाम क्षेत्र नम्बर २ रिक्त भएको हो।

नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । यसै गरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उहाँ निर्वाचित बझाङ १ (१) रिक्त भएको आयोगले जनाएको छ ।

संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य र धारा १८० को खण्ड बमोजिम सम्बन्धित संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयबाट आयोगमा जानकारी प्राप्त भएपछि आयोगले उपनिर्वाचनको लागि परामर्श अघि बढाएको थियो ।

रिक्त हुन आएको प्रतिनिधि सभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ। सोहीअनुरूप आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मिति घोषणापछि आयोगले सोही क्षेत्रमा मतदाता नामावली संकलन कार्य रोकेर मतदाता नामावली टुंग्याउने, निर्वाचनसम्बन्धी व्यवस्थापकीय र प्राविधिक तयारी अघि बढाउने छ।

आयोगले सोही क्षेत्रमा हुने उपनिर्वाचनलाई मध्यनजर गरी गत माघ २२ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य अघि बढाएको थियो। उपनिर्वाचनको घोषणा भएपश्चात् मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य स्थगन हुने आयोगले जनाएको छ।

मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान रहेको छ।

सोही प्रावधानअनुरूप फागुन १३ गतेसम्म १८ वर्ष पुगी आयोगमा नाम दर्ता गरेका नेपाली नागरिकले अब हुने उपनिर्वाचनमा भाग लिन पाउने छन् । आयोगले हालसम्म दर्ता भएका मतदाता नामावलीलाई समेटिएर मतदाता नामावली प्रकाशित गर्ने छ ।

त्यसपछि आयोगले मतदानसम्बन्धी कार्यतालिका प्रकाशित गर्ने, निर्वाचन अधिकृत नियुक्ति गर्ने, निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मतदाता शिक्षा प्रवद्र्धनलगायत कार्यहरू अघि बढाउने छ ।

प्रतिनिधि सभा निर्वाचनसम्बन्धी ऐन–२०७३ को दफा ३८ मा पहिलो भई निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी अवधि कायम रह“दै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने प्रावधान छ।

त्यसै गरी प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा पनि सोही प्रावधान रहेको छ। उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि आयोगले सम्बन्धित सबैमा आग्रह पनि गरेको छ।