जब दुई नातिनीको सहारा टुट्यो 

574
Shares

वीरगन्ज। 

 पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लँगडीका दुईजना दिदी बहिनी अहिले पीडा अनि शोकमा छन् । आफन्त  कोही नहुँदा  उनीहरु बिलखबन्दमा परेका हुन् । उनीहरुलाई पालन पोषण गर्ने हजुरआमाको मृत्यु भएपश्चात् आठ वर्षीया मनिषा कुमारी र उनकी दिदी दश वर्षीया प्रियंका समस्यामा परेका हुन्।

सानै उमेरमा रोजगारीको सिलसिलामा दुवै जनाको बुवा छेदी ठाकुरको मृत्यु भएको थियो। बुवाको मृत्युपश्चात् उनीहरूकी आमाले दुवै जनालाई छाडेर गइन्।आमा र बुवा दुवै गुमाएका उनीहरूलाई हजुरआमा  देवन्ती देवीले पालनपोषण गर्दै आएकी थिइन् । देवीको पनि फागुन ३ गते मृत्यु भएपछि मनिषा काजक्रियामा बसिरहेकी हुन् । तराई मधेसमा महिलाले काजक्रिया बसेको कुरा विरलै सुन्न र देख्न पाइन्छ।  दुवै जना फुसको सानो झुपडीमा बस्दै आएका छन्।
जसोतसो गरेर हजुरआमालाई मुखमा अग्नि त दिए तर अहिले क्रियाखर्चको पैसा नभएको प्रियंकाले दुखेसो पोखेकि छन् ।

आर्थिक अवस्था निकै कमजोर रहेकोले दुवै दिदीबहिनीहरूलाई सहयोग गर्नुपर्ने आवाज पनि उठेको छ। दुवै जना दिदी बहिनीको कोही नभएकोले समाज र सम्बन्धित पालिकाले पनि सहयोग गर्नुपर्ने र आफू पनि सहयोग गरिरहेको स्थानीय एवम् सञ्चारकर्मी लालबाबु बानियाँले बताए ।प्रियंका र मनिषाको आफन्त कोही नभएकोले अहिले उनीहरूको हजुरआमाको क्रियाकर्मका सार्थ दुवै जनाको पालनपोषणका लागि  गाउँपालिका अग्रसर हुनुपर्ने सामाजिक अभियन्ता प्रकाश थारुको भनाइ छ। साथै उनीहरूको जन्मदर्ता नभएकाले जन्मदर्ता पनि बनाउनुपर्ने थारुको भनाइ छ ।

 यसैबीच उनीहरुलाई गाउँपालिकाले हालसम्म २५ हजार रकम क्रियाखर्चको लागि उपलब्ध गराएको छ। दुवै जना दिदीबहिनीहरुको जन्मदर्ता बनाइने तथा सामाजिक हिसाबले पालिकाले सहयोग गर्ने प्रतिबद्धता धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले जानकारी दिए ।