झोर– मनगाँउतिर हिमपात

किसनहरु खुसी



शैलुङ– ८ झोरको आलुबारीमा भरिएको हिउँ 

दोलखा। 

बिहीबार दिनभरीनै हिमपात भएपछि दोलखा शैलुङ गाँउपालिका वडा नम्बर– ८ मनगाँउका किसान श्याम श्रेष्ठ खुसी भएका छन् । आलु उम्रने बेला भएको थियो मनगाँउका श्याम श्रेष्ठले भने– हिमपातले जमिन चिसो बनाई दिएकोले अब बोट राम्रो हुन्छ ।
आलु रोपेको निक्कै समयसम्म पनि हिमपात र पानी नभएपछि शैलुङको झोर, मनगाँउ, कालापानी, खोलाखर्क, भित्ते, ढाँडे, ढुङ्गे, चैचाप र मेलुङ गाउँपालिकाको घ्याङ र डाँडाखर्कका आलु खेती गर्दै आएका किसानहरु चिन्तित भएका थिए ।

माघमा थोरै हिमपात भएपनि आलु रोपेपछि हिमपात र पानी नभएकोले आलु उत्पादन घट्छकी भन्ने चिन्ता भएको थियो तर विहिवार राम्रैसंग हिमपात भएकोले अब उत्पादन बढ्नेमा ढुक्क छौ– श्याम श्रेष्ठले भने । लगभग १२ रोपनी जमिनमा आलु खेती गरेर  श्याम श्रेष्ठले गतबर्ष झण्डै पाँचलाखको आलु बिक्री गरेका थिए।  यो वर्ष आलु उम्रने बेलामा राम्रोसँग हिमपात भएकोले उत्पादन अझ बढ्ने आशा पलाएको उनले बताए ।

शैलुङकै सुवास श्रेष्ठ पनि समयमै हिमपात नभएकोले आलु उत्पादन घट्ने हो कि भन्ने चिन्तामा थिए  । विहिवार दिनभरी हिमपात भएपछि आलु उत्पादन बढ्ने कुरामा आशावादी बनाएको सुवासले बताए  । अझ एक पटक हिमपात र केही दिन पानी परिदिए यो क्षेत्रमा आलु उत्पादन राम्रो हुनेथियो– सुवासले भने । झण्डै ३५ रोपनी जमिनमा आलु खेती गर्दै आएका  सुवासले गतबर्ष सात लाख भन्दा बढीको आलु बिक्री गरेका थिए  ।

दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ को झोर, मनगाँउ, भित्ते, ढाँडे, कालापानी, वडा नम्बर– ६ को ढुङ्गे, चैचाप र मेलुङ गाउँपालिकाको वडा नम्बर– ३ घ्याङ र वडा नम्बर– ५ डाँडाखर्कका किसानहरुले बर्षमा ४० करोड भन्दा बढीको आलु बिक्री गर्दै आएका छन् ।

शैलुङ र मेलुङ गाँउपालिकाले आलु उत्पादनमा बृद्धि गर्ने उदेश्यले पकेट क्षेत्र तोकेर बिभिन्न सहयोग समेत गर्दै आएको छ । मेलुङ गाँउपालिकाले दुई वटा वडामा आलु प्रर्वद्धन कार्यक्रम सुरु गरेको गाँउपालिकाका प्रमुख हिरा कुमार थोकरले बताए । शैलुङ क्षेत्रमा पुसबाटै हिमपात हुने हो भने आलु उत्पादन निक्कै बढ्ने स्थानीय किसानहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्