सय घरधुरीलाई सिँचाइका लागि नौ वटा पोखरी

644
Shares

 उदयपुर । 

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ का करिब एक सय घरधुरीको कृषि उत्पादनमा सहयोग पुग्नेगरी ९ वटा पोखरी निर्माण गरेर सिँचाइको सुविधा उपलब्ध गराइएको छ ।

खेती गर्न सधैँ सिँचाइको अभाव हुने र सिँचाइको अभावले किसानहरुको उत्पादन कम हुँदै गएपछि त्रियुगा नगरपालिका ६ नं वडा कार्यालयको आर्थिक तथा प्राविधिक र अन्य संस्थाहरुको सहयोगमा ९ वटा पोखरीका साथै ठुलो र सानो एक एक वटा बोरिङ समेत निर्माण गरेर सिँचाइको व्यवस्था गरिएको छ ।

त्रियुगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष योगेन्द्र बहादुर दाहालका अनुसार यस वडाका पानी नभएको ठाउँमा १२ लाखको लागतमा ९ वटा पोखरी, ९ लाख ५० हजारको लागतमा २ वटा बोरिङ गाडिएको छ । ६ नं. वडाको पात्लेबासका १६ घरधुरी, लालपत्तामा ३६ घरधुरी, खपांगीटारमा १५ घरधुरी, गैरीगाउँमा १४ घरधुरी र राना चौरीमा १६ घरधुरकिो खेतीकालागि सिँचाइ उपलब्ध गराउन पोखरी र बोरिङ गाडिएको वडाध्यक्ष दाहालले बताए।

पोखरी निर्माण भएपछि पहिले किनेर खानेहरु अहिले सिँचाइको सुविधाका कारण उत्पादन बढाएर खान पुग्ने अवस्थामा पुगेको जानकारी दिँदै वडाध्यक्ष दाहालले अब आफैले उत्पादन गरेको अन्नबालीले किसानहरु वर्षभरी नै खान पुग्ने अवस्थामा रहेको बताए ।

६ नं वडामा करिब १४ हजार ५ सय जनसंख्या रहेकोमा ५० प्रतिशतलाई पोखरी निर्माण भएपछि ठुलो राहत उपलब्ध भएको र ४० प्रतिशतलाई छ महिना खान पुग्ने र बाँकीलाई पनि केही महिना खान पुग्ने अवस्थामा ल्याएको दाहालले बताए ।

पोखरीको पानीबाट खेतबारीमा सिँचाइको सुविधा उपलब्ध भएपछि किसानहरु खुसी भएको र आत्म निर्भर हुँदै गएको जानकारी दिँदै वडाध्यक्ष दाहालले लालपत्तामा खानेपानीको अभाव हुन्थ्यो त्यहाँ खानेपानी कार्यालयको  १ करोड २५ लाखको लागतमा खानेपानीको टंकी निर्माण गरेर घरघरमा धारा निर्माण गरिएको र १ सय ५ घरपरिवारले स्वच्छ खानेपानी उपभोग गरेको बताए ।

नेपाल विद्युत् प्राधिकरणको सहयोगमा ७ वटा विद्युत् पोल गाडेर मोटरको व्यवस्थापन गरी टंकीको पानीलाई उत्पादनसँग जोडन सिँचाइमा प्रयोग गरिएको छ भने पशुपालक किसानकालागि, तरकारी खेती गर्ने ४५ घरधुरीलाई उत्पादनसँग जोडेर गाउँको समृद्धिकालागि सक्दो प्रयास गरिहरेको वडाध्यक्ष दाहालले बताए।

यसैगरी वडा कार्यालय  र स्थानीय किसानको सहयोगमा कृषि सडक, घनचक्रेमा १किमी बाटोको नयाँ ट्रयाक खोलिएको छ भने खार बस्तीमा ४सय ५० मिटर तटबन्ध, २० लाखमा राष्ट्रपति चुरे नियन्त्रण आयोजनाबाट मोहनपुरको चुरे नियन्त्रण, २५ लाखको लागतमा पात्लेबासमा पनि तटबन्धको काम भइरहेको वडाध्यक्ष दाहालले बताए ।

 बृहत् जलाधार व्यवस्थापन केन्द्रबाट १ लाख २५ हजार ५ सय बराबरको तारजाली प्राप्त गरी घनचक्रेमा बस्ती बचाउँन तटबन्धको काम भइरहेको जानकारी दिँदै वडाध्यक्ष दाहालले वडाको बजेटभन्दा चारगुणा बढी बजेट बाहिरबाट ल्याएर, व्यवस्थापन गरेर काम गरेको, अपाङ्गहरुलाई ७ थान ह्विल चेयर वितरण गरेको, विद्यालयमा कार्पेट वितरण,लालपत्ता चोकमा लाहान सडक डिभिजनको सहयोगमा पार्किङस्थल तथा प्रतीक्षालय निर्माण गरिएको बताए ।

वडाध्यक्ष  दाहालले अरुभन्दा पनि आफूलाई सिँचाइ, खानेपानीका क्षेत्रमा भएको काम र सिँचाइको सुविधा पाएपछि किसानले उत्पादन बढाएर आत्म निर्भर भएकोमा  धेरै खुसी लागेको बताए ।