महानगरपालिकाको फोहोर व्यवस्थापनमा अस्पतालको असहयोग



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा अस्पताल प्रशासनले लापरबाही गर्ने गरेको भन्दै कारबारहीको दायरामा ल्याउन थालेको छ।

मुलुककै राजधानी फोहोर मैलाका कारण चर्चामा आउन थालेपछि महानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान दिन थालेको हो। राजधानीका १७ वटा सरकारी तथा निजी अस्पतालमा अनुगमन गरेको महानगरपालिकाले कुनै पनि अस्पतालले नियम पालना नगरेको भन्दै कारबाहीको डण्डा चलाएपछि अस्पतालहरू सचेत हुन थालेका छन्।

महानगरपालिकाले पटक पटक फोहोरको वर्गीकरण गरिएकाले सोहीअनुरूप फोहोर जम्मा गरिदिन गरेको आग्रहलाई अस्पतालहरूले बेवास्ता गरेपछि ती अस्पताललाई कारबाहीको दायरामा ल्याएर महानगरपालिकाले प्रशंसनीय कामको थालनी गरेको छ।

नेपाली समाजमा आफू केही नगर्ने अनि अरूले केही गरेन भन्ने आम प्रवृत्ति रहेको छ। कुनै पनि राम्रो कामको शुरूआत आफैँबाट गर्नु पर्ने हो तर हामीकहाँ त्यस्तो चलन भने पटक्कै पाइँदैन।

अरूको आलोचनामा रमाउने नेपाली समाज र समाजभित्र बस्नेहरूले आफूले पालना गर्नुपर्ने कुनै पनि नियम पालना नगर्दा अहिलेको बेथितिको अवस्था सिर्जना भएको भन्दा फरक नपर्ला । फोहोरहरूमध्ये अस्पतालबाट निस्कने फोहोर मानव स्वास्थ्यमाथि बढी हानिकारक मानिन्छ । तर, नेपालमा भने अस्पताल चलाउनेहरूले यसलाई ध्यान दिएको पाइँदैन।

आँखा छल्ने प्रवृत्तिका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्दा पनि त्यसलाई बेवास्ता गर्नेमाथि महानगरपालिकाले अझै कठोर कारबाही गर्नुपर्ने देखिन्छ।

महानगरले फोहोरको वर्गीकरण गरेर महानगरले तोकेको नियम पालना गर्न आग्रह गरे पनि सरकारी तथा निजी अस्पतालले महानगरको आग्रहलाई नजरअन्दाज गर्दै आफूखुसी फोहोर संकलन गरेर थुपार्न थालेपछि महानगरले सक्रिय भएर कारबाही अघि बढाउन थालेको छ। यसले अन्य अस्पतालहरू पनि सचेत भएका छन्।

फोहोर व्यवस्थापनको जिम्मा केवल महानगरपालिकाको मात्रै हो भन्ने सोचाइबाट समाज अघि बढेसम्म यस प्रकारको समस्या आइरहने भएकाले सबै समुदाय सचेत हुनुको विकल्प छैन। अस्पताल मात्रै होइन अन्य ठाउँबाट निस्कने फोहोरलाई पनि सबै समुदायले मिलेर समाधान खोज्नुपर्ने देखिन्छ।

यो समस्या एक व्यक्ति वा एउटा समुदायको मात्र होइन त्यो समाजमा बस्ने सबैको समस्या भएकाले त्यसलाई सोहीअनुरूप ध्यान दिनुपर्ने देखिन्छ।नेपालमा फोहोर व्यवस्थापनका विषयमा पटक पटक बहस र छलफल हुने गरेको छ तर त्यसको समाधान भने अहिलेसम्म भएको देखिँदैन।

फोहोरमाथिको राजनीति कहिलेसम्म यो गम्भीर विषय बनेको छ । स्वच्छ समाजको कल्पना गर्नेहरूका लागि फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ। त्यसैले यसको समाधानका लागि सबै सरोकारवाला निकाय एक भएर अघि बढ्नुको विकल्प छैन । सबै सचेत भएर अघि बढौं ।

प्रतिक्रिया दिनुहोस्