सुस्ता पालिकाको परिचय र कार्यशैलीगत आयाम

196
Shares

काठमाडौं ।

लुम्बिनी प्रदेश, नवलपरासी जिल्ला (पश्चिम) मा पर्ने सुस्ता गाउपालिकाका नेपालका ७५३ वटा स्थानीय सरकारमध्येको एक हो। यो पालिका तराईदेखि चुरेसम्म फैलिएको छ। यस पालिकाको क्षेत्रफल ९६.५१ वर्ग किलोमिटर रहेको छ।

यस पालिकाको केन्द्र वडा नं. २ स्थित कुडियामा रहेको छ। साविकका गाउँ विकास समितिहरू क्रमशः कुडिया, त्रिवेणी सुस्ता, रुपौलिया, नर्सही र पक्लिहवा मिलेर यस गाउँपालिकाको स्थापना भएको हो। राज्यको पुनःसंरचनाको सिलसिलामा २०७३ साल फागुन २१ गते स्थापित यस गाउँपालिकाको अलग्गै पहिचान र महत्व रहिआएको छ।

यस सुस्ता गाउँपालिकाको पूर्वमा विनयी त्रिवेणी गाउँपालिका र भारतको विहार राज्य, पश्चिममा प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका, उत्तरमा विनयी त्रिवेणी गाउँपालिका तथा दक्षिणमा भारतसँग सिमाना जोडिएको छ। गाउँपालिकाको अधिकांश भूभाग समथर रहेको छ।

जल, जंगल, जमिन, जनावर र जडीबुटीले भरिपूर्ण यस गाउँपालिका सप्तगण्डकी अर्थात् नारायणी नदी तथा यसमा मिसिन आउने चुरेबाट बग्ने ससाना खोलाहरूले गाउँपालिका रमणीय, हरियाली र उर्वरयुक्त तुल्याएको छ।

सुस्ता गाउँपालिकाको नामकरण यसै गाउँपालिकाको वडा नं. ५ मा नारायणी नदीको दक्षिणपूर्वी भागमा अवस्थित राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व बोकेको सुस्ताको नामबाट गरिएको हो । हुलाक, टेलिफोन, स्वास्थ्यचौकी र विद्यालयको पहुँचका साथै यातायातको सुविधाले यस ग्रामीण बस्तीको विकासमा सहयोग पुगिरहेको छ।

यस गाउँपालिकाको भू–उपयोगलाई हेर्दा करिब ६० प्रतिशत अर्थात् सबैभन्दा धेरै खेतीयोग्य जमिनले ओगटेको छ भने दोस्रोमा करिब १७ प्रतिशतमा वन जंगल रहेको छ।

यस पालिकामा आँप, चाँप, कटहर, केरा, उखुलगायतको बगैँचाले करिब २ प्रतिशत भूभाग ढाकेको छ। यस गाउँपालिकामा रहेको खेतीयोग्य जमिनमा खाद्यान्नको साथै अन्य नगदे तरकारी बाली, फलफूल, तरकारी मसला तथा जडीबुटी र पशुजन्य उत्पादन वृद्धि गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेका छन् ।

यस पालिकामा करिब ५१ हजार जनसंख्या रहेको छ । जसमा, थारू, चमार/हरिजन/राम, मुसलमान तेली, बाह्मण पहाडी, मुसहर, कोइरी÷कुसवाह, यादव, मुसहर, दुसाध÷पासवान÷पासी, मगर, राजभरलगायतका जातजातिहरूको बसोबास रहेको छ ।

यस पालिकामा भोजपुरी, थारू, नेपाली, मगर, उर्दू, बज्जिका र नेवारी भाषा बोल्नेको संख्या अधिक रहेको छ । यस पालिकाका अधिकांश मानिस कृषि पेशामा संलग्न छन् भने हालका दिनमा वैदेशिक रोजगारीमा जानेको संख्या पनि वृद्धि भइरहेको छ ।

यस पालिकाका करिब एक चौथाइ जनसंख्या गरिबीको रेखामुनि रहेको अनुमान गरिन्छ । यस पालिकामा आधारभूत विद्यालयको सङ्ख्या ५, प्राथमिक विद्यालयको संङ्ख्या ६, माध्यमिक विद्यालयको संख्या ५, मदरसा ५ र निजी विद्यालयको संख्या ४ गरी जम्मा २५ वटा शिक्षण संस्थाहरू रहेका छन्।

यसै गरी, यस पालिकाका वडाहरूमा १ वटा आधारभूत स्वास्थ्य केन्द्र, ४ वटा स्वास्थ्य चौकी, १९ खोप क्लिनिक र ११ वटा गाउँघर क्लिनिक रहेका छन् भने ३५ जना महिला स्वास्थ्य स्वयंसेवीले पनि स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् ।

यस पालिकाको असल अभ्यासलाई नियाल्दा छोरी सुनौला भविष्य कार्यक्रमअन्तर्गत छोरी जन्मिएमा निजको नाममा पच्चिस हजार बैंक खातामा जम्मा गर्ने व्यवस्था छ । यसबाट यस पालिकामा छोरी जन्मिनुलाई स्वयं लक्ष्मीको आगमन ठान्न थालिएको छ । साथै, यस पालिकाले उपाध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । यसबाट महिला विकास र महिला सशक्तीकरणमा टेवा पुगेको महसुस गरिएको छ ।

यस पालिकाले गाई भैँसी सुत्केरी अनुदानबापत पन्ध्र सय रुपियाँ दिने गरेको थियो । हाल यसलाई परिमार्जन गरी चालू आ.ब. २०८०।८१ देखि पन्ध्र सय रुपियाँ बराबरको दूध उत्पादन बढाउने भिटामिन खाद्यान्न औषधि प्रदान गरिएको छ। यसबाट यो पालिका दुग्ध पदार्थमा आत्मनिर्भर हुँदै गएको छ भने पशुपालनले प्रोत्साहन पाएको छ । साथै, यसबाट प्रांगारिक मल उत्पादनमा सहयोग पुगेको छ।

साथै, यस पालिकाले कृषकसँग प्राविधिक कार्यक्रम आरम्भ गरेको छ । यसबाट आम किसानले पालिकाबाट खटिई आउने कृषि र पशु विज्ञसँग राय परामर्श लिन सक्ने अवसरको सिर्जना भएको छ ।

सुस्ता गाउँपालिकाले अध्यक्ष नमूना सडक निर्माण अभियान सञ्चालन गरेको छ। यसअन्तर्गत गाउँपालिकाका सम्पूर्ण वडाहरूलाई जोड्ने कम्तीमा ३२ फुटको चौडाइमा सडक निर्माण आरम्भ गरिएको छ। यसका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गरिएको छ। चालू आ.ब. २०८०/८१ मा २ करोड ९० लाख रुपियाँ विनियोजन भई सडक निर्माणको कामले तीव्रता लिएको छ।

सुस्ता गाउँपालिकाले सूचना प्रविधिसँग सम्बन्धित थुप्रै असल अभ्यासहरू आरम्भ गरेको छ। जसअनुसार, यस पालिकामा इलेक्ट्रोनिक एटेन्डेन्स् लागू गरिएको छ। यसअन्तर्गत पालिकाका कर्मचारीहरूको हाजिरी विद्युतीय माध्यमबाट पनि अद्यावधिक गर्ने गरिएको छ। यसले कर्मचारीमा समयपालनामा सहजता कायम गरेको छ ।

यस पालिकाले बल्क एसएमएस प्रणाली लागू गरेको छ। जसअनुसार, कार्यपालिका बैठकसँग सम्बन्धित सूचनालगायत अन्य महत्वपूर्ण सूचनाहरू सम्प्रेषण गर्न सहजता पुगेको छ। साथै, यस पालिकाको वेभसाईटमा गई विद्युतीय प्रणालीबाट पालिकासँग गुनासो गर्न मिल्ने प्रणाली लागू गरिएको छ।

यस अतिरिक्त, रोजगार शाखामार्फत् वैदेशिक रोजगारीमा जाने सुस्ताबासीका लागि अनलाइन श्रम स्वीकृतिको काम निःशुल्क गरिदिने प्रणाली पनि शुभारम्भ गरिएको छ । यस काममा सूचना प्रविधि शाखाले सहजीकरण गरिआएको छ।

सुशासन प्रवद्र्धनतर्फ यस पालिकाले आकर्षक नागरिक वडापत्र टाँस गरेको छ। पालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीका लागि यसै पंत्तिकारद्धारा क्षमता विकास कार्यक्रम सञ्चालन गर्दा राजनीति र प्रशासन गरी दुवै पक्षमा पालिकाको विकास गर्ने र सेवा प्रवाह गर्ने सन्दर्भमा निकै उत्साह पाइएको थियो । टेक नारायण उपाध्यय यस गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । उहाँ पुराना एवं अनुभवी राजनैतिक कार्यकर्ता हुनुभएकाले सुझबुझका साथ पालिकाको चौतर्फी विकासको कार्ययोजना लागू भएको छ ।

सुस्ता गाउँपालिकाको उपाध्यक्षमा गीता चौधरी हुनुहुन्छ । उहाँ पनि पढेलेखेको, जानकारयुक्त तथा केही गर्नुपर्छ भन्ने उत्साह भएको युवा नेत्रृ हुनुहुन्छ। यस पालिकामा ५ वटा वडा रहेका छन्।

यी वडाहरूमा क्रमशः अशोककुमार चौधरी, कृष्णलाल मुखिया, हरिलाल दुसाध, निलबहादुर गुरुङ र प्रभुनाथ अहिरले वडाअध्यक्ष भई वडाबाट प्रवाह गरिने सेवा प्रवाहलाई अनुकरणीय र प्रशंसनीय ढंगले सम्पादन गरिआउनु भएको छ । यसमा योग्य र मिहिनती वडा सचिवहरूले अहोरात्र काममा खटिएर आम जनताको मन जितेको अवस्था छ ।

सुस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हुमलाल भुसाल कार्यरत रहनु भएको छ । उहाँमा युवा जोश र जाँगर तथा विकास निर्माणलाई तीव्रता दिने हुटहुटी छ। उहाँले राजनीति र प्रशासनबीच उचित तालमेल मिलाई पालिकाको कामलाई नमूनायोग्य बनाईरहनु भएको छ।

यस पालिकामा विष्णुप्रसाद ढकाललाई गुनासो सुन्ने अधिकारी तोकिएको छ । जसअनुसार प्राप्त गुनासोहरूको तत्कालै सम्बोधन गर्नुका साथै वर्षमा ३ पटक सार्वजनिक सुनुवाई गर्न पनि यो पालिका प्रतिबद्ध रहेको पाइएको छ। यस अतिरिक्त, यस पालिकामा सूचना अधिकारी पनि तोकिएको छ।

यसको जिम्मेवारीमा विजय अधिकारी हुनुहुन्छ र उहाँले संविधान र कानूनले व्यवस्था गरेको नागरिकको सूचनाको हकको प्रचलनको कार्यान्वयनमा कुनै कन्जुस्याई नहुने प्रतिबद्धता जनाई काम गरिरहनुभएको छ ।

यस पालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दैछ । यसै गरी, घाँसको बिउ वितरण, बगरखेती कार्यक्रम र धान पकेट विकास कार्यक्रमको पहल भइरहेको छ।

यस पालिकाले नियमित रूपमा सार्वजनिक सुनुवाई गर्ने प्रतिबद्धता जनाएको छ । यसरी सुस्ता गाउँपालिकाबाट सम्पादित कामहरू अन्य पालिकाका लागि अनुकरणीय छन्।