प्रहरी कल्याण कोषको १२ अर्ब खै ?

हिनामिनामा विगतदेखिकै नेतृत्व संलग्न रहेको पूर्व प्रहरीको आरोप

2.5k
Shares

काठमाडौं ।

झण्डै ३२ वर्षअघि स्थापना भएको नेपाल प्रहरीको कल्याण कोषमा मुस्किलले ४ अर्ब रुपियाँ मात्र रहेको जानकारी आएपछि पूर्व प्रहरीहरूले कल्याण कोषको पैसाको बारेमा छानबिन गर्नुपर्ने माग उठाएका छन्।

पूर्व प्रहरी संगठनले नेपाल प्रहरीका २ हजार ८ सय अब्जर्भर र ८ हजार एफपीयू मिसनमा खटिएका पूर्व प्रहरीबाट संकलन भएको झण्डै १७ अर्ब रुपियाँमध्ये १२ अर्ब रुपियाँको हिसाब किताब नदेखिएको भन्दै त्यसको खोजी गर्नुपर्ने आवाज उठाइएको छ।

पछिल्लो समय नेपाल प्रहरीले कल्याण कोषको रकमबाट देशका विभिन्न ठाउँमा पेट्रोल पम्प र गेस्ट हाउस सञ्चालन गर्ने गरी झण्डै ७५ करोड रुपियाँ छुट्याएपछि यो विवाद सतहमा आएको हो।

लगानीको ग्यारेन्टी नै नभईकन त्यति ठूलो रकम लगानी गर्न खोज्नुले पनि यसमा केही न केही रहस्य रहेको भन्दै संगठनका अध्यक्ष वसन्त कुँवरले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अब्जर्भरमा गएका पूर्व प्रहरी कर्मचारीले घटीमा ५ लाख र बढीमा २२ लाखसम्म कल्याण कोषका लागि योगदान गरेका छन्। एफपीयू मिसनमा गएकाहरूले ४ देखि ५ लाखसम्म योगदान गरेको उक्त रकमको हिनामिनामा विगतदेखिको नेतृत्व संलग्न रहेकाले उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग पूर्व प्रहरी कर्मचारीले गरेका छन् ।’

नेपाल प्रहरीले यस वर्ष कल्याण कोषबाट खर्च गर्ने गरी ७५ करोड रुपियाँ विनियोजन गरेको छ । त्यसको साक्षीका रूपमा पूर्व प्रहरी संगठनको तर्फबाट बैठकमा सहभागी भएका पूर्व डीएसपी गोविन्द थापलियाले कल्याणकोषको रकमको बारेमा कुरा उठाउँदै उक्त बैठकमा सहभागी भए पनि बैठकको माइन्युटमा हस्ताक्षर नगरेपछि कल्याण कोषको बारेमा बहस शुरू भएको हो ।

संयुक्त राष्ट्र संघीय मिसनमा सहभागी भएका प्रहरीबाट काटिएको रकमबाट स्थापना भएकोे कल्याण कोषलाई विगतदेखिकै नेतृत्वले दुहुनो गाईको रूपमा प्रयोग गरेर पूर्व प्रहरीलाई सेवा सुविधाबाट वञ्चित गराउन खोजेको भन्दै पूर्व प्रहरीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

पूर्व प्रहरी वरिष्ठ उपरीक्षक मोहन जोशीले कल्याण कोषको रकम दुरुपयोग भएको भन्दै आवाज उठेको यो पहिलोपटक नभएको टिप्पणी गर्दै भन्नुभयो– ‘२०७१ सालमा पनि कल्याण कोषको रकम हिनामिना भएको भन्दै त्यसमा संलग्न रहेकाहरूमाथि कारबाही भएको थियो । विगतमा नेतृत्व हत्याउनका लागि कल्याण कोषको दुरुपयोग भएको छ, यस विषयमा छानबिन हुनु पर्दछ । कल्याण कोषलाई दुहुनो गाईको रूपमा प्रयोग गर्नेमाथि कारबाही हुनु पर्दछ ।’

कल्याण कोषमा जम्मा भएको मूलधन नचलाउने त्यसबाट आएको ब्याजबाट पूर्व प्रहरी कर्मचारीको सुविधामा प्रयोग गर्ने भनिए पनि अहिले अस्पताल जाँदा केही सुविधा पाइए पनि कोषको उद्देश्यअनुरूप काम हुन नसकेको पूर्व एसएसपी जोशीले बताउनुभयो ।

प्रहरीको नेतृत्वले पूर्व प्रहरी कर्मचारीलाई हेयको दृष्टिले हेरेको बताउँदै संगठनका अध्यक्ष कुँवरले पूर्व प्रहरी कर्मचारी र उसका सन्ततिहरूको उपचार र औषधि खरिदका लागि २ करोड छुट्याइनुले पनि कोषको औचित्यमाथि प्रश्न उठेको बताउनुभयो ।

उहाँले ४५ हजारभन्दा बढी पूर्व प्रहरी कर्मचारीको भावनामाथि खेलवाड भएको भन्दै २०५० सालदेखि नै कल्याण कोषको रकमको विषयमा छानबिन हुनुपर्ने र त्यो नभए सडकदेखि न्यायलयसम्म पुग्न संगठनले पहल गर्ने पनि बताउनुभयो ।

२०६६ सालमा स्थापना भएको सशस्त्र प्रहरी बलको कल्याण कोषमा सवा ४ अर्ब रुपियाँ रहेको छ। सशस्त्र प्रहरी बलबाट राष्ट्र संघीय मिसनमा अहिलेसम्म ८ हजार ६ सय ४ जना सहभागी भएका छन्। तर, २०४८ सालमा स्थापना भएको नेपाल प्रहरीको कल्याण कोषमा भने ४ अर्ब रुपियाँमा मात्रै रहनुले प्रहरीको पूर्व नेतृत्वहरूले चरम दुरुपयोग गरेको पुष्टि भएको पूर्व प्रहरी कर्मचारीहरूको आरोप छ।

राष्ट्र संघीय मिसनमा सहभागी भएको नेपाली सेनासँग अहिले झण्डै ७३ अर्ब रुपियाँ मौजाद रहेको र त्यसबाट लाखौं पूर्व सैनिक कर्मचारीको हितमा खर्च गर्दै आएको छ।

नेपाल प्रहरी कल्याण कोषको हिसाब किताबका विषयमा प्रहरी प्रधान कार्यालयले भने अहिलेसम्म पूर्व प्रहरी कर्मचारीले मागेको जवाफ दिन सकेको छैन।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कल्याण कोषलाई व्यवस्थित बनाउन खाजेको बताए पनि कल्याण कोषमा रहेकाहरूले भने यसलाई गोलमटोल बनाउन खोजेको पूर्व एसएसपी जोशीको आरोप छ।

यस विषयमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालसँग सम्पर्क राख्दा उहाँले यस विषयमा आफू अनभिज्ञ रहेको र कल्याणकोषका विषयमा प्रश्न उठेको भए सम्बन्धित निकायसँग बुझेर जानकारी दिने बताउनुभयो।