स्याङ्जामा लोकसेवा तयारी कक्षा निःशुल्क



स्याङ्जा। 

निजामती तथा अन्य सेवामा स्याङ्जाले छुट्टै पहिचान बनाएको छ । जिल्लाको वालिङ नगरपालिकाले लोकसेवा आयोगका निःशुल्क तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउने उद्देश्यले नगरपालिकाले ३ महिने तयारी कक्षा सुरु गरेको हो ।

 अहिले लोकसेवा आयोगले लिने नायब सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गरेको छ । तयारी कक्षाको लागि विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको लोकसेवा तयारी कक्षा सञ्चालन कार्यक्रमका संयोजक माधव प्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार २ सय जना विद्यार्थीले कक्षा लिनका लागि आवेदन दिएकोमा पहिलो चरणमा झन्डै १ सय जना विद्यार्थी तयारी कक्षामा सहभागी छन् । अन्य विद्यार्थीहरुका लागि पनि समय मिलाएर कक्षा सञ्चालन गर्ने तयारी भइरहेको न्यौपानेले बताए ।

मानव संसाधनको विकास नगरी पालिका समृद्ध बन्न नसक्ने भएकाले लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको नगरप्रमुख कृष्ण खाँणले बताए । पढेका युवा बेरोजगार हुँदा पढेर मात्र के गर्ने भन्ने बुझाई युवामा आउन थालेकाले सरकारी सेवामा प्रवेशका लागि सहयोगी बन्न कक्षा सञ्चालन गरेको खाँणको भनाई छ । आउने दिनमा बैंकिङ, नेपाल प्रहरी तथा नेपाली सेनामा प्रवेश गर्न चाहनेहरुका लागि पनि सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । काठमाडौँ, पोखरा तथा वालिङका अनुभवी प्रशिक्षकहरुद्धारा प्रशिक्षण दिईएको पालिकाले जनाएको छ ।

सैद्धान्तिक र प्रयोगात्मक विधिद्धारा कक्षा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए । पालिकाले विगतका बर्षहरुमा सञ्चालन गरेको नि:शुल्क कक्षाको प्रभावकारिता राम्रो भएकाले यस पटक पनि नि:शुल्क तयारी कक्षालाई निरन्तरता दिएको शर्माले बताउनुभयो । कक्षामा विद्यार्थीहरुलाई कसरी तयारी गर्ने, कसरी परीक्षा दिने, कुन कुन विषयवस्तु पढ्ने सम्बन्धी विशेष रुपमा फोकस गरिएको संयोजक न्यौपानेको भनाई छ । यो कार्यक्रम प्रभावकारी भएको नगरको दाबी छ । तर विगतमा सञ्चालन भएको कक्षाबाट कति उत्तीर्ण भए भन्ने तथ्याङक भने नगरपालिकासँग छैन । निःशुल्क कक्षा सञ्चालन गर्न नगरपालिकाले यो वर्ष ३ लाख रकम विनियोजन गरेको छ ।

यता सामाजिक विकास कार्यालय स्याङ्जाले २० दिने लोक सेवा तयारी कक्षा सम्पन्न गरेको छ । महिलाहरुलाई लक्षित गर्दै पुतलीबजारमा निःशुल्क तयारी कक्षा सञ्चालन भएको थियो । समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदीले तालिमको सही सदुपयोग गर्दै स्वदेशमै बसेर निजामती सेवामा लाग्न सहभागीलाई सुझाव दिए । मानिसलाई कर्मले ठूलो बनाउने बताउँदै उनले लक्ष्य सहितको अध्ययन गरेमा सफलता मिल्नेमा जोड दिए ।

कार्यक्रममा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक इश्वरीप्रसाद रेग्मी, करदाता सेवा कार्यालय प्रमुख एवं प्रशिक्षक विजय भुषाल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

यसैगरी, सोही कार्यक्रममा प्रशिक्षार्थी सम्झना पुरी, सबिना रेग्मी, शुशिला रेग्मी, अस्मिता ढकालले तयारी कक्षाको अनुभवसहित आफ्ना उद्देश्यका बारेमा जानकारी गराएका थिए । तालिममा पुतलीबजार नगरपालिकासहित आँधीखोला, अर्जुनचौपारी, विरुवा, हरिनास गाउँपालिकाका गरी २५ जनाको सहभागिता थियो । विभिन्न सेवा र समूहलाई लक्षित गर्दै उपलब्ध सो तालिममा अनुभवी एवं विषयगत प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्