निगम र प्राधिकरणमा भागबन्डा

238
Shares

काठमाडौं।

सरकारले आयल निगम र दूरसंचार प्राधिकरणमा भागबन्डा गरेको छ । निगम कांग्रेसकाे भागमा र प्राधिकरणमा माओवादीले आफू समर्थकलाई नियुक्त गरेका हुन् ।
सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका भट्टलाई नियुक्त गरेको छ भने नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको हाे ।

मन्त्रिपरिषद्ले राष्ट्रिय प्रसारण (बाह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने, प्रोवेशन तथा प्यारोलसम्बन्धी नीति, २०८० स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको छ ।