पर्यावरण पुनः स्थापना सम्बन्धी कार्यशाला गोष्ठीमा युवाहरुको भूमिकामाथि प्रकाश

140
Shares

काठमाडौँ। 

लैण्ड आवर फ्युचर अर्थात् भूमि हाम्रो भविष्य नामक संस्थाको तत्वावधानमा पर्यावरणीय पुनः स्थापनामा युवाहरुलाई संलग्न गराई उनीहरुमा पर्यावरण संरक्षणका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले शनिवार कोटेश्वरस्थित स्किम्स् कलेजमा युथ इन्गेजमेण्ट इन इकोलोजिकल रेष्टोेरेशन विषयक एक कार्यशाला गोष्ठी सम्पन्न भयो । जी २० ग्लोबल इनिसियटिभ र स्किम्स कलेजको समेत संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा वातावरणविद्, पर्यावरण तथा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरू, जी २०, युएन सीसीडी का प्रतिनिधि, वातावरणसम्बन्धी अभियन्ता, पत्रकार तथा वुध्दिजीवीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा वक्ताहरुले वातावण विनास, जलवायु परिवर्तन तथा भूक्षयीकरण जस्ता आधुनिक विश्वका जल्दावल्दा विषयहरुमा प्रकाश पार्दै पर्यावरणीय पुनः स्थापना तथा वातावरण संरक्षणको निम्ति विश्वका युवाहरुवीच सहकार्य हुनुपर्ने र दीर्घकालीन पर्यावरणीय सुरक्षा तथा पुन स्थापनाको निम्ति सम्बन्धित सबै गम्भीरतापूर्वक लाग्नुपर्ने कुरा औँल्याएका छन् ।

सो अवसरमा विशेष अतिथिकोरुपमा बोल्दै मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधानले नयाँ विश्वको निर्माण गर्नु छ भने हामीले वातावरण संरक्षणका चुनौतिहरुप्रति सजग हुँदै पर्यावरणीय पुन स्थापनानिम्ति आफूलाई समर्पित गर्दै नयाँ प्रणालीको निर्माण गर्नमा अग्रसर हुनुपर्ने विचार व्यक्त गरिन्।

सो कार्यक्रममा पूर्व वातावरणमन्त्री सुनिल मानन्धर र स्किम्स कलेजका प्रिन्सिपल अजय माथेमाले वातावरण संरक्षण तथा पर्यावरणीय पुनस्थापनाका क्षेत्रमा युवावर्गको महत्वपूर्ण भूमिकामाथि प्रकाश पारे।  कार्यक्रममा लैण्ड आवर फ्युचरका सहसंयोजक शिक्षा खनालले इकोलोजिकल रेष्टोरेशन सम्बन्धमा एक कार्यपत्र पेस गरेका थिए ।

सोही  अवसरमा युएन सिसिडीका अनुसन्धानकर्ता देवश्री निरौलाले वातावरण संरक्षण तथा पर्यावरणीय पुन स्थापनाको क्षेत्रमा युवावर्गको महत्वपूर्ण भूमिका हुने कुरा औंल्याउंदै युएनसिसिडीले वातावरण संरक्षणका दिशामा गरिहेको योगदान माथि प्रकाश पारेका छन् ।