संगतको अन्तर्यमा मानव जीवन

5.55k
Shares

काठमाडौं ।

संगतको अन्तर्य ‘संगत गुणाको फल’ भन्ने चर्चित भनाइ हाम्रो दैनिकीमा प्रयोग भईरहेको वाक्य हो । राम्रो संगत गरे राम्रै हुृन्छ, नराम्रो संगतले नराम्रै। त्यसैले संगत राम्रैको गर्नु पर्छै है भनेर हाम्रा अग्रज, अभिभावक वा शुभचिन्तक र गुरुहरूले विभिन्न परिवेशमा सम्झाई बुझाई गरिरहेका हृुन्छन्। संगतको शाब्दिक अर्थ ‘साथ’ हो।

हाम्रो दिनचर्यामा हामी जोसँग नजिक हुन्छौं, साथ हुन्छौं, आफ्नो अमूल्य समय विताउँछौं त्यसैको संगतमा परेको मान्छौं । संगत कुनै चिज, वस्तु वा व्यक्तिसँग हुन सक्छ । संगत भन्ने कुराले हाम्रो जीवनमा निकै महत्वपूर्ण अर्थ राख्छ जसले हाम्रो वर्तमान र भविष्य डोर्‍याउँछ।

मौरीको संगतले फूल अनि झिंगाको संगतले फोहोरमा पुर्‍याउँछ। गँजडीको संगतले गाँजा खाने बनाउँछ भने जँड्याहाकोले जाँड खाने, चोरको संगतमा परियो भने चोरी गरिन्छ भने साधुकोले भलाइ, अर्थात् जो जस्तो संगतमा पर्‍यो त्यो त्यस्तै भएर निस्कन्छ भनिने विश्वास गरिन्छ । व्यक्ति, समूह, वरिपरिको वातावरण, परिवेश, साथी, परिवार, देश आदिले हामीलाई निकै प्रभाव पारिरहेको हुन्छ ।

हाम्रो आनीबानी, स्वभावले नै हाम्रो व्यक्तित्व अनि भविष्य झल्काउँछ। ‘सन्तप्तायसि संस्थितस्य देहिनाम्’ अर्थात् दन्किएको आगोमा रापिएको फलामलाई पानीको छिटाले छोयो भने त्यो पानीको छिटा नामोनिशान नरहने गरी सुक्छ। त्यही पानीको थोपा यदि, कमलको फूलमा प¥यो भने मोती टल्किएझैँ टल्कन्छ।

त्यही पानी यदि स्वाति नक्षत्र पारेर समुद्रको सिपीभित्र पस्यो भने मोतीदाना बन्दछ। त्यसै गरी संगतको फलले मानिसलाई नीच, मध्यम र उत्तम श्रेणीको बनाउँछ । एक शोधका अनुसार २१ दिनसम्मको हाम्रो नियमित दिनचर्याले हामीमा कुनै पनि बानीको विकास गराउँछ।

हाम्रो बानी जस्तो हुन्छ हामी पनि त्यस्तै हुन्छौं । हामी बिहान उठेदेखि राती नसुतेसम्म जे जे कुरा÷वस्तु चिज वा व्यक्तिहरूको साथमा हुन्छौं, त्यसैले हाम्रो दिनचर्या निर्धारण गर्दछ । अर्थात् संगतले दिनचर्या, दिनचर्याले बानीको विकास गर्ने हुनाले संगत र बानीको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । हामी बानी अनुसारकै व्यवहार अनि काम गर्छाैं । बिहान सबेरै उठ्ने, ध्यान, योगा, व्यायाम आदि गर्ने बानीले हाम्रो स्वस्थ्य राम्रो हुन्छ । पेसाअनुसार मन लगाएर कर्म गर्ने बानीले जीवनमा सफलता मिल्छ।

कोही पनि व्यक्तिले यो संसारमा जन्मँदै केही सिकेर वा केही लिएर आएको हुँदैन । पारिवारिक वातावरणले उसको सिकाइमा पूरै प्रभाव पारेको हुन्छ । जब बच्चा ३, ४ वर्षको हुन्छ अनि हामी नजिकैको स्कुल वा पाठशालाको संगतमा पठाउँछौं ।

उस्को संगत अब अन्य सहपाठी, शिक्षक, विद्यालयको वातावरण, पुस्तक आदिमा हुन थाल्छ । बच्चाको संगतले उसको दिनचर्या र अन्ततः बानीको विकास हुने हुनाले विद्यालयको समग्र वातावरणले उसको बानीमा निकै प्रभाव पार्न थाल्छ। हामीमध्ये कैयौं अभिभावकहरूले जुन/जस्तो विद्यालय पठाए पनि तेही कुरा पढ्ने त्यस्तै सिक्ने न हो भनेर तर्क गर्छाैं अनि बच्चाको भविष्यप्रति नजानिँदो किसिमले हेलचक्र्याइँ गर्ने गरिरहेका हुन्छौं ।

२१ औं शताब्दीको हाम्रो समाजमा जागरुक तथा शिक्षित अभिभावकहरूले आफ्ना बालबच्चाको राम्रो शिक्षाको लागि सकि नसकी राम्रो विद्यालयको चाहना राख्नु स्वभाविक नै हो। अशिक्षित, दैनिक ज्याला मजदुरी गर्ने, गिट्टी कुट्ने तर पनि जागरुक अभिभावकहरूले आफ्नो बच्चालाई आजभोलि राम्रो स्कुलमा पढाउने चाहना राख्छन् भने पनि विचार राम्रो हो। यसरी आफ्नो बच्चालाई राम्रो शैक्षिक वातावरणको संगत गराउनु भनेको उसको उज्ज्वल भविष्यप्रति बेलैमा चनाखो हुनु हो ।

बच्चाको विद्यालयको सहपाठी र गुणस्तरीय शिक्षा नै उसको उज्ज्वल भविष्यको जग वा आधार हो । राम्रो शिक्षाको लागि बैंकबाट ऋण नै लिएर होस् वा आफ्नो जायजेथा बेचेरै भए पनि बच्चामा लगानी गर्नु निकै बुद्धिमानी ठहर्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पुरानो कोट लगाउ, नयाँ किताब किन’ भन्ने भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक हुन्छ।

नयाँ कोट पनि लगाउने र नयाँ किताब पनि किन्न सके त झनै राम्रो ! त्यसो त, हिजोआज प्रायः सबै वित्तीय संस्थाहरूले शैक्षिक कर्जा सहजै प्रदान गरिरहेको पनि पाइन्छन्। गुणस्तरीय शिक्षा दिनानुदिन महँगो भइरहेको वर्तमान परिप्रेक्षमा यस्ता किसिमका सेवा सुविधाहरूले विद्यार्थीको उज्ज्वल भविष्यको लागि निकै राम्रो सहयोग पु¥याईरहेको हुनाले बेलैमा उपयोग गर्नु पनि बुद्धिमानी हुन्छ।

विकसित मुलुकहरूमा प्रायः सबैले उच्च शिक्षाको लागी शैक्षिक कर्जाकै भर पर्ने अनि विभिन्न पेसा व्यवसाय अंगाली विस्तारै तिर्दै जाने परिपाटीले उनीहरूलाई एक जिम्मेवार नागरिक बनाउनमा पनि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। आफ्ना छोरा–छोरीको शिक्षा राम्रो विद्यालयमा गराउँदा, उनीहरूको सहपाठीहरू पनि राम्रो पर्ने र भविष्यमा उनीहरू पनि राम्रै भएर निस्कन्छन् भन्ने विश्वास रहेको छ । तिनीहरू भ्विष्यमा राम्रो जागिर वा पेसा व्यवसाय गर्नेखालका हुन्छन्।

गुणस्तरीय शिक्षा तथा साथी सँगीहरूको कारणले पछि गएर उनीहरूका सर्कल वा नेटवर्क (सञ्जाल) पनि राम्रो, काम लाग्ने, बलियोखालको हुन सक्दछ । सहपाठीहरूका बीच एक किसिमको भावनात्मक सम्बन्ध हुने हुनाले भविष्यमा एक अर्काको साथ–सहयोग पनि मिल्न सक्छ ।

जीवन सफल हुनलाई काम नलाग्ने धेरैको साथभन्दा राम्रा गुणस्तरीय थोरै साथीहरूको साथ–संगतले राम्रोसँग पुग्न सक्छ। आफ्नो छोरा–छोरीको उज्ज्वल र सफल भविष्यका लागि जागरुक शिक्षित अभिभावकहरूले राम्रा विद्यालय र विश्वविद्यालयहरू चयनमा पर्नुमा पनि यिनै कारणहरू पनि हुन्।

खेलाडीको संगतले खेलाइ दिन्छ, अल्छीको संगतले सुताइ दिन्छ, राजनैतिक पार्टीको संगतले नेता, कार्यकर्ता बनाइ दिन्छ भने घर पालुवा जनावरको लामो संगत गर्दा उसको बानी, स्वभाव, हाउभाउ, अनुहारको भाव भङ्गी हाम्रोमा र हाम्रो उनीहरूकोमा समेत मिल्न जान्छ । परिवारमा भएको सदस्यहरू लामो समय एकै साथ बिताउँदा बानी व्यवहार छँदैछ, अनुहारसमेत मिल्न जान्छ ।

लामो समय सँगै बिताउँदा श्रीमान् श्रीमतीको अनुहार समेत मिलेर दाजु बहिनी वा दिदी भाइजस्ता देखिन थाल्छन्। यो संसारमा जो प्रभावशाली वा शत्तीशाली छन्, त्यसले आफ्नो संगतमा÷समीपमा आउने वस्तु, चिज, व्यक्ति आदिलाई आफूअनुकूल बनाउने, आफ्नो गुण विशेषता, स्वभावहरू सार्ने, आफूजस्तै बनाउने कोसिस जहिल्यै गर्ने गर्दछ । पानीको संगत नगरी पौडी खेल्न सिकिँदैन भने हिमालको संगत नगरी आरोही बनिँदैन भनेजस्तै, शिक्षाको संगत नगरी शिक्षित भइन्न अनि शिक्षित नागरिक नभई देश विकास गर्न सकिँदैन ।

महाभारतमा कर्म गर्नु, फलको आशा नगर्नु भने पनि कर्मअनुसारको फल प्राप्त हुन्छ नै । राम्रो संगतले राम्रै कर्म गरिन्छ अनि फल पनि स्वतः राम्रै हात पर्छ भने नराम्रो संगतले ठिक उल्टो हुने गर्छ ।

सकुनिको संगत र सल्लाहमा लागेर शक्तिशाली कौरब सेनाले कृष्ण भगवानको संगत र सल्लाह मान्ने पाण्डव सेनासँग नराम्ररी हार खान परेको कथा हामीले सुनेकै हो । राम्रोको संगत गर्दा आफूमा पनि त्यसको प्रभाव पर्ने, आफ्नो पनि त्यस्तै बानीको विकास भई राम्रै हुने हुनाले राम्राको संगत फाइदाजनक नै हुन्छ । तसर्थ, संगतलाई हामीले एकदमै गम्भीर रूपमा लिएर कसको संगत गर्ने गराउने भनेर सधैं मनन गर्नु अत्यन्तै जरुरी छ।

‘चेतः प्रसादयति पुंसाम्’ अर्थात् असल सङ्गतले बुद्धिको कसिङ्गर हटाउँछ, वाणीमा सत्यको सिञ्चन गर्छ, मान र उन्नतिको मार्ग प्रशस्त गर्छ, पापलाई टाढा भगाउँछ, मनलाई प्रसन्न गराउँछ, चारै दिशामा कीर्ति फैलाउँछ। अतः असल सङ्गतले मनुष्यलाई के दिँदैन र ? ‘कल्पद्रुमः कल्पितमेव सकलं प्रसूते’ अर्थात् कल्पवृक्षले कल्पना गरेको कुरा मात्रै दिन्छ, कामधेनुले इच्छित वस्तु मात्रै दिन्छ, जेको चिन्तन गरिन्छ, चिन्तामणिले पनि त्यही मात्रै दिन्छ तर असल सङ्गतले सबथोक दिन्छ ।

‘पश्य सत्सङ्गमाहात्म्यं मणीयते’ अर्थात् पारसलाई स्पर्श गराएपछि फलाम सुन बन्दछ जबकि सुन र काँचको मिश्रण भयो भने काँच पनि मणि बन्दछ। ‘शून्यमा पूर्णतामेति समागमात्’ अर्थात् विद्वानसँगको सङ्गतले शून्य पनि पूर्ण बन्दछ, मृत्यु पनि अमृत र आपत्ति पनि सम्पत्ति बन्दछ गम्भीरतापूर्वक सोच्नुपर्ने सङ्गत र वातावरणले पार्ने प्रभाव असाध्यै गहिरो र अपरिवर्तनीय हुन्छ।

प्रजातिजन्य संरचना तथा वंशाणुगत स्वभावलाई समेत जित्ने क्षमता साथीसङ्गत र वातावरणमा रहेको हुन्छ। त्यसैले सङ्गत गुणाको फल भन्ने शाश्वत कथनलाई हामीले जीवनमा गहन रूपमा लिनु पर्ने हुन्छ।