बेनी खानेपानीमा नयाँ समिति चयन



म्याग्दी ।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी चयन भएका छन् । आइतबार सम्पन्न संस्थाको २४औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरिएको हो ।

गिरी यसअघि संस्थाको उपाध्यक्ष थिए । अधिवेशनबाट संस्थाको निवर्तमान अध्यक्षमा माधवप्रसाद रेग्मी, उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सचिवमा केशवप्रसाद रेग्मी र कोषाध्यक्षमा टंकबहादुर हमाल चयन हुनुभएको संस्थाका प्रवन्धक यामबहादुर विकले जानकारी दिए । यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा सिर्जना श्रेष्ठ, मनोज पौडेल, राधिका सापकोटा, बलराम सुवेदी र गंगाकुमारी खत्री चयन भएका छन् ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले म्याग्दीमा दुईवटा बृहत खानेपानी आयोजनाको काम छिटै अघि बढ्ने बताए । उनले जिल्लाका दुईवटा बृहत खानेपानी आयोजना चिमखोला–भगवती–पिप्ले र घोप्टेखोला खानेपानी आयोजनाको कामलाई तत्काल अगाडि बढाउन फाइल खानेपानी मन्त्रालयबाट अर्थ मन्त्रालयमा पु¥याइएको बताए ।

 

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बजारमा खानेपानी आपूर्तिको व्यवस्थापन गरेर स्थानीय सरकारलाई सहयोग गरिरहेको बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय म्याग्दीका प्रमुख सुनम थापाले निर्माणाधीन खानेपानी आयोजनाको करिब ८५ प्रतिशत काम सम्पन्न भएकाले आयोजना निर्माण सकिएपछि नेपाल राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको पानी वितरण हुने जानकारी दिए ।

यसैगरी संस्थाले कार्यक्रमको अवसरमा उत्कृष्ट कर्मचारी, उपभोक्ता, योगदान पु¥याउने कम्पनी, संस्था र कार्यालयहरुलाई सम्मान गरेको जनाएको छ । संस्थाको कार्यालयमा कार्यरत कर्मचारी भीमबहादुर किसानलाई नगद पाँचहजार रुपैयाँ, उत्कृष्ट उपभोक्तातर्फ शिक्षा विकास तथा समन्वय इकाई, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी, जय धनन्वय मंगलादेवी सुवास जेभी, कालीगण्डकी करिडोर आयोजना र बराहपाखो सामुदायिक वन उपभोक्ता समितिलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका निवर्तमान सचिव राजेन्द्रकुमार श्रेष्ठले वार्षिक प्रगति र कोषाध्यक्ष टंकबहादुर हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्