नीलकण्ठ नगरपालिकाको नीति कार्यक्रम :  पुँजीगत खर्च २१ दशमलव ५५ प्रतिशत, ५ विषयमा शून्य उपलब्धि

70
Shares

धादिङ ।

नीलकण्ठ नगरपालिकाको चालु आर्थिक वर्षको ६ महिनामा २१ दशमलव ५५ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको चौथो अधिवेशनको अवसरमा उपप्रमुख दीपक विश्वकर्माले यस्तो जानकारी दिएका हुन्।

चालु आव २०८०\८१ को ६ महिनामा दोस्रो नगर सभाको तेस्रो अधिवेशनबाट विनियोजित बजेट पुँजीगततर्फ ३६ करोड ४० लाख ३ सय मध्ये ७ करोड ८४ लाख ६३ हजार ९३ रुपैयाँ खर्च हुँदा २१ दशमलव ५५ प्रतिशत खर्च भएको हो।

चालुतर्फ ८३ करोड १०लाख ६१ हजार १ सय ७७ मध्ये ३० करोड ९४ लाख ४७ हजार ४ सय ८१ खर्च हुँदा ३२ दशमलव ४५ प्रतिशत खर्च भएको विश्वकर्माले सभालाई जानकारी गराए। आन्तरिक राजश्व ६ करोड रुपैयाँ हुने अनुमान गरिएकोमा हालसम्म १ करोड ५२ लाख मात्र सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षका लागि १७ लाख विनियोजन गरिएको वातावरण तथा जलवायु सम्बन्धी कार्यक्रमको उपलब्धि शून्य देखिएको छ।

सञ्चार तथा सूचना प्रविधि अन्तरगत ६० लाख विनियोजन गरिएकोमा कुनै कार्यक्रम नभई खर्च शून्य देखिएको छ भने सम्पदा पूर्वाधारमा १ लाख ५० हजार विनियोजन गरिएकोमा हालसम्म कुनै कार्यक्रम नभएको देखिएको छ ।

१७ हजार ६ सय ५० विनियोजन गरिएको वाणिज्य र १५ लाख विनियोजन गरिएको कानुन तथा न्यायमा शून्य उपलब्धि भएको छ।

१ करोड ७१ लाख ५० हजार विनियोजन गरिएको प्रशासकीय सुशासनमा ८ दशमलव २७ प्रतिशत, ६९ लाख ५० हजार विनियोजन गरिएको जलश्रोत तथा सिँचाइमा ३ दशमलव ९४ प्रतिशत र १ करोड ११ लाख १० हजार ९ सय ७८ विनियोजन गरिएको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा ८ दशमलव १४ प्रतिशत वित्तीय प्रगति भएको अवस्था नीलकण्ठ नगरपालिकाको रहेको छ।

यसअघि नीलकण्ठ नगरपालिका प्रमुख भीम प्रसाद ढुङ्गानाले ३० बुँदे नीति तथा कार्यक्रमको समीक्षा प्रतिवेदन पेस गरे।

सबै वडामा मेयर उद्यमशीलता कार्यक्रम, एक वडा एक उत्पादन, सबै वडासम्म कालोपत्रे सडक, महिलाका लागि महिला जनप्रतिनिधि, सवारी चालक, सरसफाइ क्षेत्रमा काम गर्ने मजदुर, नगर प्रहरीको निःशुल्क स्वास्थ्य बिमा, पत्रकार क्षमता वृद्धि तालिम, खेलमैत्री नगरपालिका, सबै शैक्षिक संस्थाको शैक्षिक अडिट, सुत्केरी भैँसीलाई स्याहार भत्ताको निरन्तरता, चालु वर्षलाई कर सहभागिता वर्षको रूपमा लागु गर्ने, पूर्व स्वीकृति लिएर मात्र घडेरी प्लटीको व्यवस्थापन गर्नुपर्ने, बाँदर पीडित किसानलाई सहयोग सम्बन्धी नीति तथा कार्यक्रम नगरप्रमुख ढुङ्गानाले प्रस्तुत गरे।

यसै गरी नेपालमै दुई नगरपालिकामा कार्यान्वयन भएको अमेरिकी सरकारको जिटुजि कार्यक्रम अन्तर्गत नगरपालिकामा जलवायु मैत्री कृषि उद्यमशीलता परियोजना समेत नगर सभामा पेस गरी सर्वसम्मतिले पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषेत सुवेदीले नेपाल समाचारपत्रलाई बताए।

नीति कार्यक्रम, बजेट, बालबालिका संस्था दर्ता ऐन पारित  गरिएको छ भने शिक्षा ऐनको संशोधन विधेयक पारित गरिएको सुवेदीको भनाइ छ।