शालिग्राम शिलाबाट भगवान् शिवको मूर्ति बनाइने



रौतहट ।

 शालिग्राम शिलाबाट रौतहटमा भगवान् शिवको मूर्ति बनाइने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र कालीगण्डकी नदी किनारबाट ल्याइएको शिलाबाट गढीमाई नगरपालिका–७ धर्मपुरमा शिव भगवानको मूर्ति बनाउन लागिएको छ । बिहीबार आइपुगेको शिलालाई गढीमाई नगरपालिका वडा नम्बर ४ मा सुरक्षित साथ राखिएको छ ।

 पर्वतको जलजला गाउँपालिकालाई  रौतहटको गढीमाई नगरपालिकाले यही  माघ २१ गते भगवान् शिवको मूर्ति बनाउन शिला पठाई सहयोग गर्न पत्राचार गरेपछि बिहीबार शिला आइपुगेको हो । म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल नजिक पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनी स्थित कालिगण्डकीमा भेटिएको ८ देखि १० टन तौल भएको शिलाको पहिचान गरी ल्याइएको हो ।

 हिन्दुहरुको धार्मिक स्थल गरिबनाथ शिव मन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मूर्ति बनाउन पर्वतको बेनी स्थीत जुगेधारा भएर बग्ने कालिगण्डकी नदी किनारमा भेटिएको शिलाको पूजाआजा गरी रौतहट ल्याइएको हो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालिगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मर्तिले धार्मिक आस्था जगाउने गडिमाई नगरपालिकाका प्रमुख श्याम यादवले बताए ।

यसबाट धार्मिक पर्यटनको प्रवर्धन हुने र कालिगण्डकी नदीको थप प्रचारप्रसार समेत हुने जनाइएको छ । यस अगाडी म्याग्दीको गलेश्वर क्षेत्रबाट १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका क्वाजराईट र क्याल साइट नाम गरेको शिलालाई भारतको हिन्दुहरूको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा पुर्‍याएको थियो । कालिगण्डकी नदीमा कालो र सेतो शिला प्रशस्तै पाइन्छ

प्रतिक्रिया दिनुहोस्