‘महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिएका छौं’



सुशील खनाल प्रचार प्रसार संयोजक, वालिङ महोत्सव २०८०

वालिङ उद्योग वाणिज्य संघको आयोजनामा आठौं वालिङ महोत्सव तथा व्यापार मेला जारी छ। व्यापार तथा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजित महोत्सवका विविध विषयमा केन्द्रित रहेर वालिङ उद्योग वाणिज्य संघका सचिवसमेत रहनुभएका वालिङ महोत्सव २०८० प्रचार प्रसार संयोजक सुशील खनालसँग नेपाल समाचारपत्रका स्याङ्जा संवाददाता अमृत अर्यालले गर्नुभएको कुराकानी :

यसअघिका महोत्सवभन्दा अहिले नयाँ के छ ?

विगतमा जस्तै वालिङ महोत्सवले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ अन्तर्गत स्थानीय उत्पादन महोत्सवमा विशेष प्रदर्शनका रूपमा राखिएका छन् । नयाँ आकर्षणकामा हरेक पालिकाको स्थानीय उत्पादनको स्टल रहेका छन्, कृषिलाई लक्षित गरी छुटमा ३० वटा कृषिमैत्री स्टल र पर्यटन टुर प्याकेज रहेका छन् ।

कुन क्षेत्रमा बढी केन्द्रित हुनुहुन्छ ?

हामी कृषि क्षेत्रमै बढी केन्द्रित छौँ । वालिङको समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्दै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पुर्‍याउने महोत्सवको उद्देश्य राखेर कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासमा हाम्रो ध्यान केन्द्रित छ।

कृषि क्षेत्रलाई प्राथमिकता दिनुको कारण के हो ?

स्याङ्जा जिल्ला कृषिको सम्भावना भएको जिल्ला हो । नयाँ उन्नत जातको खोजी गरी आधुनिक र वैज्ञानिक विधिले खेती गर्न किसानलाई अब पनि सघाइएन भने स्याङ्जाको कृषिमा अहिले देखिएको सम्भावना सेलाएर जानेछ । त्यसैले, कृषिप्रति धेरै उत्साही युवालाई कृषि क्षेत्रमा अझ आकर्षित गर्न सकिने उद्देश्यले महोत्सवले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको हो । जिल्लालाई सुन्तला र अदुवाको हबको रूपमा विकास गर्न सकिने संभावना छ ।

महोत्सव आयोजनाको उद्देश्य के हो ?

पर्यटन प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई वालिङ भित्राउनुका साथै महोत्सवमार्फत व्यवसायलाई प्रवद्र्धन तथा प्रचार–प्रसार गर्ने हाम्रो लक्ष्य हो । पर्यटन तथा व्यवसाय प्रवद्र्धनका लागि हामीले महोत्सव आयोजना गरेका हौं ।

यस संस्करणबाट आयोजकको समग्र अपेक्षा के छ ?

महोत्सवमा कृषि लगायतका अन्य क्षेत्रलाई चासो देखाइएपछि यस क्षेत्रमा यहाँका किसान थप उत्साहित हुनुभएको छ । यसमा लगानी बढ्ने अपेक्षासमेत हाम्रो छ । वित्तीय क्षेत्रले पनि किसानहरूलाई कृषिमा लगानी गर्न प्रोत्साहित गर्नेछन् ।

महोत्सवबाट आयोजकको आम्दानी र खर्चको के लक्ष्य छ ?

महोत्सवमा करिब साढे २ लाख व्यक्ति सहभागी हुनेछन् । महोत्सव अवधिभर ८ करोड रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवको आम्दानीतर्फ अनुमानित बजेट १ करोड ५० लाख रुपियाँ रहेको छ । महोत्सवको खर्च ९० लाख रुपियाँ अनुमान गरिएको छ ।

महोत्सव सञ्चालनमा कतैबाट सहयोग पाउनुभएको छ ?

वालिङ नगरपालिकाले आयोजनाका बजेट दिने भएको छ । यसबाट हामीलाई हौसला बढेको छ । प्रायोजन गरेर व्यवसायिक प्रतिष्ठानहरूले उत्साह भरिदिएका छन् । मुख्य प्रायोजकका रूपमा गरिमा विकास बैंक रहेको छ।

वालिङ उद्योग वाणिज्य संघको हाम्रो टिम पूरै खटिएको छ। स्थानीयवासीमा ठूलो उत्साह जागृत भएको पाएका छौं। हाम्रो नगरमा प्रदेश स्तरको महोत्सव आयोजना हुनु गौरवको कुरा हो भनेर सबैले बुझिदिनुभएको छ। सामाजिक सञ्जालमा र स्टल भएको ठाउँसम्म आएरसमेत हामीलाई सुझाव दिइरहनुभएको छ। नगरका प्रमुख लगायतका जनप्रतिनिधिहरूले महोत्सवको अवलोकन गरिदिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्