अल्का साँघुमा पक्की माेटरेबल पुलकाे निर्माण कार्य सुरु



मुगु।

मुगुको उत्तरी सीमा तिब्बत जोड्ने गमगढी – नाक्चे लाग्ना सडक खण्ड अन्तर्गत गमगाढ खोला अल्का साँघुमा पक्की माेटरेबल पुलकाे निर्माण कार्य सुरु गरिएको छ । नेपाल सरकार सडक विभाग अन्तर्गत पुल महाँशाखाकाे आर्थिक र सडक डिभिजन कार्यालय जुम्लाको प्राविधिक सहयोगमा उक्त पुल निर्माण कार्य सुरु गरिएको हो ।

हिम सगरमाथा निर्माण कम्पनीले कर्णाली राजमार्ग अन्तर्गत जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिका खेतु देखि मुगुको छाईल बगर सम्म १० वटा माेटरेबल पुलहरू मध्ये ९ वटा पुलहरू निर्माण गर्ने कार्य सुरु भइसकेको छ ।

छाइल बगरकाे माेटरेबल पुल निर्माणका लागि भरपर्दो सडक नभएर स्काईबेटर लगायतका सामाग्री निर्माण स्थलमा पुर्‍याउन समस्या भएकाले केही समय पछि निर्माण सुरु गरिने सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटीले बताए ।६ महिनामा पुलहरूको डिजाइन र ३६ महिना स्टक्चर गरी जम्मा ४२ महिना भित्रको समयमा १० वटा पुलहरू सम्पन्न गर्ने सम्झौता भए अनुसार निर्माणको काम अघि बढेको जिटीले बताए ।

सम्झौता अनुसार छाईल बाहेक अन्य स्थानका पुलहरूको निर्माणको काम सुरु भैसकेकाे भएपनि छाईलकाे पुल भने केही समय ढिलो भएपनि निर्धारित समयमा नै सम्पन्न गरिने इन्जिनियर जिटीकाे भनाई छ ।

आर्थिक वर्ष २०७७/ ०७८मा टेन्डर खाेली ४२ महिना भित्र कर्णाली राजमार्ग अन्तर्गत कालिकोट, जुम्ला र मुगुका विभिन्न स्थानका दश वटा पुल सम्पन्न गर्ने सम्झौता अनुसार क्रमिक रूपमा कालिकोट, जुम्ला हुँदै मुगुको झ्यारी, खोला सम्मका पुलहरू यस अघि नै निर्माणको काम सुरु भैसकेका छन भने गमगाढ खोलाको पुल भने हालै मात्र निर्माण सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्