न्युरोड क्षेत्रमा निःशुल्क व्यवस्थित र सीमित पार्किङ हुनुपर्छ:  वडा अध्यक्ष महर्जन

13.8k
Shares

काठमाडौं ।

 काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले एकलौटी ढङ्गले पार्किङ हटाएको विरोधमा कामपा २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले आपत्ति जनाएका छन्  । धार्मिक,सांस्कृतिक,आर्थिक राजनीतिक तथा ऐतिहासिक दृष्टिकोणबाट राष्ट्रिय रुपमा अत्यन्तै महत्त्वपूर्ण स्थानको समग्र जीवनको संवेदनशीलता र सन्तुलनलाई  पुरै वेवास्ता गरी सो क्षेत्रको विभिन्न आयामहरुमा नकरात्मक असर पर्ने गरी निर्णय आपत्तिजनक रहेको वडा अध्यक्ष महर्जनको भनाई छ ।

 स्थानीय वडा प्रतिनिधिहरूलाई जानकारी नै नदिई मेयर साहले एकलौटी रुपमा गरेको निर्णय कुनै पनि हालतमा मान्य नहुने अध्यक्ष महर्जनको भनाई छ । पार्किङ हटाउने निर्णय गर्दा मेयर साहले बोर्डमा छलफल समेत नगरेको  वडा अध्यक्ष महर्जनले बताए ।

 नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेको विषयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष महर्जनले मेयर साहले गरेका निर्णयको समर्थन गर्दागर्दै आज बाध्यता बस आफ्नै संस्थाको विरुद्धमा यस प्रकारको कार्यक्रम गर्नु आफैलाई नराम्रो लागेको बताए । उनले भने–उहाँले न्युरोडको इतिहास बिर्सनुभयो । यहाँका  करिब १२ हजार व्यापारिक फर्म अपहेलना गर्नुभयो ,त्यसैले उहाँको शैलीको विरुद्धमा हामी यस वडाका सबै राजनीतिक दल १३ स्थानीय संघ संस्थाहरु र ८ वटा व्यापार ब्यावसाय गर्ने संस्था आन्दोलनमा उत्रिएका हौँ ।

   यस  क्षेत्रमा शसुल्क पार्किङ गर्ने दिनुहुन्न । तर व्यापार व्यवसायलाई चलायमान गराउन निःशुल्क , व्यवस्थित र उपयुक्त  स्थानमा मात्र पार्किङ गर्न पाउनुपर्छ –पत्रकार सम्मेलनमा अध्यक्ष महर्जनले भने ।

   पत्रकार सम्मेलनमा करिब तीनदर्जन संघसंस्था,राजनीतिक दल र व्यावसाय गर्ने संस्थाको उपस्थिति रहेको थियो । टेवाहाल स्थित २२ नम्बर वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष महर्जनले आफूले  उठान गरेका विषयलाई भित्रि  शहरका वडाअध्यक्षहरुले समेत समर्थन गरेको बताए । उनले भने–भित्री सबै वडा अध्यक्षले हाम्रो वेदना बुझ्नुभएको छ , सँगसँगै  भद्र अवज्ञामा सहभागी हुन्छु भन्नुभएको छ ।

 न्युरोड क्षेत्रमा वडा २२, २०, २७, २८ , १९, २० २५, २७ लगायतका वडा पर्दछन् । आफूले सो विषयमा कार्यपालिकाको बैठकमा आवाज उठाउने उनले बताए । उनले व्यवस्थित र निःशुल्क पार्किङ व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मेवारी दिनुपर्ने, धर्मपथमा रहेको कामपाको पुरानो कार्यालयमा निर्माणाधीन सांस्कृतिक भवनमा आवश्यक लिफ्ट जडान गरी पार्किङ भवनको रुपमा रुपान्तरण गर्नुपर्ने, कामपाद्धारा विभिन्न  स्थानमा आधुनिक पार्किङ पुर्वाधार निर्माण गर्दैजाने र यस्ता पुर्वाधार तयार हुदैजादा सोही अनुसार क्रमशः सार्वजनिक स्थानको पार्किङ हटाउँदै जाने लगायतका माग राखेका छन् ।

 वडा अध्यक्ष महर्जनले धरहरामा जबरजस्ती पार्किङ गरेकोमा आपत्ति जनाए । निर्माणको क्रममा रहेको धरहरामा पार्किङ गर्दा सम्बन्धित मन्त्रालयसँग छलफल र सहमति गर्नुपर्ने अवस्थामा एकलौटी ढङ्गले गर्नु गलत भएको बताए। उनले भने– धरहराको पार्किङ क्षेत्रमा दसैँ, तिहार र छठ लगायत चाडपर्वमा मन्त्रालयको सहमतिमा ३ महिना पार्किङ गर्न सफल भयौ ,अहिले कामपाले मनपरी ढङ्गले पार्किङ गरिरहेकोमा सरकारबाटै विरोध हुनु नराम्रो विषय हो ।’