तामाङ समुदायद्वारा संस्कृति संरक्षणका लागि रोटे पिङ निर्माण



लमजुङ  । 

लमजुङको बेसीशहर नगरपालिका वडा नं. ४ पुरानकोट स्थित बुद्ध मिलन समाजले २८ पिर्के रोटे पिङ निर्माण गरिएको छ । उक्त समाजले तामाङ समुदायको महान पर्व २८६० औँ सोनाम ल्होसारको अवसरमा पुरानकोट फोस्रेमा २८ पिर्के रोटे पिङ निर्माण गरेको हो ।

परम्परागत रोटेपिङले गाउँघरमा रौनक हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षणमा पनि टेवा पुग्ने बेसीशहर नगरपालिका प्रमुख गुमन सिंह अर्यालले बताए । पछिल्लो समय अधिकांश युवाहरू विदेसिनुपर्ने बाध्यताले परम्परागत संस्कृति संरक्षण एवं पुस्तान्तरणमा समेत असर गरेको भन्दै उनले संस्कृति संरक्षणका लागि युवापुस्ताले विशेष चासो दिनुपर्ने उनको भनाई छ ।

उक्त पिङ कुल ४ लाख ७५ हजार लागतमा निर्माण गरिएको स्थानीय बुद्ध मिलन समाजले जनाएको छ । पिङ  निर्माणका लागी बेसी शहर नगरपालिकाले १ लाख ५० हजार, बेसीशहर ४ वडा कार्यालयले २० हजार रुपैयाँ सहयोग गरेको छ ।

सो बाहेक अन्य रकम स्थानीय समुदाय, फोस्रे घर भई हाल स्वदेश तथा विदेशमा रहने स्थानीय, विभिन्न स्थानका तामाङ समुदायका संघ संस्था तथा व्यक्तिहरूबाट प्राप्त सहयोगबाट पिङ निर्माण गरिएको कार्यक्रम संयोजक राजकुमार तामाङले बताए । संभवत  नेपालमै पहिलो पटक पुरानकोटको फोस्रेमा २८ पिर्के पिङ निर्माण गरिएको उनको दाबी छ ।

पिङको माध्यमबाट मौलिक संस्कृति संरक्षण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, पुरानकोटको पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानकोट भित्राउने लक्ष्य राखिएको आयोजक बुद्ध मिलन समाज फोस्रेका अध्यक्ष देवमाया तामाङले बताए ।कार्यक्रममा लोक सम्राट बहुचर्चित लोक दोहोरी गायक राजु परियार, गायिका मिना लामा को बेजोड प्रस्तुति रहेको थियो । तामाङ समुदायका बाक्लो बस्ती रहेको पुरानकोटमा सोनाम ल्होसारमा रौनक ल्याउन तथा संस्कृति संरक्षण र गाउँको पर्यटन प्रवर्द्धनका लागि आकर्षक पिङ निर्माण गरेको स्थानीयले बताएका छन् ।

चाडपर्वको बेला प्राय गाउँहरुमा चारपिर्के रोटे पिङ राख्ने चलन छ पछिल्लो समय लमजुङकै मध्य नेपालमा २४ पिर्के पिङ निर्माण गरिएको थियो भने २८ पिर्के पिङ विरलै देख्न सुन्न पाइन्छ । पिङको औपचारिक उद्घाटन कार्यक्रमका अतिथि तथा स्थानीयले पिङको मज्जा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्