पटकपटक ‘कू’ भएको कांग्रेस महासमिति बैठक अब नसर्ने

168
Shares

काठमाडौं ।

संसदको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको पटकपटक ‘कू’मा पर्दै आएको महासमिति बैठक अब भने नसर्ने लगभग पक्का भएको छ।

आगामी फागुन ७–१० मा हुने महासमिति बैठकका लागि कांग्रेसले विभिन्न उपसमिति समेत बनाएर तीव्र तयारीमा जुटेसँगै फेरि बैठक सर्ने आशंका हटेको हो।

यसअघि पार्टी केन्द्रीय समितिले गरेको बैठकको निर्णय सभापतिकै आग्रहमा तीन पटक ‘कू’ भइसकेको छ। यसपटक भने उक्त कार्य नदोहोरिने दाबी गर्दै कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अब महासमिति बैंठक सार्न खोजे पनि सम्भावना देखिएको छैन । बैठक तयारीका लागि विभिन्न उपसमितिहरू समेत बनिसकेकाले शंका गर्ने ठाउँ छैन।’

गत साउन २ देखि ८ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले कात्तिक अन्तिममा महासमिति भेला गरिसक्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई भदौ ६ मा भएको केन्द्रीय समिति बैठकबाट मंसिर १३ देखि १५ को मिति नै तोकेर अनुमोदन गरेको थियो।

त्यसका लागि कात्तिक २५ भित्र १ सय ६५ वटै निर्वाचन क्षेत्रलाई महासमिति सदस्यहरूको अधिवेशन गरी नामावली पठाइसक्न निर्देशनसमेत दिइएको थियो।

गत कात्तिक १७ मा जाजरकोटमा गएको विनासकारी भूकम्पको कारण देखाउँदै केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो भेला पुनः मंसिर २९ देखि पुस २ सम्म हुनेगरी सारेको थियो।

राष्ट्रिय सभा संसदीय दलका नेतासमेत रहेका उमेशजंग रायमाझीले पनि पार्टी सभापति शेरबहादुर देउवाले पटकपटक निर्णय गर्दै सार्दै आएको महासमिती बैठक अब नसर्ने बताउनुभयो।

पार्टी र सत्ता गठबन्धनमा विभिन्न राजनीतिक उतार चढाव, उपनिर्वाचन, राष्ट्रिय सभाको निर्वाचनलगायतले पटक पटक महासमिति बैठक सरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘फागुन ७ देखि १० गतेको बैठकका लागि तयारी निकै अघि बढी सकेको छ। व्यवस्थापनदेखि नीतिगत विषयमा समेत छलफल भएर प्रतिवेदन तयार हुने चरण छ। केन्द्रीय समितिको बैठक बस्दै छ। तयारी उपसमितिहरू बनिसकेको अवस्थामा अब बैंठक सर्दैन।’

यद्यपि, महासमितिमा भाग लिने सदस्यहरूको पूर्ण विवरण अझै आइनपुगेको निर्वाचन समितीले जननाएको छ। अझै करिव दुई दर्जन निर्वाचन क्षेत्रबाट महासमिति सदस्यको नामावली आइ नपुगेको जानकारी दिँदै केन्द्रीय निर्वाचन समितिका संयोजक खम्बबहादुर खातिले भन्नुभयो– ‘हामीकहाँ अझै करिब २ दर्जन क्षेत्रको तथ्यांक आउन बाँकी नै छ । यो महिनाभित्र सबै क्षेत्रको आइपुग्ने छ। नामावली आउन बाँकी रहेकाहरूले महासमितिमा भाग लिन पाउँदैनन्।’

करिब २५ सय प्रतिनिधि रहने अनुमान गरिएको महासमिति बैठकका लागि भोजपुर, सुनसरी–१, महोत्तरी, बारा, पर्सा, सप्तरी–१, सिन्धुली–२, धादिङ, काठमाडौं– ५ र ६, दोलखा, रामेछाप, पर्वत, कपिलवस्तु, दाङ–३, कञ्चनपुर–१ लगायत क्षेत्रको प्रतिनिधि चयन हुन बाँकी रहेको निर्वाचन समितिको तथ्यांकमा उल्लेख छ।

१ सय ६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ।

कांग्रेस केन्द्रीय समिति १ सय ६८ सदस्यीय छ । कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन्। क्रियाशील सदस्यताका आधारमा एकदेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुनेछन् । जनसम्पर्क समितिबाट करिब एक सय जना महासमिति सदस्य आउने छन्।

यस्तै भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन्।

भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि करिब सय जनाले महासमितिमा भाग लिने छन्। सभापतिलाई बढीमा १५ जना महासमिति सदस्य मनोनीत गर्ने अधिकार छ।

२९ जना जिल्ला सभापति, केही सांसद पर्यवेक्षकका रूपमा महासमिति बैठकमा सहभागी हुनेछन् ।