पूर्वमन्त्री तथा कांग्रेस केन्दीय सदस्य बुढाथोकीको निधन

252
Shares

झापा ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ। कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गत राति ११:३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो।

अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकीका दुई छोरा र एक छोरी रहेका छन्। तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएको थिए।

यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए। उनी विसं २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने विस २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए।

नेपाली कांग्रेसको सरकार गठन हुँदा उनी सामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए। विगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

पार्टीभित्र आफ्ना विचार निडर भएर राख्ने र झापाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको पार्टीका जिल्ला सचिव हुमागाईँले बताए।

उनको पार्थिव शरीर आज झापा ल्याइने र शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।