पाकिस्तानी दूतावासले मनायो कश्मीर ऐक्यबद्धता दिवस 

84
Shares

 काठमाडौँ। 

काठमाडौंस्थित पाकिस्तानी दूतावासले सोमबार कश्मीर ऐक्यबद्धता दिवस मनाएको छ । दूतावास परिसरभित्र आयोजना गरिएको कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पारित गरेको जम्मु र कश्मीरका जनतालाई आत्मनिर्णयको अधिकारसम्बन्धी प्रस्तावनाको कार्यान्वयन गर्दै जम्मु र कश्मीरका जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकारका लागि अन्तर्राष्ट्रिय समुदायले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिए ।

उनले राष्ट्रसंघको सुरक्षा परिषद्ले जम्मु र कश्मिरी जनताको आत्मनिर्णयको अधिकारमाथि कुनै पनि संस्था, संघसंगठन वा राष्ट्रको हस्तक्षेप मान्य नहुने प्रस्ताव पारित गरिसकेकोले भारतको सर्वोच्च अदालतको निर्णय र भारतको कानुनले विवादित क्षेत्रको रुपमा स्थापित जम्मु र कश्मिरको अवस्थामा कुनै असर नपर्ने टिप्पणी गरे । उनले सन् २०१९ को अगस्ट ५ मा भारतले संविधानमा भएको धारा ३७० निष्क्रिय पादै जम्मु–काश्मीरलाई दिएको विशेष अधिकार एकतर्फी ढंगले खोसेको आरोप लगाउँदै काश्मीरी जनताको आत्म निर्णयको अधिकारका लागि पाकिस्तानले सबै खालको सहयोग जारी राख्ने बताएका छन्  । राजदूत हाश्मीले जम्मु र कश्मिरको विवादको वार्ताद्वारा शान्तिपूर्ण समाधानका लागि अन्तर्राष्ट्रिय जगतको भूमिका महत्त्वपूर्ण हुने धारणा पनि व्यक्त गरे ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा राष्ट्रपति डा. अल्वीले विगत ७६ वर्षदेखि आत्मनिर्णयको अधिकारका लागि न्यायसंगत संघर्ष गरिरहेका कश्मीरीहरु आफ्नै भूमिमा एक अशक्त समुदायको रुपमा परिणत भएको उल्लेख गर्दै जम्मु र कश्मिर विवादको न्यायसंगत समाधान खोज्नु पाकिस्तानको विदेश नीतिको प्रमुख स्तम्भको रुपमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्  । उनले राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा उल्लेखित आत्मनिर्णयको अधिकार प्राप्त नभएसम्म पाकिस्तानले कश्मीरी जनतालाई निरन्तर नैतिक, कूटनीतिक र राजनीतिक समर्थन जारी राख्ने पनि बताएका छन् ।

त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक कक्कडले पनि कश्मीरी जनताको न्यायसंगत संघर्षलाई पाकिस्तानको अटल समर्थन रहने प्रतिबद्धता दोहर्याएका छन्   । उनले सन्देशमा भारतले संयुक्त संयुक्त राष्ट्र, अन्तर्राष्ट्रिय मानवअधिकार संगठन, ओआईसी पर्यवेक्षक र अन्तर्राष्ट्रिय मिडियालाई त्यहाँको अवस्थाबारे बस्तुगत जानकारीको लागि जम्मु र कश्मिरभित्र पहुँच दिनुपर्ने माग समेत गरे ।