रुफटप सोलारलाई नेट मिटरिङमा जोड्न सुझाव

14
Shares

काठमाडौं ।

घर तथा अफिसको छतमा जडान गरिएका तथा अब जडान हुने सौर्य ऊर्जा प्रविधिबाट व्यावसायिक उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्न सकिने भन्दै त्यसतर्फ अग्रसर हुनुपर्नेमा सरोकारवालाहरूको जोड छ ।

सोमबार सौर्य विद्युत् उत्पादक संघ नेपालद्वारा आयोजित ‘सोलार रुफटप नेट मिटरिङ सिस्टम इन नेपाल’ विषयक छलफलमा सरोकारवालाहरूले आफ्नो खपतबाट बढी भएको विद्युतीय ऊर्जालाई नेट मिटरिङको माध्यमबाट बिक्री गर्न सकिने बताएका हुन् ।

छलफलमा रुपटप सोलारबाट उत्पादित विद्युत् खरिद गर्न नेपाल विद्युत प्राधिकरण तयार भई खरिददर समेत तोकिसकेकोे सन्दर्भमा प्राविधिक एवम् वित्तीयरूपमा यसको अध्ययन गरी लगानी गर्न सौर्य ऊर्जा उद्यमीहरूलाई आग्रह गरिएको थियो ।

नेपालमा उत्पादित विद्युतीय ऊर्जाको बजार बिस्तार भइरहेको अवस्थामा ऊर्जा मिश्रणका निम्ति सौर्य ऊर्जाबाट व्यावसायिक उत्पादन गरी बिक्री गर्न पर्याप्त लगानीको स्रोतसमेत रहेकाले त्यसतर्फ अगाडि बढ्न आग्रह गरिएको थियो ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा अनुदान नीति, स्टेनेवल इनर्जी च्यालेन्ज फन्ड, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमलगायत मार्फत् लगानी सहयोग लिएर सौर्य ऊर्जा नेटमिटरिङमा जानुपर्ने बताए।

उनले ब्याजदरमा अनुदान तथा लोन लस ग्यारेन्टीजस्ता प्रावधान रहेकाले सौर्य ऊर्जा उद्यमीहरू व्यावसायिक उत्पादनतर्फ अगाडि बढ्न आग्रह गरे । विद्युतीय ऊर्जाको पहुँच विस्तार हुँदै गएपछि सरकार र विकास साझेदारहरूबाट अनुदानको व्यवस्था हटाउनतर्फ पहल भइरहेको जानकारी दिँदै उनले लामो अनुभव र व्यावसायिक दक्षताका आधार पनि सौर्य विद्युत् उत्पादकहरूले ठूला परियोजनामा सहभागी हुन सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सौर्य विद्युत उत्पादक संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले सरकारी कार्यालयको छतमा सौर्य ऊर्जा जडान गर्ने व्यवस्था भए नेटमिटरिङको अवधारणालाई जनतासम्म पु¥याउन सकिने बताए । उनले सौर्य ऊर्जालाई राष्ट्रिय प्रसारणमा जोड्ने, नेट मिटरिङलगायतका विषयलाई आगामी दिनमा अझ व्यापक बनाउँदै नीतिगत अस्पष्टता हट्नेमा आशा व्यक्त गरे ।

त्यस्तै नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमका टिम लिडर सुमन बस्नेतले बेलायत सरकारको सहयोगमा कार्यक्रम सञ्चालन भएको जानकारी दिँदै यस कार्यक्रमबाट लाभ लिन सौर्य व्यवसायीलाई आग्रह गरे।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका बोर्ड सदस्य कुशल गुरुङ, सौर्य विद्युत् उत्पादक संघका वरिष्ठ उपाध्यक्ष हरिनारायण गौतमलगायतले विश्व बजारमा सौर्य ऊर्जाका प्रविधिहरूको मूल्य घटिरहेको तथा सौर्य ऊर्जालाई राष्ट्रिय प्रसारणमा जोड्ने कार्यविधि बनिसकेका कारण एक मेगावाटभन्दा कम क्षमताका परियोजनामा प्रवेश गर्न आग्रह गरे । सौर्य ऊर्जाका क्षेत्रमा अनुदानमा मात्रै आश्रित नभएर साझेदारीका आधारमा अगाडि बढ्नुपर्नेमा उनीहरूको सुझाव छ ।

कार्यक्रममा रुपटप सोलारको स्थिति, विद्यामान नीति नियम र आर्थिक तथा प्राविधिक रूपमा यसको अवस्थाका बारेमा विज्ञहरूले व्यवसायीहरूलाई प्रशिक्षित गरेका थिए ।