मुस्ताङको लोमान्थाङ र मुक्तिनाथ क्षेत्रमा हिमपात



म्याग्दी।

हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ र लोमान्थाङ क्षेत्रमा हिमपात भएको छ । मौसम परिवर्तनसँगै आज बिहानैदेखि लोमान्थाङ गाउँपालिकाको छोसेर, छोन्हुप तथा मुक्तिनाथ क्षेत्रमा हिमपात परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित मुक्तिनाथ आसपासको क्षेत्रमा करिब आधा फिटसम्म हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गत छोन्हुप र छोसेरलगायत स्थानमा पनि हिमपात भएको छ । अहिले पनि मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात भैरहेको प्रहरीले जनाएको छ ।

वर्षासँगै हिमपात भएपछि मुस्ताङमा अत्यधिक चिसो समेत बढेको छ भने डाँडाकाँडा सेताम्य देखिएका छन् । वर्षा र हिमपातको कारणले मुस्ताङको तापक्रम क्रमशः माइनसतर्फ गैरहेको जनाइएको छ । चिसो बढेपछि मुस्ताङका स्थानीयवासी घरभित्रै आगो बालेर तापिरहेका छन्भने चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्