पृथ्वियालाई अमेरिकामा ह्युमनिटेरियन अवार्ड



काठमाडौं ।

अमेरिकाको लास भेगासमा हालै सम्पन्न विवाहित महिलाहरूबीचको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्ड–२०२३ मा नेपालले सेमिफाइनलसम्म पुगी ह्युमनिटेरियन अवार्ड जितेको छ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर सहभागी भएकी मिसेस नेपाल वल्र्ड पृथ्विया थापाले ह्युमनिटेरियन अवार्ड जितेकी हुन्।

मिसेस वर्ल्डमा शीर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा आफू ह्युमनिटेरियन अवार्ड जित्न सफल भएको पृथ्वियाले बताइन्।

‘यति ठूलो प्रतिस्पर्धामा उत्रेर पनि यो अवार्ड जित्नुलाई मैले एउटा ठूलै सफलताको रूपमा लिएको छु। यो मेरो लागि मात्र नभएर नेपालकै लागि महत्वपूर्ण उपब्धि भएको मैले ठानेकी छु’ पृथ्विया भन्छिन्।

मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिबन इन्टरेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफूहरूले ठूलो सफलताको रूपमा लिएको बताए।

‘मिसेस वर्ल्डमा हामीले प्रतिनिधित्व गराएको यो दोश्रो अवसर हो। दोश्रो अवसरमै एउटा मुख्य अवार्ड हासिल गर्नु नेपालका लागि गर्वको विषय हो’ झा भन्छन्।

प्रतियोगितामा मिसेस वर्ल्ड २०२३ को उपाधि जर्मनकी जुलिया क्यारोलिनले जितेकी छन्। विश्वका ५७ भन्दा बढी देशका विवाहित सुन्दरीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न ३८ देशका महिलाले स्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्