विश्वव्यापी मानवअधिकार र नेपाल

126
Shares

काठमाडौं ।

गत वर्ष १० डिसेम्बर २०२३ मा ७५ औं विश्वव्यापी मानवअधिकार दिवस नेपाललगायत विश्वभरि मनाइयो। सन् १९३९ देखि १९४५ सम्म भएको आठ लाखभन्दा बढी नरसंहारकारी दोस्रो विश्वयुद्धको समाप्तिसँगै २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको हो।

लगत्तै सन् १९४६ मा संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग गठन भयो । सन् २००६ मा उक्त आयोगको नाम परिवर्तन गरी संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् राखियो। यूएन चार्टरको प्रस्तावनामा चारओटा क्षेत्रलाई समेटेको छ। जुन यसका चार खम्बाहरू मानिन्छन् । यी शान्ति र सुरक्षा, मानवअधिकार, विधिको शासन, र विकास हुन्।

१० डिसेम्बर १९४८ मा फ्रान्सको पेरिसमा बसेको संयुक्त राष्ट्रसंघको साधारण सभाले विश्वव्यापी मानवअधिकारको सार्वभौम घोषणा (युनिभर्सल डेक्लेरेसन अफ ह्युमन राइट (यूडीएचआर) स्वीकृत गरी जारी गर्‍यो।

विश्वव्यापी मानवअधिकारको सार्वभौम घोषणा (युनिभर्सल डेक्लेरेसन अफ् ह्युमान राइट (यूडीएचआर) स्वीकृत गरी बडापत्र जारी गरिनुभन्दा १२ वर्ष पूर्व अर्थात् सन् १९३६ मा नै सहिद शुक्रराज शास्त्रीले नेपालमा मानव अधिकार क्षेत्रमा ‘नागरिक अधिकार समिति’ गठन गरी कार्य प्रारम्भ गरी सकेका थिए।

जसबारेमा कहीँकतै अलिकति पनि चर्चा भएको पाइँदैन । दोस्रो विश्वयुद्धको भयंकर विध्वंसले संसार थलिएको थियो । यसका विजयी राष्ट्रहरू मिलेर भविष्यमा संसारले फेरि यस्तो विपद् भोग्नु नपरोस् भन्ने सोचाइमा राष्ट्रसंघको स्थापना भएको हो । यसका सदस्य राष्ट्रहरूको संख्या १ सय ९३ छ। जसमा संसारका सबैजसो राष्ट्रहरू पर्दछन् ।

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यताको लागि वि.सं.२००५ सालमा नै प्रयास जारी गरेको थियो । तर, सदस्यता वि.सं. २०१२ मंसिर २९ मा मात्र पायो।

नेपालको राजनीतिक दर्पण नामक किताबको पाँचौं अध्याय, पृष्ठ नं. ३६३ मा लेखिएको छ कि तत्कालीन राजा श्री ५ महेन्द्रबाट नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेकोमा २०१२ पौष २५ गते बक्सेको संदेशमा हुकुम भयो–‘संयुक्त राष्ट्रसंघको सदस्यता हाम्री प्यारी मातृभूमि नेपाललाई पनि प्राप्त भएकोमा सन्तोष र हर्ष लाग्नु स्वाभाविकै हो तथा यस शुभअवसरमा हामीबाट विश्वास गरिबक्सेका छौं कि अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वशान्ति, स्वतन्त्रता तथा समान न्याय प्रदान गर्ने संयुक्त राष्ट्रसंघको महान उद्देश्यलाई वास्तविक रूपले सफलीभूत पार्न हाम्रो देशले पनि सक्रिय भाग लिई यथासक्य सहयोगार्थ मद्दत दिन सकोस्। यही हाम्रो श्री पशुपतिनाथसँग हार्दिक प्रार्थना छ। सो कार्य सुसम्पन्न गर्न सबै देशवासीहरूले पनि यथासम्भव सहानुभूति तथा सहयोग दिउन् भन्ने हाम्रो आन्तरिक अभिलाषा छ । साथै, हाम्रो देशलाई उक्त संयुक्त राष्ट्रसंघमा सदस्यता प्राप्त हुनमा अरू स्वतन्त्र देशहरूबाट जुन सहानुभूति र सहयोग प्रदान भयो ती सबै देशहरूलाई हार्दिक धन्यवाद प्रकट गरिबक्सेका छौं । जय नेपाल ।’

सोही नेपालको राजनीतिक दर्पणको ३६४ पृष्ठमा नेपाल एक स्वाधीन राष्ट्रको हैसियतमा संयुक्त राष्ट्रसंघको जनरल एसेम्बलीको सदस्यता प्राप्त गर्न सक्दैन भनी बीपी कोइरालाले वि.सं.२००६ सालमा राष्ट्रसंघमा तार पठाएको कुरा लेखिएको छ । त्यसै गरी सोही किताबको सोही पृष्ठमा दिल्लीरमण रेग्मीले पनि नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त नगरोस् भनी तार पठाउनुभएको लेखिएको छ ।

त्यसबाहेक बीपी कोइरालाले भारतको पटनाबाट प्रकाशित ४ अक्टोबर १९४६ को सर्चलाइट नामक पत्रिकामा नेपाल भारतको अभिन्न अङ्ग हो भनेको कुरा छापेको छ।

त्यतिमात्र नभई भोला चटर्जीले लेखेको बीपी कोइराला : पोट्रेट अफ रेभुल्सनरी नामक किताबको लागि दिएको एक अन्तर्वार्तामा उनीसँग सोधेको एउटा प्रश्नको जवाफमा उनले नेपालमा गणेशमान र टंकप्रसाद आचार्य अन्यसँग मिलेर ठूलो षड्यन्त्र र राजद्रोही कार्यमा संलग्न रहेकोमा उनीहरूका दुई सहकर्मीलाई (दशरथ चन्द र गंगालाल श्रेष्ठ इङ्गित) प्रहरीले गोली हान्यो र दुईलाई (शुक्रराज शास्त्री र धमर्मभक्त माथेमा इङ्गित) फाँसीमा लट्कायो भनी जवाफ दिएको थियो।

त्यस्तै, अर्को प्रश्न थियो त्यसो भए नेपालमा केही राजनीतिक गतिविधि भइसकेको हो त भनी सोधेकोमा जवाफ थियो । त्यस बारेमा भारतको पटनाबाट प्रकाशन हुने समाजवादी पत्रिका जनतामा प्रचार गरिएको छ । तर, म त्यस्तो राजासँग मिलेर बनेको गोप्य आतंककारी संगठनको पक्षमा छैन।

के तपाईंले टंकप्रसाद र गणेशमान सिंहको संगठनलाई आतंककारी संगठन भन्नुभएको हो भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, मलाई लाग्दैन उनीहरू सहमत हुनेछन्, तर तिनीहरूले राजाको सहयोगमा कुनै किसिमको दरबार विद्रोह गर्न चाहन्थे।

यहाँ विचारणीय कुरा के हो भने, संयुक्त राष्ट्रसंघको स्थापना २४ अक्टोबर १९४५ मा हुन्छ, बीपी कोइरालाले १ वर्षपछि नेपाल भारतको अभिन्न अंग हो भनी ०४ अक्टोबर १९४६ मा सर्चलाइट पत्रिकामा विवादित कुरा छपाउँछन्।

जबकि, काठमाडौंका नेवारले पञ्च शीर्ष पर्वत भन्ने गरेको चीनको वु टाइ शानबाट आएका बोधिसत्व मञ्जुश्रीले नाग ऋद तालको पानी बाहिर बगाई नेपालमा घाँटी निर्माण गरेपश्चात्को नेपाल मण्डलमा भारतलगायत कुनै विदेशीले कहिल्यै पनि विजय प्राप्त गरेको इतिहास नै छैन भने उनले नेपाल भारतको अभिन्न अंग हो भनेर कसरी भनेका हुन् ?

नेपालले २००५ सालमा संयुक्त राष्ट्रसंघको सदस्यताको लागि प्रयास थाल्छ त्यसको लगत्तै बीपी कोइरालाले २००६ सालमा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बन्न सत्तैmन भनेर संयुक्त राष्ट्रसंघमा तार पठाउँछ।

तानाशाही राणा शासनको विरुद्ध जनचेतना जगाउन पर्चा छरेबापत १९९७ सालमा जहानियाँ तानाशाही सरकारले मृत्युदण्ड दिएका प्रथम चार सहिदहरूलाई षड्यन्त्रकारी, देशद्रोही गतिविधिमा लागेका आतंककारी भन्छ। जबकि, विमान अपहरण गरेर देशको कोष लुट्नु, राजामाथि बम प्रहार गर्नु र संसद्लाई बाइपास गरेर गण्डक सम्झौता गर्नुजस्ता विभिन्न क्रियाकलापलाई उनी जायज राजनीतिक मामिला ठान्छन्।

नेपाल एक स्वाधीन राष्ट्रको हैसियतमा संयुक्त राष्ट्रसंघको साधारण सभाको सदस्यता प्राप्त गर्न सक्दैन भनी तार पठाउने उनै बीपी कोइराला सदस्यता प्राप्त भएपछि एक स्वाधीन राष्ट्रको प्रधानमन्त्रीको हैसियतले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्न पुग्छन्।

भारतमा बसेर राजसंस्थाविरुद्ध थुप्रै गतिविधि चलाएकाले भारत बसाई अनुकूल नभएपछि राजाको गर्धनमाथि मेरो गर्धन भन्दै नेपाल फर्कन्छन् । विचित्रको राजनीतिक सुझबुझ र गतिविधि छ महामानवको भन्ने यसबाट बुझिन्छ।

यूडीएचआर बडापत्र जारी भएको झण्डै २० वर्षपछि सन् १९६८ बाट संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोगले हरेक ५ वर्ष डिसेम्बर १० को दिन आफ्ना सदस्य राष्ट्रका मानवअधिकार क्षेत्रमा उल्लेखनीय कार्य गरेको विशेष व्यक्तिको सम्मान र प्रशंसामा संयुक्त राष्ट्रसंघ मानवअधिकार पुरस्कार प्रदान गर्ने श्रृंखला प्रारम्भ गर्‍यो।

जुन श्रृंखला सन् १९८३ मा भने एक पटक टुटेको थियो। १० डिसेम्बर १९९३ मा भएको संयुक्त राष्ट्रसंघ मानवअधिकार दिवसको ४५ औं वार्षिक महोत्सव एवं पुरस्कार समारोहको पाचौं संस्करणमा नेपालका मानव अधिकारवादी प्रजातान्त्रिक योद्धा गणेशमान सिंहलाई उक्त पुरस्कारद्वारा सम्मानित गरेको थियो । विश्व मानवअधिकार क्षेत्रमा नेपालले पाएको यो सम्मान, पुरस्कार नेपालको लागि ठूलो उपलब्धि र गौरव हो ।

उक्त पुरस्कार वितरण समारोहको बेला संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बुत्रोस बुत्रोस घालीले गणेशमान सिंहको परिचय दिने क्रममा उहाँको मुक्तकण्ठले प्रशंसा गर्दै ‘नेपालमा मानवअधिकार र प्रजातन्त्रको निमित्त श्री गणेशमान सिंहले पाँच दशकभन्दा लामो समयसम्म अथक संघर्ष गर्नुभयो।

उहाँको निर्भीक अभिव्यक्ति र संघर्षपूर्ण जीवन नेपालको लागि मात्र होइन, शेष विश्वको लागि पनि ठूलो प्रेरणाको स्रोत हो। उहाँ विश्व मानव समुदायको निम्ति ठूलो गौरव हुनुहन्छ।’ त्यस्तै, छिमेकी राष्ट्र भारतका तत्कालीन प्रतिपक्षी दलको नेता तथा पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीले आफ्नो स्थानबाट आएर उहाँलाई बधाई दिँदै – ‘तपाईंले प्रजातन्त्रको लागि गर्नुभएको अथक संंघर्षको अभिनन्दनस्वरूप तपाईंलाई यो पुरस्कारबाट सम्मान गरिएको हो । यो पुरस्कार प्राप्त गर्नु नेपालको लागि मात्र नभई एसिया महादेश कै लागि समेत गौरव हो ।’

विश्व राजनीतिमा सैन्य शक्ति र अन्य देशमाथि प्रतिबन्ध लगाउनु हार्ड पावर हो । हार्ड पावर भने परन्तु कायम रहन्न । कहिल्यै घाम नअस्ताउने ग्रेट ब्रिटेन अहिले खुम्चेर युरोपको एउटा सानो देश बन्न पुगेको छ । विश्वको शक्तिशाली देश अमेरिका पनि भियतनाम, अफगानिस्तानबाट हुतीहारा झैं बनेर फर्कनु परेको थियो, यी हार्ड पावरको अस्थायित्वका केही उदाहरण हुन्।

त्यसको विपरीत, कोप्टेड वा सफ्टपावर भनेको आफूले चाहेको कुरा गर्न अरूलाई मनाउन सक्ने क्षमता, कला, सम्पदा, संगीत आदि हुन्। २२ जनवरी २०२४ मा भारतको अयोध्यामा विश्वलाई तरंगित गर्ने भगवान रामप्राण प्रतिष्ठान भारतको सफ्टपावर हो। गणेशमानले नेपालमा मानव अधिकार र प्रजातन्त्र स्थापना गर्न गरेका संघर्षहरूबापत संयुक्त राष्ट्रसंघ मानवअधिकार पुरस्कार प्राप्त गर्नु नेपालको सफ्टपावरको उदाहरण हो ।

नेपाली टक्सारमा टक छापी तिब्बतलाई पठाउने सिक्का कमसल भएको कुरालाई लिएर किचोला बढेपछि सन् १७८८ मा नेपालले तिब्बतमाथि आक्रमण गर्‍यो र १७८९ मा विजय प्राप्त गर्‍यो। तर, पछि चीनले तिब्बतलाई सघाएपछि नेपालले नुवाकोटको बेत्रावतीमा सम्झौता गनुपर्‍यो ।

त्यस्तै, सन् १८१४–१८१६ को अंग्रेज र नेपालको युद्धमा नेपाली सैन्य शक्तिले ब्रिटिस इस्ट इन्डिया कम्पनीमाथि थुप्रैपटक विजय प्राप्त गरेका वीरगाथाका बखानहरू इतिहासमा छँदैछ।

नेपालको यस्ता हार्डपावरको सराहना खुबै हुन्छ । तर, संयुक्त राष्ट्रसंघ मानव अधिकार पुरस्कार प्राप्त गर्नुजस्ता सफ्टपावरतर्फ भने खासै चासो राखेको पाइन्न । विश्वले गौरव ठानेको सफ्टपावरलाई नेपाल स्वयमले अंगाल्न नखोज्नुको कारण के होला ?

नेपालबाट प्रकाशित किताब संयुक्त राष्ट्रसंघ र नेपाल १९५६–१९९६ समेतमा १० डिसेम्बर १९९३ मा विश्वले गौरव मानेको नेपालको मानव अधिकारवादी तथा प्रजातन्त्रका योद्धा गणेशमानले प्राप्त गरेको संयुक्त राष्ट्रसंघ मानवअधिकार पुरस्कार अथवा नेपालको सफ्टपावरबारे एक शब्द पनि देख्न पाइन्न ।

देशमा सहिद सप्ताह चलेको छ। बीपीले आतंककारीको धब्बा लगाइदिएका उनै चार अमर सहिदहरूको ‘वैधानिक राजासहितको जनउत्तरदारी सरकार’ भन्ने मन्त्रलाई आत्मसात गरी जीवनपर्यन्त संघर्षमा होमेका गणेशमान सिंहले वि.सं. २०४६ सालको अहिंसात्मक जनआन्दोलको सफल नेतृत्व गरी सफलता प्राप्तिपछि बनेको नेपालको संविधान २०४७ मा रैती नेपालीलाई सम्मानित नागरिकको दर्जा स्थापित गरी मानव अधिकारको सुनिश्चित गराउन भएबापत संयुक्त राष्ट्रसंघको विश्वव्यापी मानव अधिकार पुरस्कार प्राप्त गर्न सफल भई सच्चा मानेमा सर्वमान्य बन्नुभयो।