दरबार हत्याकाण्डबारे होला फेरि छानबिन ?



काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ सालको दरबार हत्याकाण्डपछि भ्रम फैलाएर आफ्नो परिवारप्रति घातक हमला भएको बताएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन हुने बताउनुभएको छ।

पूर्वराजा ज्ञानेन्द्रले शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै २०५८ सालमा घटेको विनाशकारी घटनाका बारेमा जनतामा भ्रम फैलाएर आफू र आफ्नो परिवारमाथि घातक हमला भएको बताउनुभएको थियो।

२३ वर्षअघि घटेको दरबार हत्याकाण्ड अझै पनि संशयको घेरामा छ। सो दरबार हत्याकाण्ड तत्कालीन राजा वीरेन्द्रको वंश नै सखाप पार्ने गरी घटेको थियो।

पूर्वराजा ज्ञानेन्द्रले सो हत्याकाण्डबारे भ्रम फैलाएर आफूहरूमाथि घातक प्रहार गरिएको अभिव्यक्ति दिएपछि त्यसले तंरग ल्याएको छ।

यसै तरंगका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बाराको सिमरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै २०५८ सालको दरबार हत्याकाण्डको पुनः छानबिन गरिने बताउनुभएको हो।

२०५८ सालमा तत्कालीन सरकारद्वारा गठित छानबिन आयोगले सत्ताको निर्देशनअनुसार काम गरेकाले दरबार हत्याकाण्डबारे सत्यतथ्य बाहिर आउन नसकेको आरोप लागेको थियो।

त्यसको केही वर्षपछि शासकीय व्यवस्था नै परिवर्तन भएर राजसंस्था नै उन्मूलन हुन पुगेको थियो। शासकीय व्यवस्था परिवर्तनपछि बनेका लोकतान्त्रिक सरकारका प्रधानमन्त्रीहरूले दरबार हत्याकाण्डको पुनः छानबिन हुने बताउँदै आए पनि छानबिन भने हुन सकेको छैन।

प्रधानमन्त्री ‘प्रचण्ड’ले यसअघि पनि दुईपटकसम्म प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्ड छानबिन हुने बताउनुभएको थियो तर उहाँले त्यस बेला छानबिन गर्न सक्नुभएको थिएन।

सोमबार सिमरामा भने प्रधानमन्त्रीले दरबार हत्याकाण्ड छानबिन गर्ने विषय तेस्रोपटक फेरि दोहोर्‍याउनुभएको हो।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो।

पूर्वराजा ज्ञानेन्द्रले पनि शनिबार आयोजित कार्यक्रममा भन्नुभएको थियो– ‘२०५८ सालमा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो। हामी र हाम्रो परिवारलाई घातक प्रहार पनि गरेका थिए।’ उहाँले दाबी गर्नुभएको छ– ‘सत्य सधैं सत्य हुन्छ, असत्यको विजयी कहिल्यै हुँदैन।’

प्रतिक्रिया दिनुहोस्