संस्कृति एक परिचर्चा

0
Shares

काठमाडौं ।

संस्कृति जुनसुकै समाजमा पनि बरोबर छलफलमा आइरहने एक समाजशास्त्रीय शब्दको रूपमा परिचित छ।

अझ अनेक प्रकारका चाडपर्व जात्रा उत्सव र सास्कृतिक परम्पराहरू प्रत्येक हप्ता बिराएर आइरहने हाम्रो समाज, जहाँ वर्षको ३ सय ६५ दिनमा ८ सय ओटाभन्दा बढी जात्रा पर्व चाड उत्सव मनाइन्छ।

भनिन्छ यस्तोमा यहाँको सांस्कृतिक वस्तुस्थितिबारे बाक्लै चर्चा परिचर्चा चल्नु कुनै अस्वाभाविक कुरा होइन। तर, अहिले हामी यहाँ चाडवाड जात्रा पर्वको वर्णन गर्नुभन्दा आजको अवस्थामा ती जात्रा पर्व उत्सवको प्रेरक तत्व के हो ती जात्राहरू के कुन परिस्थतिमा गरिन्छ र जात्रामा प्रत्यक्ष संलग्न हुने र अप्रत्यक्ष भोग्ने अधिकांश व्यक्तिहरूको मनोभावना केमा केन्द्रित छ भन्ने कुराको चर्चा गर्न चाहान्छौं।

उदाहरणार्थ विजया दशमीकै प्रसंग लिऔं असत्यमाथि सत्यको जितको उत्सवको रूपमा लिइने उक्त अवसर हिजो आज तडकभडक, फजुल खर्च, झैझगडा, अस्वाभाविक प्रतिस्पर्धा र दैहिक आनन्द प्राप्त गर्ने अवसरमा सीमित भएको अवस्था छ।

उक्त वाक्यमा रहेको असत्य माथि सत्यको जीत भन्ने वाक्यांशमाथि घोरिने फुर्सद कसलाई छ ? संस्कृतिमा यसरी विकृति आएको चुरो कारण मानिसमात्रको आर्थिक सामाजिक क्रियाकलापबाट स्वतः निर्माण हुने कुरालाई बुझ्न बुझाउने कठिन बाटो बनाइयो।

यही संसारसँग प्रत्यक्ष सम्बन्धित विषयलाई आत्मा परमात्मासँग मानिसको सम्बन्धजस्तो बुझ्नै नसकिने शब्दावलीसँग गाँसिदियो । यसरी धर्तीको कुरालाई स्वर्गसँगको विषय बनाएकोले नै आजका युवा संस्कृतिसँग विमुख भएका हुन्।

संस्कृति भनेको वैचारिक पक्ष प्रधान हुने मानव समाजको आन्तरिक र अभौतिक सम्पति हो । यसको निर्माण मानवले बाँच्ने क्रममा वरपरका समाजलाई सुव्यवस्थित गर्न आवश्यक नीति नियमका रूपमा बनाएका थिए र अझै बनाइरहेका छन्।

उदाहरणका लागि चाडपर्व, रीतिरिवाज, रहनसहन, प्रथा, दर्शन, भाषा, शैली, धर्म, कला, सहित्य, विज्ञान, नैतिकता आदि सबै नै संस्कृति हुन्। संस्कृति कुनै ईश्वर प्रदत्त वस्तु होइनन् नत यो कहिले फेरबदल नहुने प्रवर्ग (भाव) हो।

यथार्थमा समाजको स्वनिर्मित उत्पादन पद्धति (आर्थिक व्यवस्था)बाट निर्देशित सामाजिक आर्थिक व्यवस्थाको प्रतिबिम्ब हो। उदाहरणका लागि उत्पादनका साधनहरूमाथि जुनवर्गको स्वामित्व (अधिकार) हुन्छ । त्यस समाजको संस्कृतिमा सोही वर्गको अधिकार कायम भएको हुन्छ।

संस्कृति समाजको आर्थिक सामाजिक व्यवस्थाको उपज हुनुको साथै उत्पादन पद्धतिसँग जोडिएको हुनाले निरन्तर क्रियाशील, गतिशील र परिवर्तनशील भइराखेको हुन्छ। तर, स्थिर कहिले रहँदैन । यो मानवीय चेतनाका विशिष्ट रूप भए पनि निष्क्रिय प्रतिबिम्ब या भूमिकाविहीन प्रवर्ग होइनन्। बरू यसले ठाउँ विशेषको सामाजिक परिवर्तनलाई नेतृत्व दिने, आन्दोलन तीव्र पार्न र शिथिल बनाउनसमेत भूमिका खेल्छ । उद्यपि, त्यो भूमिका उत्पादन सम्बन्धको भूमिका जति नहोला।

यी कुराहरू लेखिरहँदा महान दार्शनिक तथा सर्वहारा वर्गका गुरु कार्ल माक्र्सले संस्कृतिलाई आर्थिक आधारमाथि खडा भएको कृष्णसुन्दर घो सामाजिक चेतनाको विशिष्ठ रूप भनी व्यक्त गर्नु भएको उद्गार यहाँ विशेष स्मरणीय हुन आउँछ। हुन पनि मानवीय चेतनाबाट स्वतन्त्र उत्पादन रूपी ढाँचा (आधार) जसमाथि सिंगै समाजको अधिसंरचना (कानुन, अदालत, राजनीति, दर्शन, धर्म) लगायत सामाजिक चेतना उभिएको हुन्छ। संस्कृति त्यही सामाजिक चेतनाको विशिष्ट रूप हो।

प्रकृतिमा रहेका सबै वस्तु विचार संस्कृति गतिशील हुन्छन्। त्यसमध्ये कुनै संस्कृति त्यसको औचित्य सकेपछि परिर्वतन भएर जान्छ भने कुनै ढिलामात्र परिर्वतन हुन्छन्। जस्तै, अन्य संकृतिको तुलनामा विवाह संस्था सापेक्षित रूपमा शाश्वत स्थायी र त्यसमा निहीत जीवन्त मूल्यहरू भएकाले धेरै अगाडिका युगहरूदेखि निरन्तर र जस्ताको तस्तै रहिरहेका हामीलाई भान होला । यद्यपि, त्यसको रूप र सारमा समेत गुणात्मक र परिमाणात्मक परिर्वतन आइ नै रहेका छन् । प्रचलित अनेक प्रकारका संस्कृतिमध्ये तुलनात्मक रूपमा जीवनोपयोगी मूल्यहरूको संरक्षण र किंवदन्तीजस्ता बिनाप्रमाणिक आधारका तथ्यभन्दा कथ्यमा आधारित संकृतिहरूलाई क्रमशः त्याग्दै लानु उपयुक्त होला कि ?

हाम्रो समाजका धेरै बुद्धिजीवी, लेखक एवं राजनीतिक कार्यकर्ताहरूसमेत संस्कृति बचाऔं भन्ने नाराको माला जपेर बसेका भेटिन्छन् । उहाँहरूका दृष्टिकोणमा संस्कृति नराम्रो हुन सक्तैन यसकारण त्यसलाई बचाउनु पर्दछ । देश दुनियाँ बारे अनभिज्ञ एवम संस्कृतिको उत्पति, चरित्र र दूरगामी महत्व र सामाजिक असरबारे बुझ्न नचाहने एवं संस्कृतिको सतही विश्लेषण गर्नेहरू त्यस वर्गमा परेका देखिन्छ । के समाजका सबै विद्यमान संस्कृतिहरू संरक्षण गर्नुपर्ने खालका छन् त ?

कुरा त्यही हो भने विश्व ब्रह्माण्डै प्रकाश पार्ने आकाशको त्यो चम्किलो सूर्यलाई विज्ञान विपरीत अतार्किक आग्रह राखी किन ग्रह मानिन्छ ? त्यस्तै, जातपातको आधारमा मानवले अर्को मानवलाई छुवाछुतको व्यवहार किन हुन्छन् ? समस्या पेचिलो छ।

यहाँनिर भारतीय प्रख्यात दार्शनिक देवीप्रसाद चोपाध्यायले भन्नु भए झैं सर्वप्रथम सरोकारवाला सबैले ठन्डा दिमागले सबै संस्कृतिहरूलाई केलाएर जीवनपयोगी सांस्कृतिक मूल्यहरू निहित भएकालाई संरक्षण संवर्धन र विकास गर्नु पर्दछ।

साथै ध्यान दिनुपर्ने कुरा के हो भने पुराना सबै कुराको ध्वंश गरेर मात्र नयाँ कुराको जन्म हुन्छ भन्ने संकीर्णतालाई भने मुलुक र आन्दोलनको हितमा सबैले त्याग्नै पर्दछ । किनकि, उग्रताले कुनै क्षेत्रमा पनि गन्तव्यमा पुग्दैन ।

सामान्यतः देशको सरकार संस्कृतिको ममिलामा चुप बसेका हुन्छन् । तर, जब कुनै संस्कृतिले समाजमा भाँडभैलो मच्चाउँछन् तब सरकार स्वय्म त्यसलाई निष्प्रभावी पार्न बाध्य भएको पनि भेटिन्छ।

जस्तै, भारतको तामिलनाडु राज्यमा २००० वर्ष अगाडिदेखि चलिआएको जलिक नामक जनावरहरूप्रति अमानवीय व्यवहार गर्ने र सो क्रममा कहिलेकाहीँ मानिससमेत मारिने संस्कृतिलाई त्यहाँको वातावरण मन्त्रालयले सन् २०११ मा प्रतिबन्ध लगाइएको थियो।

हाम्रै देशको मध्यपश्चिम र सुदूरपश्चिम प्रदेशमा प्रचलित छाउपडी प्रथालाई व्यवहारमा अमानवीय, अतार्किक र मानवअधिकार विरोधी ठहर्‍याई हालैमात्र सरकारले प्रतिबन्ध लगाइएको पनि स्मरणीय छ।

२१ औं शताब्दीको वैज्ञानिक जमानामा प्रत्येक चिज वस्तु सत्य तथ्यमा आधारित हुनु पर्दछ । तैपनि हामीकहाँ प्रायःजसो बुद्धिजीवी, शिक्षक, समाजसेवी र राजनीतिक कार्यकर्तासमेत सदियौँदेखि शास्त्र र दन्त्यकथामा आधारित संस्कृतिहरू अर्थात प्रचलित विभिन्न चाडपर्व, कर्मकाण्ड, उत्सव, जात्रा परम्पराहरू बिना प्रश्न मानिरहेका देखिन्छन् । यद्यपि, अर्कोतिर ती चाडपर्वहरूबारे तिनीहरूको चरित्रबमोजिम वैज्ञानिक अध्ययन व्याख्या विश्लेषणसमेत गरी समाजलाई सोबारे प्रशिक्षित पनि भएको छैन।

एउटा अध्ययनमा यस क्षेत्रका संस्कृतिहरूमध्ये धेरैजसो धार्मिक चरित्रका, केही सांस्कृतिक महत्वका र केही सामाजिक आवश्यकताका उपजका रूपमा रहेका देखिएको छ। तर, व्यवहारमा उक्त वर्गमा देखिएका संस्कृतिहरू पनि औपचारिक रूपले शुरू गर्नुभन्दा अगाडि नै धार्मिक अनुष्ठान भइसकेका हामी पाउछौं। ती जात्रा पर्वहरू धेरै जसो तत्कालीन परिस्थितिका कारण धार्मिक मिथकहरूसँग राम्ररी नै जोडिएको पाउँछौं। तर, जिम्मेवार व्यक्तिहरू यस्ता अन्तर र गुदी कुराहरूबारे वास्ता नगरी उल्लिखित जात्रा पर्व चाडवाडलाई नै वास्तविक संस्कृति ठानी त्यसैमा निमग्न देखिन्छ।

विभिन्न प्रकरणहरूमा लेखिए झंै मानवीय समाजको आवश्यकताले नै संस्कृति निर्माण भएको र सोही समाजको उत्पादन पद्धति (आर्थिक व्यवस्था)बाट निर्मित उत्पादन सम्बन्धले संस्कृति निर्माण हुने र त्यो आर्थिक सामाजिक व्यवस्थासँग जोडिएको भई निरन्तर परिर्वनशील हुने स्वाभाविक आर्थिक प्रक्रिया हो।

समयको विकास क्रममा मानव मस्तिष्क, बुद्धिको पहुँच र क्षमताभन्दा बाहिरको विषय भएको ईश्वरको अवधारणा घुसे, घुसाएकोले समाज विकासको अनुक्रम र ऐतिहासिक तथ्यको जानी नजानी गलत व्याख्या भएको स्पष्ट छ।

सोही क्रममा पछिबाट ठूलो जात सानो जातलगायत मानव स्वयंमको पृथक स्वतन्त्र अस्तित्वलाई इन्कार गर्ने, मातृसतात्मक समाजबाट पित्रृ सतात्मक भएपछि आमा जातिलाई परनिर्भर र कायर बनाउने षड्यन्त्रबाट वास्तविक ऐतिहासिक अनुक्रमलाई तोडमोड भएकोलाई सच्याउन मानिसलाई महत्व र प्राथमिकता दिई उसको स्वतन्त्रता र चौतर्फी विकासको धारणालाई पक्षपोषण गर्ने चिन्तन, सबथोक मानिसको नाममा र हितमा हुनुपर्ने मानवतावादी संस्कृति निर्माणको लागि सोच्ने बेला आएको छ।

यहाँनिर शुरूकै प्रकरणमा गरेको प्रश्न प्रासंगिक हुनेछ कि विस्केट जात्रालगायत अन्य संस्कृतिहरूका सन्दर्भमा पनि थोरै केलाएर हेरेको खण्डमा मोटामोटी उस्तै परिणाम निस्कने सन्दर्भमा किंवदन्तीमा आधारित संस्कृतिहरूको बारेमा हाम्रो ठम्याई र व्याख्या विश्लेषणमा परिमार्जन गर्ने बेला आएको हो कि ?