विदुर नगरपालिकाले गर्‍यो ३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाखसहित सम्मान 

564
Shares

 काठमाडौँ ।

  नेपालको ग्रामीण स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने उद्देश्यले नेपाल सरकारले सुरुवात गरेको महिला स्वास्थ्य स्वयंसेविका अभियानले नेपालकै स्वास्थ्य क्षेत्रको इज्जत राखेको छ ।

देशको स्वास्थ्य क्षेत्रमा इज्जत राख्ने स्वास्थ्य स्वयमसेवीकालाई नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाखसहित सम्मान गरेको छ ।

साठी वर्ष उमेर पूरा भएका ३० स्वयंसेविकालाई विदाइका क्रममा तोकिएको अवधिसम्म सेवा पु¥याएको भन्दै नगदसहित सम्मान गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गत असार ९ को कार्यपालिका बैठकले प्रस्ताव गरेअनुसार असार १० मा सम्पन्न नगरसभामा पारित गराई यसअघि खाली हात बिदाइ हुँदै आएका स्वयंसेविकालाई एक लाख उपलब्ध गराइएको हो।

‘नगरसभाबाट पारित कानुनअनुसार नगरभित्र कार्यरत स्वास्थ्य स्वयंसेविका अवकाश हुँदा तोकिएको अवधि पूरा भएकालाई नगदसहित सम्मान गर्ने कानुन बनाएर यस आर्थिक वर्षदेखि सुरु गरेका छौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘२९ जनालाई अवकाश प्राप्त र एक जनालाई मरणोपरान्त सम्मानका क्रममा एक लाख उपलब्ध गराइएको हो।’

नगरपालिकाले बनाएको कानुनअनुसार १० वर्षदेखि १५ वर्ष सेवा गरेबापत् ५० हजार, १५ वर्षदेखि २० वर्षसम्म सेवा गरेबापत् ७५ हजार र २० वर्षभन्दा बढी सेवा पु¥याएवापत् एक लाख दिइने उल्लेख छ।

कानुनअनुसार यो आर्थिक वर्षको हालसम्म ६० वर्ष उमेर पूरा गरेर सम्मान पाउने स्वास्थ्य स्वयंसेविकाको सङ्ख्या ३० पुगेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए।

उनका अनुसार जनताको घरघरमा पुगेर स्वयंसेविकाका रुपमा सेवा पु¥याउँदै आएकालाई राज्यको सेवा सुविधाबाट अति न्यूनतम मात्र पाउँदै आएका स्वयंसेविकालाई गरिएको सम्मानले उत्साहित बनाएको छ।

विभिन्न तहमा रहेका सरकारले सञ्चालन गर्दै आइरहेको स्वास्थ्य कार्यक्रमलाई जनताको घरघरमा पु¥याउने स्वास्थ्य स्वयंसेविकाले काम गरेको दिन न्यूनतम पारिश्रमिक मात्रै पाउने गरेका छन्।

यसअघि अवकासको समयमा संघीय सरकारबाट २० हजार र प्रदेश सरकारबाट ५ हजार उपलब्ध गराइँदै आएकामा विदुर नगरपालिकाको निर्णयले ठूलो राहत पुगेको छ।