बिर्सनै नसक्ने त्यो ‘११ दिन’



सन्तोष रौनियार

म हेल्थ केयर म्यानेजमेन्ट विषयमा दोस्रो वर्षमा अध्ययनरत थिएँ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले काठमाडाैंको महाराजगन्जमा ५ हजार जनाभन्दा बढीको निःशुल्क मुटु जाँच गर्ने लक्ष्यसहित शिविर सञ्चालनको योजना बनाउनु भएको जानकारी पाएँ । यो एउटा ऐतिहासिक शिविर हुनसक्छ, भन्ने लाग्यो । त्यसैले म पनि स्वयम् सेवकको रूपमा सहभागी भएँ ।

शहरी क्षेत्रमा मुटुरोगको जोखिमको बारेमा पर्याप्त अनुसन्धान नभएकाले भविष्यमा यसले डरलाग्दो रूप लिन सक्छ, भन्ने दूरगामी सोचका साथ उक्त शिविरमा देशकै सबैभन्दा ठूलो अनुसन्धान गर्ने योजना उहाँले बनाउनु भएको थियो । निःशुल्क मुटु जाँच, अनुसन्धान र सचेतनासमेत गाँसिएको उक्त शिविर आफैंमा पृथक मात्रै नभई मेरो जानकारीमा विश्वकै सबैभन्दा ठूलो बृहत् मुटु शिविर थियो ।

सन् २०१४ सेप्टेम्बर १३–२३ तारिख ११ दिनसम्म सञ्चालन भएको थियो । त्यो शिविर राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एन.एच.आर.सी.) सँग स्वीकृति लिएर विश्व स्वास्थ्य संगठन (डब्लु. एच. ओ.) को मापदण्डअनुसार सञ्चालन गरिएको थियो । डब्लु.एच.ओ.को नेपालस्थित कार्यालयसँग सहकार्य गर्र्दै तत्कालीन प्रतिनिधि डा. लिन योङले शिविरको उद्घाटन गर्नु भएको थियो ।

मैले इन्टरनेटमा सर्च गर्दा एकैपटक ५ हजार ६ सय जनालाई सहभागी गराइएको यति बृहत् शिविर विश्वमा अहिलेसम्म विश्वमा कतै भएको भेट्टाएको छैन ।

शिविरको पहिलो दिन करिब साढे दुई सय जना सहभागी भए । हरेक दिन सहभागीको संख्या बढ्दै जाँदा अन्तिम दिन १२ सय जनाभन्दा बढी सहभागी भएका थिए । धेरै सहभागी भए पनि शिविरमा कुनै किसिमको कमिकमजोरी र गुणस्तरमा सम्झौता भएन । ११ दिनको अवधिमा ५ हजार ६ सय जनाभन्दा बढीको निःशु्ल्क मुटु जाँच भएको थियो ।

शिविरमा के–के जाँच गरिएको थियो ?
शिविरमा खाली पेटमा रगतको जाँच गरिएको थियो । जसअन्र्तगत सुगर र लिपिड प्रोफाइल (टोटल कोस्ट्रोल, ट्राइग्लिासाइड, एल.डी.एल. कोलस्ट्रोल, एच.डी.एल. कोलस्ट्रोल) को जाँच भएको थियो । मुटुको जाँचको रूपमा चिकित्सकले हेरेर सबै सहभागिको बाह्र च्यानल ई.सी.जी. जाँच गरिएको थियो ।

भाइटल्स् जाँच

शिविरमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार भाइटल्स् जाँच गरिएको थियो । हरेक सहभागीहरूको दुवै हातको रक्तचाप दुईपटक नाप्ने, तौल र उचाई नाप्ने, एस.पी.ओ.टु., बी.एम.आई., वेस्ट हिप रेसियो, शरीरको तापक्रम नाप्ने जस्ता कार्य सुक्ष्म रूपमा भएको थियो । यस विधिका लागि गुणस्तरीय उपकरणहरूको प्रयोग गरिएको थियो ।

मापदण्डको कडाइका साथ पालना

अस्पताल, क्लिनिक र ल्याबमा जसरी रगत संकलन र जाँच गर्ने विधि अपनाइन्छ त्यसरी नै शिविरमा गरिएको थियो । सहभागीको सहजताका लागि ९-१० ठाउँमा रगतको नमुना संकलन गरिएको थियो । साथै ‘क्वालिटी कन्ट्रोल’, ‘हाइजिन मेन्टेन’ गर्नको लागि भ्याकुटेनरमा नमुना संकलन गरिएको थियो । हरेक नमुनालाई कोडिङ गरेर ल्याबमा पठाइएको थियो । त्यसैगरी ई.सी.जी गर्नका लागि पनि नौ वटा स्टलसमेत बनाइएको थियो । जाँचको क्रममा शिविरमा विपन्न, शारीरिक रूपमा अशक्त र वृद्धवृद्धालाई विशेष प्राथमिकता दिइएको थियौं ।

स्वास्थ्य चेतनाको स्तर थाहा पाउन बृहत् प्रश्नावली
शिविरका हरेक सहभागीलाई प्रश्नावली फारम भर्न लगाइएको थियो । सूर्ती, चुरोट मदिरा दिनमा कतिपटक कति मात्रामा सेवन गर्नुहुन्छ र कहिलेदेखि सेवन गर्नुहुन्छ ?, पारिवारिक स्थिति कस्तो छ, खानपिनको बारेमा (साहाकारी हो कि मांशहारी हो), शारीरिक गतिविधि कस्तो छ ? भन्ने लगायतका प्रश्न थिए ।

स्वयम् सेवकको प्रशंसनीय भूमिका

उक्त शिविरमा २ सय जनाभन्दा बढी स्वयम् सेवकहरू ११ दिनसम्म खटिएका थिए । त्यसमा डाक्टर, नर्स, बी.डी.एस, बी.पी.एच र एच.सी.एम.का विद्यार्थीहरू र अन्य सहयोगी थिए । ती स्वयम् सेवकहरूलाई शिविर शुरू हुनुभन्दा एक साता अगाडिदेखि नै विभिन्न चरणमा तालिम दिइएको थियो ।

शिविरमा जम्मा ५० लाख रुपैयाँमा शिविर सम्पन्न गरिएको थियो । खर्च भएको रकममध्ये आधाभन्दा बढी रकम डा. ओम मूर्ति अनिलले व्यक्तिगत रूपमा खर्च गर्नुभएको थियो । बाँकी रकम उहाँको आग्रहमा उहाँका साथीहरूले सहयोग गरेका थिए ।

त्यसक्रममा शिविर व्यवस्थापनदेखि ‘क्वालिटी कन्ट्रोल’, बिरामीलाई सहजीकरण गर्ने, जाँचका बारेमा, रक्तचाप नाप्ने तरिका, बि.एम.आई. निकाल्ने तरिका र हिप रेसियो निकाल्ने तरिकालगायत थिए । अनुसन्धानका विविध पक्ष र उद्देश्यका बारेमा राम्ररी जानकारी गराइएको थियो ।

स्वयम् सेवकहरू हरेक दिन विहान ६ बजे नै कार्यक्रम स्थलमा उपस्थित भइसक्थे । तीमध्ये कतिपय अपराह्नसम्म बस्थे, कतिपय साँझसम्मै बसेर शिविरको विस्तृत तथ्यांक कम्प्युटरमा ‘इन्ट्री’ गरी अर्को दिनको कार्यतालिका बनाएर घर फर्किन्थे । प्रत्येक दिन शिविर सकिएपछि त्यो दिनको राम्रो र नराम्रो पक्षको बारेमा छलफल, सुधारका विषयमाथि टिम लिडरद्वारा समिक्षा हुन्थ्यो । अर्को दिनको लागि नयाँ जोश र जाँगरले काम गर्ने मनस्थिति बनाएर हामी त्यहाँबाट निस्किन्थौं ।

कम खर्चमा उच्चतम् प्रतिफल

मेरो बुझाइमा त्यस किसिमको शिविर आयोजना गर्न त्यतिबेला करिब २ करोड रुपैयाँ लागत लाग्न सक्थ्यो । अहिलेको अवस्थामा ४÷५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्न सक्छ । सामान्य हिसाबमा पनि लिपिड प्रोफाइल, सुगर ई.सी.जी.लगायतको ल्याब जाँचमा औसत २ हजार रुपैयाँ दरले हिसाब गर्दा ५ हजार ६ सय जनाको १ करोड १२ लाख रुपैयाँ शुल्क हुन्छ ।

दुई सय स्वयम् सेवकको चिया खाजा र भोजन खर्च, ड्रेस, स्टेनसरी तथा औषधिलगायत भैपरी आउने खर्च जोड्दा २ करोड रुपैयाँभन्दा बढीको लागत अनुमान निस्किएको थियो । तर, गुणस्तरमा कुनै सम्झौता नगरी अझ हरेक सहभागीलाई चिया बिस्कुट खुवाउँदा पनि शिविरमा जम्मा ५० लाख रुपैयाँमा शिविर सम्पन्न गरिएको थियो । खर्च भएको रकममध्ये आधाभन्दा बढी रकम डा. ओम मूर्ति अनिलले व्यक्तिगत रूपमा खर्च गर्नुभएको थियो । बाँकी रकम उहाँको आग्रहमा उहाँका साथीहरूले सहयोग गरेका थिए ।

औषधि, उपचार, परामर्श र रिपोर्ट वितरण

सहभागीहरूको मेडिकल रिपोर्टको आधारमा अर्जेन्ट भएकालाई साँझ नै फोनमा परामर्श दिने काम हुन्थ्यो । सबैलाई निःशुल्क औषधि प्रदान गर्न नसकिए पनि कतिपयलाई तत्काल आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।

सहभागीको ‘केस हिस्ट्री र रिपोर्ट’लाई अध्ययन गरी सल्लाह दिइन्थ्यो । कम्प्युटरमा ‘मेडिकल रिपोर्ट इन्ट्री’ गरेपछि सम्बन्धित व्यक्तिसमक्ष पु¥याएर चिकित्सिकबाट प्रत्यक्ष वा अप्रत्यक्ष आवश्यक स्वास्थ्य परामर्श दिने काम भएको थियो ।

बहुउद्देश्यीय कार्यक्रम

शिविरमा मुटु जाँचसँगै मुटुरोगको जोखिमका बारेमा सचेतनासमेत जगाइएको थियो । त्यसका लागि सहभागीलाई मेडिकल रिपोर्टसँगै ‘म पनि डाक्टर’ किताबको अडियो सिडी, खानपिन र शारीरिक गतिविधि एवम् जीवनशैलीको बारेमा पोस्टर, पम्प प्लेट वितरण गरिएको थियो । शिविरमा सहभागी भएका भन्दा बाहिरका मानिसका निम्ति विभिन्न सञ्चार माध्यम (रेडियो, टेलिभिजन, पम्प प्लेट, पोस्टर, पत्रपत्रिका)मार्फत् मुटुरोगको जोखिमका बारेमा सचेतनामूलक कार्यक्रम पनि महिनौसम्म सञ्चालन गरिएको थियो ।

‘प्रिभेलेन्स अफ कार्डियोभास्कुलर रिस्क फ्याक्टर इन अपरेन्ट्ली हेल्दी अर्वन एड्ल्ट पपुलेसन अफ काठमाडौं’’ शीर्षकमा उहाँले गर्नुभएको खोज अनुसन्धानलाई राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एन.एच.आर.सी.) ले सन् २०१८ मा ‘उत्कृष्ट अनुसन्धान अवार्ड’समेत प्रदान गरेको थियो ।

उक्त शिविरमा डा. ओम मूर्ति अनिलले शहरी क्षेत्रका युवामा मुटुरोगको जोखिमसम्बन्धी अनुसन्धान गर्नुभएको थियो । ‘प्रिभेलेन्स अफ कार्डियोभास्कुलर रिस्क फ्याक्टर इन अपरेन्ट्ली हेल्दी अर्वन एड्ल्ट पपुलेसन अफ काठमाडौं’’ शीर्षकमा उहाँले गर्नुभएको खोज अनुसन्धानलाई राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एन.एच.आर.सी.) ले सन् २०१८ मा ‘उत्कृष्ट अनुसन्धान अवार्ड’समेत प्रदान गरेको थियो ।

शिविरमा ‘एम फोर’ को उच्चतम् प्रयोग

‘एम फोर’ अर्थात् मनि, म्यानपावर, मेट्रियल र म्यानेजमेन्टको प्रयोग उक्त शिविरमा गहन तरिकाबाट भएको थियो । मैले कक्षा कोठामा पढेको ‘एम फोर’को कुरा त्यहाँ प्रत्यक्ष अनुभव गर्न पाएँ । यो सबैका लागि त्यति सहज हुँदैन । किनकी कतिपयसँग त्यस किसिमको स्रोत हुँदैन, कसैसँग सोच हुँदैन र कतिको मन हुँदैन । सबै कुराको व्यवस्थापन गर्नु चुनौतिपूर्ण नै छ ।

कामको चापका कारण हरेक दिन स्वयम् सेवक थकित हुन्थे । यद्यपि, शिविरको फिडब्याक र टिम लिडरको हौसलाका कारण पहिलो दिन साढे दुई सय जनालाई सेवा प्रवाह गर्दा थकित भएको जनशक्ति अन्तिम दिन १२ सय जनाभन्दा बढीलाई सेवा प्रवाह गर्दा पनि उत्तिकै ऊर्जाशील थिए ।

११ दिनसम्म जनशक्ति परिचालन चुनौतीपूर्ण कार्य थियो । शिविरको तयारीदेखि रिपोर्ट वितरणसम्म पुग्दा करिब डेढ महिना लागेको थियो । त्यसका निम्ति ठूलो जनशक्ति आवश्यक हुन्थ्यो । तर, जनशक्तिको समुचित परिचालनका कारण शुरूदेखि अन्त्यसम्म सोही जनशक्तिले नै काम सम्पन्न गरेका थिए । कामको चापका कारण हरेक दिन स्वयम् सेवक थकित हुन्थे । यद्यपि, शिविरको फिडब्याक र टिम लिडरको हौसलाका कारण पहिलो दिन साढे दुई सय जनालाई सेवा प्रवाह गर्दा थकित भएको जनशक्ति अन्तिम दिन १२ सय जनाभन्दा बढीलाई सेवा प्रवाह गर्दा पनि उत्तिकै ऊर्जाशील थिए ।

निस्वार्थ कडा परिश्रमको दूरगामी प्रतिफल

मुटुरोगको जोखिमसम्बन्धी कारण खोज्ने उद्देश्यले गरिएको उक्त शिविर सामूहिक प्रयासका कारण सम्भव भएको थियो । यसमा सबैको निस्वार्थ कडा परिश्रमले गर्दा स्वयम् सेवकहरू र मैले पनि दूरगामी लाभ प्राप्त गरेको अनुभूति गरेको छु । त्यो शिविर कुनै व्यावसायिक प्रयोजनका लागिभन्दा पनि विशुद्ध सामाजिक कार्य थियो ।

समाज सेवाको आनन्द

समाजको सेवाका निम्ति जो कसैले विशेष वा छुट्टै काम गर्न आवश्यक छैन । जसले जे जानेको छ, जुन कुरा आफूबाट सम्भव हुन्छ, त्यसबाटै गर्नुपर्छ भन्ने कुराको सन्देश यो शिविरले दिएको छ । हामी स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिले आफ्नो कामबाट पनि समाजमा थोरै योगदान दिन सक्छौं भन्ने शिविरबाट मलाई बोध भएको छ । त्यो क्षणलाई सम्झिँदा पनि अहिले पनि मन आनन्दित हुन्छ ।

नेतृत्वबाट प्रेरणा

समाजमा योगदान पु¥याउनका निम्ति तन, मन र धनको सबैको आवश्यकता हुन्छ । त्यो शिविरमा तीनवटै पक्षको भरपूर उपयोग भएको थियो । भारतको एम्सबाट डि.एम. कार्डियोलोजी सकेर मनमोहन कार्डियाक सेन्टरमा काम गर्न थालेको केही वर्षभित्रै अनुसन्धानको कमि महशुस गरेर यो अनुसन्धानमा डा. ओम मूर्ति अनिलले आफ्नो कमाईको ठूलो हिस्सा लगानी गर्नु भएको थियो । त्यसका लागि उहाँले आफू कार्यरत अस्पताल र क्लिनिकमा बिदा लिई शिविर सञ्चालन गर्नका प्रतिबद्ध हुनुहुन्थ्यो । त्यसमा उहाँलाई अन्य सहयोगी हातहरू पनि त्यति नै अग्रसर थिए । त्यो प्रत्यक्ष देखेर पनि होला हामी स्वयम् सेवकहरूमा थप ऊर्जा र प्ररेणा प्राप्त भएको थियो । तसर्थ, त्यहाँ सबैले आफ्नो शतप्रतिशत ‘इफोर्ट’ लगाएका थिए ।

असम्भव लक्ष्यको प्राप्ति

निश्चय पनि विश्वको सबैभन्दा ठूलो र बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्नु एक्लो प्रयासले मात्रै सम्भव थिएन । दुई सय जनाभन्दा बढी स्वयम् सेवकको प्रयासका कारण एकै ठाउँमा एकैपटक मुटु जाँच, अनुसन्धान र सचेतनाको काम सफल भएको थियो । मैले इन्टरनेटमा सर्च गर्दा एकैपटक ५ हजार ६ सय जनालाई सहभागी गराइएको यति बृहत् शिविर विश्वमा अहिलेसम्म विश्वमा कतै भएको भेट्टाएको छैन ।

सहभागीको प्रतिक्रिया

स्वास्थ्य जाँच सकिएपछि हरेक सहभागीसँग शिविरका बारेमा ‘फिड ब्याक’ लिइएको थियो । रोचक कुरा त के छ भने ‘फिड ब्याक रजिस्टर्ड’ अध्ययन गर्दा एक जना पनि सहभागीले असन्तुष्टि व्यक्त गरेको पाइएन ।

एक दशकपछि किन चर्चा ?

शिविरको अनुसन्धनात्मक परिणाम आएपश्चात् डा. ओम मूर्ति अनिलले शंका गर्नु भएजस्तै शहरी युवामा मुटुरोगको जोखिमको अवस्था उच्च देखिएको थियो । अहिले आएर मुटुरोगीको संख्या बढेको देख्दा त्यो अनुसन्धानको परिणाम सत्य सावित भएजस्तो लाग्छ ।

शिविर मेरो कक्षा कोठा

उक्त शिविरमा मेरो सहभागिता एउटा स्वयम्सेवी स्वास्थ्यकर्मीका रूपमा भएको थियो । तर, प्रकारन्तरले त्यो शिविर मेरो करिअरका लागि बृहत् कक्षा कोठा वा शिक्षालय बन्न पुग्यो । सँगसँगै करिअरको ‘टर्निङ प्वाइन्ट’ पनि भयो ।

आज १० वर्षपछि पनि त्यो शिविर मजस्ता सयौं विद्यार्थीका निम्ति प्रयोगात्मक सिकाईको बलियो आधार रहेछ भन्ने महशुस हुन्छ । शिविरमा सहभागीको केही समयपछि मैले जागिर सुरू गरे । त्यसपछिका हरेक दिन आज पर्यान्त शिविरको सिकाईबाट प्राप्त ज्ञान कुनै न कुनै माध्यमबाट मेरो काममा लागू हुँदै आएको छ ।

शिविरबाट मैले के सिके ?
निश्चय पनि सो शिविरमा एउटा स्वयम्सेवी विद्यार्थीका रूपमा म सहभागी थिएँ । तर, त्यसले मेरो क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्यो ।

बृहत् शिविर सञ्चालन गर्नका के चाहिन्छ ?

– आवश्यक पूर्वतयारी गर्नुपर्ने ।

– शिविरको लागत अनुमान र स्रोतको व्यवस्थापन गर्नुपर्ने ।

– जनशक्तिको उचित परिचालन गर्नुपर्ने ।

– भिड व्यवस्थापन तथा सहकर्मीबीच समन्वयन गर्नुपर्ने ।

– आवश्यक सामग्री व्यवस्थापन तथा र सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने ।

– तत्काल निर्णय गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने ।

– बहुउद्देश्यीय कार्यक्रम एउटै स्थानमा गर्न सम्भव हुन्छ ।

धेरैका निम्ति मेरो अनुभव र बुझाइ सामान्य लाग्न सक्छ । तर, एउटा आम मानिसका निम्ति एउटा सामान्य घटनाले पनि जीवनमा कसरी दीर्घकालीन प्रभाव पर्छ भन्ने एउटा घटना साझा गर्नका निम्ति पुरानो प्रसङ्गलाई कोट्याउने मेरो प्रयत्न हो ।

(लेखक, हाल हस्पिटल म्यानेजरका रूपमा कार्यरत छन् ।)

( शिविरको भिडियो लिङ्क)

प्रतिक्रिया दिनुहोस्