हिमपातले म्याग्दीका पर्यटकीय क्षेत्र सेताम्य, पर्यटन व्यवसायी उत्साहित



म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्रहरुमा हिमपात भएको छ । मौसम परिवर्तनसँगै हिजो (बुधवार) साँझ र राति जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात भएको स्थानीयवासीले बताएका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको उच्च क्षेत्रमा हिमपात भएको हो ।

म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य पुनहिल र घोरेपानी क्षेत्रमा दुई इन्चसम्म हिउँ जमेको इलाका प्रहरी कार्यालय घोरेपानीका प्रहरी सहायक निरीक्षक तारा बुढामगरले जानकारी दिए। घोरेपानी र पुनहिलसहित जिल्लाको पर्यटकीय क्षेत्रहरु महरेडाँडा, खोप्रालेक, फुलबारी, टोड्के, सोबाङ धुरी, ऋखार क्षेत्र, रुईसे, तथा गूर्जा, लुलाङ, मुदी, मल्कबाङ, कुईनेमङ्गलेलगायत उच्च र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

हिमपात भएपछि म्याग्दीका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । बुधवार दिउँसो वर्षासँगै हिमपात भएको टोड्के हिल रिसोर्ट प्रालिका असिस्टेन्ट म्यानेजर मेनुका थजालीले टेलिफोनमा बताइन् । लामो समयपछि माघको दोस्रो साता परेको हिमपातको कारणले पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्रमा हिउँ परेको हुँदा आन्तरिक पर्यटन चलायमान हुने पर्यटन व्यवसायी समेत रहेका म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले बताए ।

यसैबीच वर्षासँगै परेको हिमपातले किसानहरु समेत खुसी भएका छन् । लामो समय वर्षा र हिमपात नभएपछि किसानले लगाएको हिउँदे बालीमा सिँचाइको अभाव भएको थियो । हिमपातले हिउँदे बालीहरु गहुँ, जौ, ऊवा, तोरी, आलु, केराउलगायत तरकारी र खाद्यान्न बालीलाई राहत मिलेको छ । यो वर्षको पहिलो हिमपात भएकाले यसले हिउँदे खेतीबाली र किसानहरुलाई राहत भएको बेनी नगरपालिका–५, गाजनेका स्थानीय यामबहादुर बानियाँले बताए ।

हिउँदको सुख्खायाममा भएको हिमपातले हिउँदे बालीलाई मलजलको लागि पनि राम्रो हुने किसानहरुको अनुभव छ । वर्षासँगै हिमपात भएपछि म्याग्दीमा चिसो समेत बढेको छ । माघको दोस्रो साता सकिँदा पनि वर्षा र हिमपात नभएको अवस्थामा बुधवारको वर्षासँगैको हिमपातबाट किसानले राहत महसुस गरेका छन् । मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि वृद्धवृद्धा र बालबालिकालाई उच्च सतर्कता अपाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्