शुक्रराज ट्रपिकल अस्पताल ९० वर्षमा, योजना धेरै कार्यान्वयन चुनौतीपूर्ण

0
Shares

काठमाडौँ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९० औँ वार्षिक उत्सव कार्यक्रममा ३४ वर्ष सरकारी सेवामा बिताउनुभएका प्रमुख कन्सल्टेन्ट डा.विमल शर्मा चालिसेलाई सर्वोत्कृष्ट सम्मानबाट पुरस्कृत गरियो ।

चालिसेले आफूले पाएको नगद पुरस्कार आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका बिरामीको सेवामा समर्पित गर्दै अस्पताल प्रशासनलाई हस्तान्तरण गरे । उनको यो कार्यलाई सहभागीहरूले तालीद्वारा स्वागत गरेका थिए । कार्यक्रममा अस्पतालमा २५ वर्ष माथि सेवा गर्दै आएका स्वास्थ्यकर्मी, कर्मचारीहरूका साथ सेवा निवृत्त भएकाहरूलाई समेत सम्मान गरिएको थियो ।

९० वर्ष अघि स्थापना भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु नेपाल सरकारद्वारा सञ्चालित नितान्त सरुवा रोगमा लक्षित अस्पताल हो । २५ बेडबाट सुरु भएको अस्पताल हाल १ सय  बेडमा सञ्चालित भएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए । उनले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै टेकु अस्पताल कहिलेकहीँ ओझेलमा परे पनि सरुवा रोगको महामारी फैलने क्रममा उपचार सेवा दिने अब्बल अस्पतालका रूपमा स्थापित भएको छ । सरुवा रोगको उपचारमा सधैँ एकदम अगाडि छ ।

यति मात्र नभै कोरोना महामारीमा उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालको रूपमा कहिलिएको थियो । तर जनशक्ति र बेडको कमीका कारण सोचे जति काम गर्न सकिएको छैन । १ सय ६७ दरबन्दीमा ६३ रिक्तछ । अस्पतालले स्तरबृद्धि गरी ३ सय बेड बनाउने योजना बनाई ७१ जना अस्थायी स्वास्थ्यकर्मी नियुक्त गरी काम अघि बढाएको छ । हालको क्षमतामा वर्षमा १ लाख ६ सय १९ जनालाई सेवा दिएको जानकारी गराए । बसौलाले आगामी वर्षको योजनामा अस्पताल विस्तार, सुधार, सेवा प्रवाह, जनशक्ति थप, फोहोर मैला निर्मलीकरण, खानेपानीको व्यवस्थापन, समय सापेक्ष स्तरोन्नति गर्नुपर्ने विषयमा जोड दिए ।

स्थान अभावको विषयमा उनले टेकु अस्पतालका नाममा ७० रोपनी जग्गा छ तर अस्पतालले १६ रोपनी भोग चलन गरेको छ बाँकी सबै स्वास्थ्य सेवा विभागका विभिन्न कार्यालयहरूले भोग चलन गरेको बताए । गत वर्ष अस्पतालको १६ करोड आम्दानी १४ करोड खर्च १ करोड बचत र १ करोड बेरुजु लेखा समितिले देखाएको प्रतिवेदन प्रस्तुतिमा जानकारी गराए ।


बुधवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९० औँ वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बिना तथ्य र बिना आधारका विषयमा लामो भाषण दिए । उनले नेपालमा मेडिकलका विषय पढ्न नपाएकै कारण धेरै युवाहरू मानसिक रोगी भएको बताए ।

उनले प्रमाण बिनाका विषयलाई पुस्ट्याइँ गर्दै हरेक दिन स्वास्थ्य मन्त्रालयमा मेडिकल विषयमा ८२ प्रतिशत अङ्क ल्याएर मेडिकल शिक्षा नपाएर मानसिक समस्या भएका विद्यार्थीलाई अभिभावकले ल्याउने गरेको तर्क दिँदै उनले भने–मेडिकल शिक्षा दिन सके नेपालमा ७५ प्रतिशत मानसिक रोगी घट्छन् ।

उनले स्वास्थ्य क्षेत्रमा गरिएका अध्ययन अनुसन्धानमा १० प्रतिशत मानसिक समस्या देखाएको भएपनि आफूले नमान्ने बताए । नेपालमा भारतीय मेडिकलका विद्यार्थी भित्र्याएर अरबौँको आम्दानी गर्ने योजना सहित मेडिकल शिक्षामा लगानी गर्न राज्यलाई तयारी बनाएको उनकाे  जिकिर छ । कार्यक्रममा टेकु अस्पतालका प्रमुख अस्पताल नर्सिङ प्रशासक सह प्रा. रोशनी लक्ष्मी तुइँतुइँ लगायतका वक्ताहरूले अस्पतालको वृद्धि विकासका बारेमा बोलेका थिए ।