ओखलढुंगा र सोलुखुम्बुका भेडीगोठ उदयपुरमा



उदयपुर ।

ओखलढुंगा र सोलुखुम्बुको हिमाली भेगमा हिउँ परेर अत्यधिक चिसो बढ्दा भेडीगोठ उदयपुरमा ल्याइएको छ।

महाभारत शृंखलामा पर्ने विभिन्न्न स्थानमा राखिएका भेडीगोठहरु यस वर्ष मात्र होइन विगतका वर्षहरुमा पनि ल्याउने गरिएको थियो।

चिसोबाट भेडालाई जोगाउन कम चिसो हुने र अलि न्यानो हुने ठाउँमा भेडीगोठ सार्ने चलन छ। यस वर्ष पनि भेडीगोठ उदयपुरको विभिन्न स्थानमा रहेका वनमा गोठ बनाएर राखिएको हो।

हिउँ परेका समयमा हिमाली भेगमा भेडालाई चरन अभाव हुने र चिसो पनि धेरै हुने भएकाले भेडीगोठ महाभारत शृंखलाका वनमा चरीचरनका लागि झार्ने गरिन्छ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ रुम्जाटार भेडापालनका लागि प्रख्यात ठाउँ हो । यहाँ अधिकांश गुरुङ जातिको बसोबास छ। रुम्जाटारका भेडापालकले भेडीगोठ जाडोको समयमा उदयपुर ल्याएर करिब चार महिनासम्म राख्ने गरेका छन्।

रुम्जाटारका भेडीगोठे चन्द्रबहादुर गुरुङका अनुसार रौतामाईको नामेटार, भालेबास, माझखर्क, रमिते, ताप्ली गाउँपालिकाको नागी, आपटार, ओख्ले, उदयपुरगढीको तावाश्रीमा भेडीगोठ राख्ने गरिएको छ।

यसै गरी, कटारी नगरपालिकाको लेखानी, हर्देनी, सिरिसे तथा लिम्चुङबुङ गाउँपालिकाको विभिन्न सामुदायिक वनमा र व्यक्तिको खाली जग्गामा मलका लागि पनि भेडा राख्न दिने गरेको उहाँको भनाइ छ।

यस्तै, अर्का भेडीगोठ सञ्चालक दुर्गाबहादुर गुरुङसँग ७ सय भेडा रहेको छ । जाडो महिनाभर उदयपुरको विभिन्न क्षेत्रका वनमा चरनका लागि भेडीगोठ राख्ने गरेको उहाँ बताउनुहुन्छ। सामुदायिक वनभित्र गोठ राख्दा चर्को शुल्क तिर्नुपरेको दुर्गाको गुनासो छ।

चन्द्रबहादुर गुरुङले भेडीगोठमा पाएका पाठापाठी केही यतै त केही रुम्जाटारमै लगेर बिक्री गर्ने गर्नुभएको छ। उब्जनीका लागि भेडाको मल राम्रो हुने भएकाले कतिपयले पाखा बारीमा पनि गोठ राख्न दिने गरेका छन्।

बारीमा राख्न पाइएन भने सामुदायिक वनतिर शुल्क तिरेर वा पालिकाले तोकेको राजस्व तिरेर खर्क बनाएर राख्ने गरेको चन्द्र बताउनुहुन्छ।

भेडी ब्याएमा दूध दुहेर आफैं खाने र कतिपय गाउँलेले लैजाने गरेका छन् । कतिपयले आफैंले जमाएर घ्यू बनाउने गरेका छन्। भेडाको घ्यू गाई–भैंसीको भन्दा महँगोमा बिक्री हुने गरेको भेडीगोठ सञ्चालक दुर्गाबहादुर बताउनुहुन्छ।

पहिलेको तुलनामा अहिले भेडापालन धेरै घटेको उहाँको कथन छ। चरनको समस्या, सुरक्षाका कारण र काम गर्ने मानिस नपाउँदा पनि भेडापालन व्यवसाय संकटमा परेको हो।

सामुदायिक वनले ५ हजारसम्म शुल्क लिने गरेको छ। चरन क्षेत्र विगतको तुलनामा ज्यादै कम छ। वन विनाशको क्रम बढेका कारण चरन क्षेत्र घटेको हो।

यस वर्ष दुई जिल्लाका करिब ३२ सय भेडा चरनका लागि उदयपुरका विभिन्न ठाउँमा ल्याएको दुर्गाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्