डोल्फु नाम्लाङ्ला खोला क्षेत्रमा तामाखानी, उत्खनन गर्न स्थानीयको माग



मुगु ।

मुगुमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फु नाम्लाङ्ला खोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न स्थानीयले सरकारसँग माग गरेका छन्।

संघीयता लागू भएपछि उक्त तामाखानीले मान्यता पाउने र उत्खनन हुने आशा भए पनि संघीय सरकारले यसबारे पहल गरेको छैन।

मुगुमकार्मारोङ गाउँपालिकाको १, डोल्फू गाउँदेखि ५ घण्टा टाढा नाम्लाङ खोला क्षेत्रको पालाङ्जे, इटिङ र थोङवा भन्ने स्थानमा गरी तीन ठाउँमा तामाखानी छ।

यो कर्णाली नदीदेखि करिब ३ हजार मिटर उचाइमा पर्छ। गत वर्ष झोलुंगे पुल क्षेत्र विकास समितिले तामाखानी जाने डोल्फु कर्णाली नदीमा पुल बनाएपछि आउ–जाउमा पनि सहज भएको छ।

पहिले स्थानीय बासिन्दाले काठे पुलबाटै आउ–जाउ गर्थे। ‘हाम्रो तामाखानी उत्खननमा प्रदेश र संघीय सरकारले चासो दिएन,’ गाउँपालिका उपाध्यक्ष छिरिङ फुटिक लामा भन्नुहुन्छ– ‘खानी नै नभएको ठाउँमा सरकारको ध्यान जान्छ। यहाँको तामाखानीमा सरकारको आँखा परेन।’ नाम्लाङखोला क्षेत्रमा जताततै तामाखानी छ।

पहिले यहाँका ५५ घरधुरीले खानीबाट तामाका डल्ला निकालेर विभिन्न भाडाका सामग्री बनाएर बेच्ने गरेको उहाँको भनाइ छ। भारतको अल्मोडाको तामाभन्दा यहाँको उत्कृष्ट देखिएको स्थानीय बताउँछन्।

सन् १९७५ देखि सरकारले डोल्फुको तामाखानी उत्खननमा प्रतिबन्ध लगाएको स्थानीय बताउँछन्। गाउँपालिकाले पनि खानी अन्वेषण गरी उत्खननका लागि खानी तथा भू–गर्भ विभागमा लिखित तथा मौखिम रूपमा आग्रह गर्दै आएको जनाएको छ।

माघ ३ गते गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलाई भेटेर लिखित रूपमा खानी अन्वेषण गरी उत्खननको माग गरेको अध्यक्ष लामा बताउनुहुन्छ।

घिमिरेले पनि यहाँको तामाखानी अन्वेषणका लागि आगामी चालू आवमा बजेट व्यवस्था गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्