आफ्नै सदस्यको उजुरीपछि बोर्डलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण



काठमाडौं ।

बेलायतमा आयोजना हुन लागेको एक कार्यक्रममा चलचित्र विकास बोर्डको सहभागिता रोक्न बोर्डकै सदस्यले मन्त्रालय गुहारेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डलाई स्पष्टीकरण सोधेको छ।

उक्त कार्यक्रममा बोर्डको सदस्यता रोक्न निर्देशनको माग गर्दै बोर्डकै सदस्य तथा प्रवक्ता केएल बुढाथोकीले गत शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका थिए।

उजुरीमा बुढाथोकीले इन्टरनेसनल डेल्फिक काउन्सिल नेपाल नामक संस्थाले लन्डनमा नेपाली चलचित्रको ६ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी नामक कार्यक्रम गर्न लागेको जनाउँदै सो संस्थाकोे आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन्।

पत्रमा आयोजक संस्थाले नेपाली फिल्म क्षेत्रको प्रर्वद्धनको नाममा केही कलाकारसँग बेलायतको भिसा लागेमा प्रति व्यक्ति एक हजार युरो (करिब एक लाख ४४ हजार रुपियाँ) बुझाउनुपर्ने र कार्यक्रममा सहभागी हुँदाको सम्पूर्ण खर्च आफैँले व्यहोर्नुपर्ने र केही व्यक्तिसँग भने केही रकम अग्रिम लिएको दाबी गर्दै आफूसँग त्यसको प्रमाणसमेत भएको उल्लेख गरेका थिए।

उजुरीमा उनले बोडर्का अध्यक्ष भुवन केसी र अन्य पदाधिकारीको सहभागिता रोक्नसमेत माग गरेका थिए। बुढाथोकीको उजुरीपछि मन्त्रालयले विकास बोर्डलाई आइतबार पत्र लेख्दै यसबारे भएको के हो खुलाएर जवाफ दिन भनेको छ।

मन्त्रालयका सह–प्रवक्ता तथा बोर्डका पूर्व सदस्य–सचिव विशाल सापकोटाका अनुसार मन्त्रालयले यसबारे स्पष्ट पारिदिनु भन्दै बोर्डलाई पत्र लेखेको हो। आयोजक डेल्फिक काउन्सिलले भने बोर्ड प्रवक्ता बुढाथोकीको आरोपको खण्डन गरेको छ।

यसैबीच, चलचित्र विकास बोर्डको नयाँ सदस्य सचिवमा राजेशकुमार थापा नियुक्त भएका छन्। यसअघि, कानुन मन्त्रालयका उपसचिव रहेका थापाले सोमबारबाट बोर्डको कार्यभार सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्