६ महिनामा ७ खर्बको व्यापार घाटा, आयात निर्यात दुवै घट्यो



काठमाडौं ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारलाई करिब ७ खर्ब रुपियाँ बराबर व्यापार घाटा भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार पुस मसान्तसम्ममा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपियाँ व्यापार घाटा भएको हो।

नेपालले ६ महिनामा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपियाँको वैदेशिक व्यापार गर्दा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजारको आयात तथा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपियाँको मात्रै निर्यात गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३ दशमलव शून्य ९ र निर्यात ७ दशमलव २३ प्रतिशतले घटेको छ। विभागका अनुसार नेपालललाई सबैभन्दा धेरै भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा छ।

भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाखको आयात गर्दा जम्मा ५० अर्ब ४४ करोड २२ लाख रुपियाँको मात्रै निर्यात भएको छ।

त्यस्तै, चीनसँग १ खर्ब ४५ अर्ब ७९ करोड १ लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोड, युक्रेनसँग ९ अर्ब ९६ करोड र मलेसियासँग ८ अर्ब ६० करोडको व्यापार घाटा छ।

तर, अमेरिकाबाट ७ अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात गर्दा ८ अर्ब ३३ करोड ९९ लाख ६७ हजार बराबरको निर्यात गरेको छ। अर्थात् ७० करोड ३६ लाखको व्यापार नाफा भएको छ।

समग्र चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २ खर्ब ९ अर्ब रुपियाँ भन्सार राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ९३ करोड रुपियाँ बढी हो।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब ८८ अर्ब १६ करोड रुपियाँ भन्सार राजस्व संकलन भएको विभागले जनाएको छ।

विभागका अनुसार ६ महिनाको अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ। पुस मसान्तसम्म ६६ अर्ब ४९ करोड ११ लाख बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको छ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा पौने २ अर्ब रुपियाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । पुस मसान्तसम्म १ अर्ब ७६ करोड ३३ लाख रुपियाँको सिमेन्ट र क्लिंकर निर्यात भएको हो।

गत आर्थिक वर्षमा ७७ करोड ९३ लाख रुपियाँको निर्यात भएको थियो । सिमेन्ट र क्लिकंर १६ लाख ७२ हजार ३६८ टन निर्यात भएको तथ्यांक छ।

त्यस्तै, चालू आवको ६ महिनाको अवधिमा १३ अर्ब १२ करोड रुपियाँका ५ हजार २ सय ७९ वटा विद्युतीय सवारी साधान आयात भएका छन्।

गत आवको सोही अवधिमा १ अर्ब ९२ करोड रुपियाँ बराबरको १ हजार ७४९ वटा विद्युतीय कार, जिप, भ्यान आयात भएका थिए। विद्युतीय सवारी आयातसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ।

चालू आर्थिक वर्षमा ५ अर्ब ७९ करोड राजस्व संकलन भएको छ। गत आवको पहिलो ६ महिनामा १ अर्ब ३९ करोड राजस्व उठेको थियो।

यसैबीच, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसके पनि तस्करको जालो भत्काउन विभाग केही हदसम्म सफल भएको दाबी गर्नुभएको पत्रकारहरूसँग आइतबार छलफल गर्दै उहाँले अपर्याप्त जनशक्ति तथा प्राविधिक क्षमताको अभाव, कर्मचारीको मिलेमतो, अन्तर निकाय समन्वय अभावलगायतका समस्या रहेको बताउनुभएको छ।

खुला सीमा पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै समग्रमा आर्थिक क्रियाकलाप खुम्चिँदा र व्यापार साघुरिँदा भन्सार राजस्व घटेको उहाँको भनाइ छ।

त्यस्तै, विभागले अन्तर्राष्ट्रिय भन्सार दिवस साताव्यापी रूपमा मनाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्