नेपाली सेनाको फोटो प्रदर्शनी हुने



काठमाडौं ।

नेपाली सेनाले सेना दिवसका अवसरमा भोलि मंगलबारदेखि आगामी शनिबारसम्म नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ।

जंगी अड्डमा हुने प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणको प्रदर्शनी गरिनेछ।

यसका साथै प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, कला, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्री प्रदर्शनी गरिने नेपाली सेनाले जानकारी गराएको छ।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्