अयोध्यामा राम राम, ओझेलमा वाल्मीकि आश्रम



नवलपरासी।

माघ ८ अर्थात् जनवरी २२ काे सेराेफेराे भारत स्थित अयोध्या नगर रामललाकाे जय जयकारले गुन्जी रहँदा लवकुसकाे जन्म थलाे वाल्मीकि आश्रम भने धुम्म ओझेलमा परेकाे छ ।

नेपालकाे बाग्मती प्रदेश माडी नगरपालिका १ मा अवस्थित वाल्मीकि आश्रममा शुक्रवार पूर्वी नवलपरासीका संचारकर्मीहरूकाे टोली पुग्दा भारतीय केही तीर्थयात्री बाहेक कोही देखिएनन् ।

यहाँकाे बाक्लो हुस्सुलाई छिचोल्दै अपराह्न १२ बजे तिर देखिएको घामकाे मधुराे प्रकाशमा सीता पातल प्रवेश स्थल नजिकै टुक्रुक्क उभिएका थिए पुजारी केशर सुवेदी ।नजिकका फूल प्रसाद  दोकानका व्यापारीहरू पनि तीर्थालुकाे चहल पहलमा कमी रहँदा घरधन्दामै व्यस्त देखिन्थे ।

रामायणमा वर्णित वाल्मीकि क्षेत्र मुलुकको तिनै तहका सरकारकाे नजरबाट सबै  प्रकारले ओझेल परेकाे पुजारी सुबेदीले बताए ।
एक्काईसाैं सताव्दिकाे आधुनिक युगमा हिमाली चुचुरा र गहिरा गल्छीमा सञ्चार सुविधा पुगिरहँदा यहाँ भने दूर सञ्चारको नेटवर्कले कामै गर्दैन ।
बिद्युुत लाइनको अभावमा मन्दिर, सशस्त्र सुरक्षा पोस्ट र स्थानीयका घरहरू टुकीकै भरमा रहेका छन् ।

सामान्य शौचालय र खाने पानीका न्यूनतम धारा भने सम्बन्धित र छिमेकी वडाले व्यवस्थापन गरिदिएको स्थानीयहरू बताउँछन् ।

आश्रममा प्राचीन मन्दिर सीता पातल प्रवेश गुफा  बाहेक लवकुस जन्म स्थल, अश्वमेध घोडा बाधिएकाे ढुङ्गे खम्बा, सीता कुवा, बिष्णुचक्र लगायतका पुरातात्त्विक बस्तुकाे संरक्षण भगवान् भराेसामै चलेका छन् ।

संरक्षणकाे अभावमा सिता कुवामा प्लास्टिकका बोतल झरेका छन्, चौरासी हजार ऋषिमुनिले यज्ञ गरेको मण्डप, प्राचीन प्रस्तरका गेट,  चुला, सिलौटा, ढुङ्गे घडा निरन्तर खिइँदै र टुक्रिँदै गएका छन् ।
धर्मावलम्बीको भगवत् आस्था र पुरातात्त्विक महत्त्वले वाल्मीकि आश्रम जेनतेन चलिरहे पनि यसकाे विकास र संरक्षण प्रयासमा राज्य गम्भीर नरहेको तीर्थ यात्रीहरू बताउँछन् ।

वाल्मीकि आश्रम क्षेत्रको विकास नहुनुमा यहाँ सम्म आइपुग्न पहुचमार्गकाे अभाव देखाउने गरिन्छ ।भारतीय क्षेत्र हुँदै निर्माण सामाग्री लैजान आदेश परमादेशकाे झन्झट, त्यसमाथि वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जको कडा सुरक्षा व्यवस्था कारक रहेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

तीर्थयात्रीहरू वाल्मीकि आश्रम दर्शन गर्न भारतीय भूमि या नेपाल तर्फबाट डुङ्गा चढी पैदलै पनि जाने गर्दछन् । श्रद्धालुले वाल्मीकि आश्रम पुग्दा भारतीय चेकपोस्टकाे केरकार  या डुङ्गाकाे जाेखिमसहित जङ्गलभित्रको पैदलयात्राका दुई विकल्पमा एक रोज्नै पर्दछ ।

नेपाल तर्फबाट वाल्मीकि आश्रम जान नारायणी नदीमाथि झोलुङ्गे पुल एक वर्ष अघिनै बने पनि राेड ट्र्याक र प्रवेश अनुमतिको अभावमा संचालहुन सकेकाे छैन।
वाल्मीकि आश्रम एवं तपा भूमि मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पूर्व निर्वाचन क्षेत्र तथा गृह जिल्ला चितवनमा पर्दछ ।

माघ आठमा वाल्मीकि आश्रममा दीपावली

राम जन्मभूमि भारतको अयोध्यामा माघ ८ तदनुसार जनवरी २२ तारिखमा मर्यादा पुरुषोत्तम भगवान्  रामको प्राण प्रतिष्ठा भई रहँदा नेपालका मठ मन्दिरमा दीपावली हुने भएको छ । भगवान् रामचन्द्र माता सीताका पुत्रद्वय लवकुशकाे जन्मस्थल वाल्मीकि आश्रममा दीपावली हुने भएको हो  ।

विश्व सनातन धर्म स्थापनार्थ उप समितिकाे आयाेजनामा साेमबार दीप प्रज्वलन गरिने स्थानीय विश्वम्भर शाहले बताए ।

अपराह्न १२ बजे सुरूहुने दीप प्रज्पलन समाराेहमा नेपाल भारत दुवै देशका  धर्मानुरागीहरूकाे उपस्थिति रहने जनाइएको छ ।

यस्तै  अयोध्यामा भगवान् रामको विश्वस्तरमै प्राण प्रतिष्ठा भइरहँदा  भारतसँग सीमा जोडिएका कतिपय स्थानीय गाउँ, नगर र वडाहरूमा सोमबारका दिन दीपावली गरिने हुँदा स्थानीय क्षेत्रमा  पशुपन्छीको वध नगर्न सार्वजनिक अपिल गरेका छन् ।

पश्चिम नवलपरासीकाे त्रिवेणी सुस्ता,प्रतापपुर,सरावल,  पाल्हिनन्दन लगायतका स्थानीय निकायले सो अपिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्