काठमाडौं ।
पानी जीवनको आधारभूत र अपरिहार्य पदार्थ हो । पानी बिना मानवको अस्तित्त्व कल्पना गर्न सकिँदैन। काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा पर्याप्त पानीको स्रोतको कमी र बसाइँसराइका कारण पिउने पानीको समस्या बिकराल हुँदै गइरहेको छ।
तारकेश्वर नगरपालिका काठमाडौं उपत्यका खानेपानी लिमटेडको पानी पोखरी महाराजगञ्ज शाखाको कार्य क्षेत्रभित्र पर्दछ। यस पालिकाका बासिन्दा रित्तो गाग्री सिरानीमा हालेर मेलम्चीको सपना देख्नुपर्ने अवस्थामा छन्।
पालिकाको सघन जनघनत्व भएका चारओटा वडा आठ, नौ, दश र एघारमा खानेपानीको भयावह संकट देखिएको हो । समस्या अन्य वडामा पनि उस्तै छ । चार र पाँच नम्बर वडामासमेत खानेपानीको चरम अभाव छ।
कतिपय मानिसहरू शुद्ध खानेपानीको अभावमा विभिन्न किसिमका रोगहरूले ग्रसित हुने गरेका स्थानीयको भनाइ छ। मेलम्चीको पानी आएर पानी पिउन पाइने र पानीका कारण बिरामी हुन नपर्ने आशा गरेर बसेका वडानम्बर आठका दिपेन्द्र ढकाल भन्नुहुन्छ, ‘मेलम्चीको पानी त हाम्रा लागि आकाशको फल आँखा तरी मर सरह हुने भो। हेरेरै चित्त बुझाउनु पर्ने।’
समतल सतहमा मात्रै पानी आउने र माथिल्लो पहाडी उचाइमा पानी नचढ्ने भएकाले उहाँले यस्तो भन्नु भएको हो। उहाँको घर उकालोमा पर्दछ। वडा नम्बर नौका विपिन महर्जनको भनाइ पनि उस्तै छ।
उहाँ भन्नुहुन्छ – ‘शुद्ध खानेपानीको अभावको कारण जन्डिस, हैजाजस्ता पानीजन्य रोगहरूबाट ठूलो जनसङ्ख्या प्रभावित भइरहेको छ, यसतर्फ कसैको ध्यान गएको छैन। काठमाडौं क्षेत्रमा खानेपानी खुवाउने जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको हो। नगरपालिकासमेत कुनै कुनै रूपमा खानेपानी व्यवस्थापनमा संलग्न हुन्छ । तर, हाम्रा समस्या ज्युँका त्युँ छन्।’
वडा नम्बर चार गोलढुङ्गाका बासिन्दा शम्भू पुडासैनीको दुःख भने बेग्लै छ । ‘पहिले पाहिले त पन्ध्र दिनको एकचोटि पानी आउँथ्यो । अहिले त पानी आउँदै आउँदैन । खानेपानीको सम्पर्क कार्यालय बालाजुमा धाउँदा धाउँदा जुत्ता फाटिसके।’ कार्यालयका कर्मचारी केही उपाय नभएको विवसता दर्शाउँछन्। विकल्प खोज्नतिर लाग्न सुझाउँछन्। विकल्प ट्ङ्याकर र जारको पानी हो। त्यो झन् जोखिमपूर्ण छ । ट्याङ्कर र जारको पानी सफा र सुरक्षित त छैन नै मूल्यसमेतमा मनोमानी छ । तेही पनि चाहिएको बेलामा पाइने पनि होइन।
पालिकाको खानेपानीको मूल स्रोत शिवपुरी जङ्गलको मुहान नै हो। मेलाम्चीको पानी यस पालिकाको उचो भागमा उक्लिन नसक्ने हुँदा मेलाम्चीको पानी सबैको पहुँचमा नपुग्ने भएकाले पहुँच नहुनेले अरूले प्रयोग गरेको हेरेर बस्नुपर्ने अवस्था छ। तर, पालिकाभित्रको मुहानको उचित मर्मतसम्भार र रेखदेख नहुँदा पानीको व्यवस्थापनमा समस्या सिर्जना हुँदै गएको छ।
कतिपय उपभोक्ता त वितरण शैलीमै सहमत छैनन। उनीहरूको भनाइमा पहुँचको भरमा जथाभावी धारा वितरण गरिनाले पानी प्रवाहमा समस्या रहेको बताउँछन्।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आठ स्थानमा खानेपानीको लागि बोरिङ सञ्चालन गरे पनि हाल चारओटाबाट मात्रै पानी निकालिएको छ। चारओटा बिग्रेर थन्किएका छन्। शिवपुरी जङ्गलको मुहानबाट खानेपानी ल्याइएको पानीका पाइपहरू राणाकालीन पाइप हुन्।
पाँच इन्ची पेरिमिटरका पाइपहरू ठाउँ–ठाउँमा फुटेर चुहिने हुँदा मुहानको सबै पानी प्रवाह हुन सक्दैन। वडा नम्बर एघारकी उपभोक्ता धनकुमारी तामाङ भन्नुहुन्छ, ‘राणाकालीन पाइपहरू सयौं वर्ष हुँदासमेत फेरिएका छैनन् । उचित किसिमले मर्मत गरिएको छैन। कमसे कम पाइप मर्मत गरी वा पाइप फेर्न नसक्दा पनि पानी वितरणमा सुधार ल्याउन सकिने थियो यो हुन सकेको छैन ।’
महाराजगञ्ज शाखा कार्यालयका कार्यालय प्रमुख मनिश ढुङ्गाना भन्छन् – ‘हालसालै पानीको मुहानस्थल शिवपुरी विष्णुमतीको निरीक्षण गरिएको छ । पानीको स्रोत वृद्धि गर्न सकिने विकल्पका बारेमा छलफल गरिएको छ । मुहान सरसफाइ गर्ने, अनावश्यक रूपमा खेर गएको पानीलाई मूलप्रवाहमा जोड्ने काम अगाडि बढेको छ।’
त्यसै गरी कार्यालय प्रमुख ढुङ्गाना भन्छन् ‘समयमा नै स्वीकृत बजेट प्राप्त नहुँदा बिग्रेका बोरिङहरूको मर्मत गर्न सकिएको छैन । बोरिङ मर्मतका लागि मेकानिकल शाखा सुन्दरीघाटमा लेखापढी भइसकेकोले अब शीघ्र नै मर्मतको काम सम्पन्न हुने छ।
सयौं वर्ष पुराना पाइपहरू परिवर्तन गर्ने विषय चाहिँ दीर्घकालीन विषय भएकाले यसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दीर्घकालीन योजना बनाएरै अगाडि बढ्नु पर्दछ।
नगरपालिकाका प्रवक्त राधाकृष्ण खड्कीको भनाइमा नगरपालिकाभित्र खानेपानीको धेरै कठिनाइ छैन। उहाँ भन्नुहुन्छ पुरानो बासिन्दाको बसोबास भएको बस्तीहरूमा परम्परागत इनार, धाराहरूको पुरानो व्यवस्थाले ठूलो समस्या छैन। तर, सानो सानो टुक्रा जमिनमा घर बनाउँदा खानेपानीको ट्याङ्कीहरू बनाउन जमिन नहुने र पानी संकलन गर्ने विकल्प नहुदा नयाँ बस्तीमा खानेपानीको समस्या देखापरेको छ । यसतर्फ पालिकाले दीर्घकालीन योजाना बनाएर अगाडि बढ्ने सोचाइ राखेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको समन्यवमा नयाँ मुहानको खोजी गर्ने, भइरहेका मुहानहरूको संरक्षण गर्ने, वर्षे पानीको संकलन र वितरणमा योजनाबद्ध किसिमले कार्य अगाडि बढाउने गरी नगरपालिकाले योजना गरिरहेको उहाँले बताउनुभयो।
खानेपानीको समस्या कुनै निश्चित स्थान विशेषको समस्या हैन । यो समग्र काठमाडौंकै साझा समस्याको रूपमा रहेको छ। अझ यसलाई पूरै देशको साझा समस्याको रूपमा रहेको छ। तारकेश्वर नगरपालिकाको खानेपानी तत्कालीन र दीर्घकालीन समस्याको समाधान गर्न बिग्रेका बोरिङ मेसिनहरूको मर्मतसम्भार गर्नुपर्दछ।
खानेपानीको मुहान सरसफाइ गर्ने तथा यथासमयमा मर्मत सम्भार गर्ने मात्रै नभएर मुहान सुरक्षाको निमित्त स्थायी प्रबन्ध मिलाउँदा पनि केही न केही पानीको समाधान हुने थियो। पाइप लाइनको सुरक्षा व्यवस्था हुन नसक्दा जथाभावी पाइप छेडेर पानी चोरी गर्ने कार्यलाई कडाइकासाथ नियन्त्रण गर्ने र गैरकानुनी रूपमा प्रयोग गरिएका धाराहरू व्यवस्थापन गर्ने गर्नुपर्दछ।
मिटर नराखी जोडिएका धाराको अनुगमन गरी नियनत्रण गर्ने, धारा खोपेको ठाउँबाटै पाइप जोडेर बिजुलीले पानी तानिदिने कार्य रोक्नु पर्दछ। पिउने पानी मान्छेको गाँस, बास, कपाससँगै लिनैपर्ने आधारभूत आवश्यकतामध्ये एक हो। यस विषयमा जनसाधारणलाई सचेत गराई पानी संरक्षणमा सहयोगी बनाउनु पर्दछ।
समग्र पानी वितरण प्रणालीलाई वैज्ञानिक र अनुमान योग्य बनाउने जस्ता मूलभूत विषयतिर केन्द्रित हुन सकेमा तारकेश्वर नगरपालिका वरपरका क्षेत्रमा खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने थियो।
(प्रशिक्षार्थी)
प्रतिक्रिया