रसुवागढी जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा



 रसुवा ।

निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा पुगेको छ। शक्रबारदेखि पानी भरेर परीक्षण सुरू गरिएको आयोजनाको बाँधस्थलको परीक्षणपश्चात् सुरुङका विभिन्न संरचनाहरूको चरणबद्व रूपमा परीक्षण गर्ने कार्यतालिका रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत छवि गैह्रेले जानकारी दिनुभयो।

उहाँका अनुसार बालुवा थिग्राउन, पोखरी सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण सुरु गर्ने तयारी रहेको छ।

साथै, सुरुङको १४६ मिटर अत्यन्त कमजोर भौगर्भिक अवस्था तथा भूमिगत विद्युत् गृहमा जडानको तयारीमा रहेको इलेक्ट्रोमेकानिकल उपकरणहरू डुबानमा परेको कारण सबै क्षेत्रको कार्य प्रगतिमा असर परेकोले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ।

कम्पनीको नयाँ तालिकाअनुसार आयोजनाबाट २०८० चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ। निर्माण अवधिभित्र ब्याजबाहेक १८ अर्ब ४७ करोड रुपियाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने समयमा कूल १३ अर्ब ६८ करोड ४२ लाख रुपियाँमा लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

यस्तै, आयोजनाको विद्युत् जोडिने प्रसारण लाइनको ठेक्का एमएस रोयल कन्स्ट्रक्सन कम्पनी गरिरहेको छ। यसअघि ठेक्का पाएको मुडभरी एन्ड जोशी प्रालिले विविध कारण पटकपटक म्याद थप गर्दा पनि तोकिएको समयमा कार्य सम्पन्न हुने कुनै ठोस आधार नदेखिएको हुँदा ठेक्का अन्त्य गरिएको हो।

रोयल कन्स्ट्रक्सनसँग २०७९ कात्तिक १५ गते ठेक्का सम्झौता भई लाइनको जग तयार गरी टावर खडा गर्ने तथा तार तान्ने कामसमेत सम्पन्न भइसकेको जनाइएको छ।

परीक्षण अवधिभर नदीको पानी छेक्ने र छोड्ने कार्य गरिरहनुपर्ने भएकोले नदीको आसपास कार्यहरू नगर्न कम्पनीले आग्रह गरेको छ।

कम्पनीले सूचना जारी गरी बाँधस्थलको तल्लो तटीय क्षेत्रअन्तर्गत नदीको किनारामा पर्ने स्थानहरूमा पानीको सतह घटबढ भइरहने जानकारी दिएको छ।

उक्त समयमा नदीमा माछा मार्ने, नुहाउने, लुगा धुने, वस्तुभाउ चराउने र ढुंगागिट्टी उत्खनन गर्ने तथा नदीमा कुनै पनि किसिमका कार्यहरू नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्