वाइबाको आविष्कार अन्तर्राष्ट्रिय प्रदर्शनीमा

0
Shares

हेटौंडा । 

एक हेटौंडेली युवा विद्यार्थीको आविष्कार ताइवानमा प्रदर्शन गरिने भएको छ । जनवरी २६ देखि फेब्रुअरी २ सम्म त्यहाँ हुने अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनीमा हेटौंडा–४ का युवा विद्यार्थी शाश्वत वाइबाले आविष्कार गरेको मोबाइल एप्लिकेशन प्रदर्शन गरिने भएको हो ।

वाइबाले आविष्कार गरेको कृषिसम्वद्ध ‘एग्रो गार्ड’ मोबाइल एप हेटौंडामा सार्वजनिक गर्ने कार्यक्रममा उक्त जानकारी दिइएको हो । एष्ट्रोनोभा फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी सार्वजनिक गरिएको छ । ‘कृषकले उक्त मोबाइल एप्लिकेशनमार्फत् बोटबिरुवाको स्क्यान गरेर बिरुवामा लाग्नसक्ने रोग, लागिसकेको अवस्थामा उपचार विधि थाहा पाउन सक्छन्,’ उनले भने–उत्पादनमा बृद्धि गर्न आवश्यक जानकारी पाउन सकिने हुँदा यो कृषकका लागि निकै लाभदायी छ । वाइबाले एप्लिकेशनले कृषकहरुलाई बालीनालीमा लाग्नसक्ने विभिन्न रोगहरुको विषयमा अग्रिम जानकारी गराउने र रोग लागिसकेको अवस्थामा रोग निर्मूल पार्न आवश्यक औषधिबारे जानकारी प्रदान गर्ने जनाए ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्टको कक्षा–१२ मा विज्ञान अध्ययनरत् वाइबाले आफूलाई हौसला दिन फाउण्डेशन अध्यक्ष किसन बाँस्तोलासहित टोली पनि ताइवान जान लागेको बताए । फाउण्डेशन अध्यक्ष बाँस्तोलाले विद्यार्थीहरुमा सुरुदेखि नै वैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सिर्जनशीललगायत क्षमता विकासमा सहयोग पु¥याउन विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको जानकारी दिए । उनले विद्यार्थीमा वैज्ञानिक सोच विकास, प्रविधिमय वातावरण निर्माण क्षेत्रमा काम गर्न फाउण्डेशनबाट निःशुल्क कार्यशाला भइरहेको जानकारी दिए ।

एष्ट्रोनोभा फाउण्डेशनले हेटौंडामा रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी र एष्ट्रोनोमीलगायत विज्ञान प्रविधिसम्बन्धि गतिविधि सञ्चालन गर्दै आएको छ । जसका लागि नेपालका विदेश प्रतिनिधि बाबाटुन्डे आयोला छन्  ।

अध्यक्ष बाँस्तोलाले फाउण्डेशनलाई अनुसन्धान एवम् आविष्कार केन्द्रका रुपमा विकास गरिने बताए । हाल विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला स्थापना भइसकेको बताउँदै उनले विज्ञानप्रविधिको क्षेत्रमा बालबालिकाहरुलाई अब्बल बनाउने उद्धेश्यसाथ हालसम्म प्रत्यक्ष वा अप्रत्यक्षरुपमा करिब १ लाख विद्यार्थीसमक्ष पुगेको दाबी गरे ।

फाउण्डेशनले २५ विद्यार्थीलाई राष्ट्रिय युवा विज्ञान सम्मेलनमा सहभागी गराएको, ६ जनाले युवा वैज्ञानिक अवार्ड पाइसकेको, ३५ विद्यार्थीलाई निरन्तर निःशुल्करुपमा मेकानिकल, सिभिल, आईटी, सफ्टवेयर, कम्प्युटरलगायत इञ्जिनियरहरुद्वारा प्रशिक्षण दिने कार्य भइरहेको तथा वेबसाइट तथा डिजिटल प्रोजेक्टको तयारी भइरहेको उनले बताए ।

विद्यार्थीहरुलाई उत्पादनसँग जोड्दै उद्यमशीलता विकास गर्न फाउण्डेशनले काम गरिरहेको उनको भनाइ छ । पुस १७ गतेबाट नेपाल–भारत बहुप्राविधिक विद्यालयमा मेकानिकल इञ्जिनियरिङ पढ्ने १५ विद्यार्थीलाई सोलिडवर्क थ्रीडी डिजाइनिङ वर्कसप सञ्चालन गरिएको, पुस ३० बाट ३ महिनासम्म हेटौंडामा सिभिल इञ्जिनियरिङ विषय अध्ययन गरिरहेका १५ विद्यार्थीलाई अटोकाड तालिम र मेकानिकल इञ्जिनियरिङ पढ्ने १५ जनालाई सोलिडवर्क तालिम सञ्चालन गरिएको उनले बताए ।