चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापनमा सचेत र सक्रिय

28
Shares

भक्तपुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापनमा उपत्यकाकै अब्बल ठहरिएको छ । नगरपालिकादेखि सबै वडामा विपद् उद्धारका २६ प्रकारका सामाग्री सुरक्षित रुपमा राख्ने कार्य गरिसकेको नगरपालिकाले विपद्का वेला उद्धार गर्ने दस्तालाई समेत तालिम दिएर तयार गरेको छ ।

विपद् व्यवस्था ऐन समेत निर्माण गरिसकेको नगरपालिकाले जुनसुकै बेला आइपर्ने विपद्का समयमा आर्थिक समस्या नहोस् भनेर नगरपालिकाले तीन करोड रुपैयाँ राशिको  विपद् व्यवस्थापन कोषसमेत स्थापना गरेको नगर प्रमुख जीवन खत्रीले बताए ।

नगर प्रमुख खत्रीका अनुसार, विपद्बाट हुने क्षति कम भन्दा कम गर्ने उद्देश्यले रणनीतिक कार्ययोजना निर्माण गरिएको छ भने गाउँ वडातहसम्म पनि तालिमको व्यवस्था गरिएको छ ।

त्यस क्रममा विभिन्न संघ संस्था, विद्यालय तथा सहकारीका सदस्यहरुलाई समेत विपद् न्यूनीकरण तालिम दिन थालिएको नगर प्रमुख खत्रीले बताए । विपद् व्यवस्थापनकै लागि नगरपालिकाले चालु आर्थिक वर्षमा २८ वटा योजना अघि बढाएको छ । त्यसै क्रममा चाँगुनारायण नगरपालिकाले २६ औं भूकम्प सुरक्षा दिवसका अवसर पारेर विपद् जोखिम न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका विषयक कार्यशालाको आयोजना गरेको छ ।

सुडालस्थित रत्नागिरी रिर्सोटमा शुक्रवार आयोजित कार्यशालाको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले विपद् न्यूनीकरणमा सचेतना अभिवृद्धि गरेर मिडियाले सबैलाई सजग गरिरहेको बताए । विपद्का समयमा उद्धार तथा राहतका लागि काम गर्ने स्वयंसेवक दस्ता तयार गर्न लागेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले नगरपालिकामा आगलागी, सडक दुर्घटना, बाढी पहिरो र भूकम्पको जस्ता विपद्को सबै भन्दा बढी जोखिम रहको जानकारी दिए ।

भाइरल हुने होडमा गलत सूचना सम्प्रेषण भएमा समाजमा पत्रकारिता क्षेत्रको गरिमा घट्ने बताउँदै  प्रमुख प्रशासकीय अधिकृत पन्थीले जनतालाई सही सूचना प्रदान गर्ने कार्यमा सञ्चार कर्मीसँग सहकार्य गर्न नगरपालिका सदैव तयार रहेको बताए । पछिल्लो समय चाँगुनारायण नगरपालिकाले  विपद्लाई ध्यान दिएर विकास निर्माण कार्य अघि बढाएको पन्थीको भनाई थियो । चाँगुनारायण नगरपालिकामा आकस्मिक कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ ।  कुनै दैवी विपत्ति आए तत्काल त्यहीबाट राहत र उद्धारको कार्य अघि बढाउन सो केन्द्र सञ्चालनमा ल्याइएको पन्थीको भनाई छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सोम प्रधानले चाँगुनारायणका ५, ६, ७ र ८ नं. वडामा बढी विपद्को जोखिम रहेको बताउँदै यस कार्यक्रममा प्राप्त हुने सुझावका आधारमा विपद्का क्षेत्रमा आगामी वर्षको कार्यक्रम तयार गरिने बचन दिए । पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष शुन्दर सिल्पकारले सञ्चारकर्मीको सकारात्मक झक्झक्याईका कारण विपद् जोखिम न्यूनीकरणमा सहयोग पुगेको बताए ।

कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार पुष्करराज बुढाथोकीले विपद्का समयमा पत्रकारले संयमित भई पहिले आफु सुरक्षित रहेर जनतामा सही सूचना पु¥याउँनु पर्ने बताए । उनले विपद् जोखिमको रिपोर्टिङमा चस्मा बदलेर मानवीय विपत्तिलाई गहन पूर्वक हेर्ने नयाँ दृष्टिकोण बनाउनुपर्ने बताए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन विज्ञ दिनेश थापाले नगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका कार्यका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

सो अवसरमा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले सप्तकोसीको बाँध फुट्दादेखि २०७२ सालको भूकम्प तथा गत कातिकमा जाजरकोटमा गएको भूकम्पका समयमा गरिएका स्थलगत रिर्पोटिङका बारेमा जानकारी दिएका थिए । कार्यशालाकै अवसरमा पत्रकारलाई तीन समुहमा बिभाजन गरेर बिपद पूर्वको अवस्था, विपद् हुँदा र विपद् पछिको अवस्थामा के–कस्ता विषय उठान गरेर विपद् न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यशालामा सञ्चारकर्मी रमेश गिरी, उज्ज्वल झा, सुरेश सैजु, शंकर अर्याल, रेणु तोयनावासु लगायतले आ–आफ्नो अनुभव सुनाएका थिए भने नेपाल रेडक्रस सोसाइटीका उप निर्देशक  शिवराम गौतमले चाँगुनारायण नगरपालिकाजस्तै अन्य नगरपालिकालाई समेत विपद्का क्षेत्रमा काम गर्नका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले झकझक्याउनु पर्नेमा जोड दिएका थिए ।