मानवअधिकार तथा शान्ति समाजद्वारा प्रशासन अगाडि धर्ना



म्याग्दी ।

मानवअधिकार तथा शान्ति समाज म्याग्दीले आज (शुक्रवार) जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडि धर्ना दिएको छ । एनसेल घोटाला प्रकरणमा देशलाई झण्डै तीन खर्ब रुपैयाँ घाटा पु¥याउने चलखेल भएको भन्दै विरोधस्वरुप आधा घण्टा धर्ना दिइएको हो ।

मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाद्वारा आयोजित विरोध प्रदर्शन कार्यक्रममा व्यानरसहित धर्ना दिइएको थियो । एनसेल घोटाला प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन विश्वसनीय न्यायिक छानबिन आयोग गर्नुपर्ने, एनसेल घोटाला प्रकरणमा संलग्न सरकारका उच्च अधिकारीहरुलगायत जो कोही भए पनि कानुनसम्मत कारवाही हुनुपर्ने मागहरु रहेको मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाले जनाएको छ ।

विरोध प्रदर्शन कार्यक्रममा एनसेल प्रकरण, टेरामक्स प्रविधिलगायत विभिन्न कार्यमा भैरहेको अनियमितता र आर्थिक चलखेलको घोटाला विरुद्धको प्लेकार्डसहित मानव अधिकारकर्मीहरु सहभागी भएका थिए । मानवअधिकार तथा शान्ति समाज म्याग्दीका सभापति हरिप्रसाद पौडेलले एनसेल प्रकरणमा भैरहेको आर्थिक घोटालाको विरुद्धमा साङ्केतिक विरोधस्वरुप धर्ना कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्