पालिकास्तरमा अस्पताल सुरु

0
Shares

हेटौंडा ।

 हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरीमा अस्पताल उद्घाटन भएको छ । डाक्टरको सुविधासहित स्थानीयस्तरका नै उपचारसेवा प्रदान गर्नका लागि हेटौँडा उपमहानगरपालिकाले पालिकास्तरको अस्पताल सुरु गरेको हो।

हेटौँडा–१३ र १६ मा अस्पतालको सुविधासहित स्थानीयलाई स्वास्थ्य सेवा दिने क्रममा शुक्रवार हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले अस्पताल उद्घाटन गरेकी हुन् । पालिकाले सञ्चालन गरेको ५ बेडको अस्पतालले पुस १७ गतेबाट चिकित्सकसहित सुविधा दिँदै आएको थियो । अस्पतालले आकस्मिक सेवासहित अन्य सामान्य उपचार सेवा दिँदै आएको छ ।

अस्पताल उद्घाटन गर्दै नगर प्रमुख लामाले जनतालाई स्थानीय ठाउँबाट स्वास्थ्य उपचार दिलाउनका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताइन् । स्वास्थ्य चौकीबाट दिइँदै आएको सुविधालाई केही विकसित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । चिकित्सकसहितको सुविधा दिने उद्देश्यसहित पालिकाले नगरका दुई ठाउँमा अस्पताल सञ्चालन गरेको नगर प्रमुख लामाले बताइन् ।

अस्पताल उद्घाटनसँगै पदमपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा २ सय ६६ महिला र १ सय ७१ पुरुष गरी ४ सय ३७ जनाले सेवा लिएको अस्पतालका सिनियर अहेब शेरबहादुर ब्लोनले जानकारी दिए । शिविरमा सेवा लिन आएकामध्ये ३ सय ५० जनालाई आँखा, १ सय ८ जनालाई ल्याब र २३ जना मानसिक सेवा प्रदान गरिएको उनले बताए ।

वडा अध्यक्ष पेम्बा लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगर वित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपाल, सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनासहित स्थानीय संघसंस्थाका प्रतिनिधि, वडास्तरीय राजनीतिक दलका प्रतिनिधिको आतिथ्यता थियो ।