गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन

0
Shares

काठमाडौं ।

गायक तथा सङ्गीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ।

बिहीबार राति साढे १२ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि सुन्धारास्थित काठमाडौं भ्याली अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।

उनी पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेका थिए। गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए।

उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन्। यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्।

वैद्यले हालै गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए। १२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए।

करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि केही समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ।  उनका दुई छोरी र एक छोरा छन्।