खुलामञ्च मासेर फुटबल मैदान

सर्वत्र विरोधका बाबजुद महानगरले अघि बढायो खरिद प्रक्रिया



काठमाडौं ।

खुलामञ्चमा दुईवटा प्लास्टिकको दुबो कार्पेटसहितको अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको सबैतिरबाट विरोध भएको छ। महानगरले खुल्ला मञ्च मासेर फुटबल मैदान बनाउन खोजेपछि त्यसको सर्वत्र विरोध भएको हो।

यसअघि विरोधकै कारण भूमिगत पार्किङ बनाउने निर्णयबाट पछि हटेको महानगरपालिकाले अहिले फुटबल मैदान बनाउने योजना अघि सारेको हो।

महानगरले खुलामञ्चमा पा“च करोड रुपियाँको लागतमा फुटबल मैदान बनाउन खरिद प्रक्रिया नै अघि बढाइसकेको छ। सो कार्यका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको महानगरपालिकाले जनाएको छ।

ठेक्का प्रक्रियामा जाँदा लामो समय लागेर विवाद हुने भएकाले कामहरू टुक्र्याएर कोटेसनबाटै काम सक्ने योजनामा महानगरपालिका छ।

महानगरपालिकाका अनुसार शहरी योजना महाशाखाले डीपीआर बनाइसकेको छ भने खेल सामग्री र प्लास्टिकको दुबोका लागि क्रेट्स रिक्रिएसन र सिल्क इनोभेसनसँग बोलपत्रसमेत माग गरिसकेको बुझिएको छ।

महानगरको यो निर्णयलाई लिएर अहिले सर्वत्र चर्को विरोध भएको छ। नेपाल इन्डिजिनस लिगल सोसाइटीले खुल्ला मञ्चमा फुटबल मैदान बनाउने योजनाप्रति आपत्ति प्रकट गरेको छ।

सामाजिक, सांस्कृतिक सम्पदा र ऐतिहासिक स्थलको पैरवी गर्ने कानुनकर्मीहरूको संगठनका रूपमा रहेको सो संगठनले खुल्लामञ्च जस्तो ऐतिहासिक तथा सांस्कृतिक खुल्ला क्षेत्र अन्य कुनै कार्यका लागि हस्तक्षेप गर्ने अधिकार महानगरपालिकालाई नभएको समेत जिकिर गरेको छ।

खुलामञ्च तेन्दोख्यल र दुख्यः(टुँडिखेल) को अभिन्न अंग हो। टुँडिखेलको पुरानो नाउँ तेन्दोख्यल हो। त्यहाँको महांकाललाई तेन्दो महांकाल भनी लेखिएको पाइन्छ।

ऐतिहासिक टुँडिखेलको भूभाग हाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालादेखि रानी पोखरीसम्मको स्थल हो। यही दुख्यःमा नेवाः आदिवासी जनजातिहरूको रहनसहन र जीवन्त संस्कृतिका विविध परम्परा जोडिएको सोसाइटीका अध्यक्षसमेत रहेका अधिवक्ता नरेश श्रेष्ठको भनाइ छ।

स्थानीयवासी र संरक्षण अभियन्ताहरूले खुलामञ्चलाई प्राकृतिक चौरकै रूपमा छाड्न माग गर्दै सर्वसाधारणको पहुँच नखुम्च्याउन चेतावनी दिएका छन्।

तर, स्थानीय फुटबल क्लबहरूलाई साथ लिएर महानगरपालिका जसरी पनि खुलामञ्चमा सकेसम्म कृत्रिम (प्लास्टिक) दुबो रोप्ने र सम्भव नभए प्राकृतिक दुबो रोपेरै भए पनि दुईवटा फुटबल मैदान तयार गर्ने अडानमा छ।

महानगरपालिकाको गत आर्थिक वर्षको बजेटमा वडानम्बर २८ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स’ बोरिङसहितको भूमिगत पार्किङको पूर्वाधार निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख थियो।

सोहीअनुसार काठमाडौंले ५ हजार गाडी अट्ने गरी भूमिगत पार्किङको लागि नगर विकास कोषमार्फत् अध्ययन अगाडि बढाएको थियो। तर, खुलामञ्चको प्राकृतिक अवस्था खलबल्याउन नहुने भन्दै चर्को विरोध र आलोचना भयो।

अहिले महानगरपालिकाले सम्भाव्यता अध्ययनबाट भूमिगत पार्किङ बनाउन सम्भव नदेखिएको बताएर खेल मैदानको योजना अघि सारेको हो।

महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’का नाममा १ करोड रुपियाँ विनियोजन गरेको थियो।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागअन्तर्गत सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुलामञ्चलाई मैदान बनाउने काम हुन लागेको हो।
टुँडिखेल खुल्ला हुनुपर्ने माग राखेर लामो समयदेखि अभियान चलाइरहेका आलोक तुलाधरले महानगरको नियतमै खोट रहेको आरोप लगाउनुभयो।

तुलाधरको अनुसार खुलामञ्चमा २०७३ सालपछि व्यवसायीहरूको स्वार्थमा आधा भागमा बसपार्क राखिएको र त्यसपछि बा“की भागमा विभिन्न ठेकेदारहरूको क्रसर र गोदाम घरहरू बनाइएको थियो।

अकुपाई टुँडिखेल अभियान चलाएर विरोध गरेपछि बल्ल महानगरले ती संरचनाहरू हटाएर खुलामञ्च खाली गरेको थियो। तर, त्यसपछि महानगरले खुलामञ्चको गेटमा ताला ठोकेर राखेको जिकिर गर्दै तुलाधरले प्रश्न गर्नुभयो– ‘खुला स्थान सर्वसाधारणको पहुँचमा ल्याउनुपर्नेमा उल्टै अघिल्लो वर्ष भूमिगत पार्किङ भनियो, त्यो गलत भएको बुझ्नासाथ खुलामञ्चमा खेल मैदान बनाउने भनिँदैछ, यसमा किन महानगरले वक्रदृष्टि लगाइरहन्छ ?’

उहाँले खुलामञ्चलाई पहिलाको जस्तै घाँसे मैदानको रूपमा रहन दिनुपर्ने माग गर्नुभएको छ। २०३६ सालयता खुलामञ्चमा राजनीतिक दल र नागरिक समाजले विभिन्न सार्वजनिक कार्यक्रम, सभा र सम्मेलन गर्दै आएकाले यसलाई ‘जनताको मञ्च’ पनि भन्ने गरिन्छ।

टुँडिखेलको एक भाग खुलामञ्च नेपालीले आफ्नो विचार राख्ने, अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने ठाउँ मानिन्छ। विचार निर्माण गराउने सार्वजनिक थलो मासेर खेल मैदान बनाउन नहुने संरक्षणकर्मीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्