सेख हसिनाको विजयले भारत बंगलादेश सम्बन्धमा नयाँ उचाइ



काठमाडौं ।

सन् २०२४ मा विश्वका ६६ ओटा मुलुकहरूमा निर्वाचन हुँदैछ। निर्वाचनमा कूटनीतिक सम्बन्ध पनि बहसको विषय र चुनावी मुद्दा हुने गर्दछ।

दक्षिण एसियामा श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश र नेपालमा समेत भारत पक्षधर र भारत विरोधी विचार चुनावी मुद्दा हुने गरेको छ । वर्तमान परिवेशमा मालदिभ्समा मुख्य पार्टीको विजय नै भारत विरोधी नारामा सम्भव भएको थियो।

भर्खरै बङ्गलादेशको चुनावले सेख हसिनालाई पाँचौंपटक प्रधानमन्त्री बन्न अनुमोदित गर्‍यो। ३ सय सिटमध्ये २ सय २३ सिट प्राप्त गर्ने सेख हसिना चुनावी अङ्कगणितको हिसाबले अब्बल छिन्।

६० ओटा सिट स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गरेका छन् भने विपक्षी दलहरूले चुनावलाई बहिष्कार गरेका छन्। सेख हसिनाले चुनावमा विकासको मुद्दालाई पुँजीकृत (क्यापिटलाइज) गरेकी थिइन्।

सन् २००९ देखि नै सेख हसिनाले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै अल्पसंख्यक हिन्दु मतदाताको दिल दिमाग जित्दै अगाडि बढेकी छिन्। भारत बङ्गलादेश सम्बन्धलाई यथोचित महत्व दिनुका विभिन्न आयामहरू छन्।

भारत विभाजन हुनेबित्तिकै बङ्गलादेश (पूर्वी पाकिस्तान)का भाग भए। पूर्वी पाकिस्तानका मुख्य भाषा वङ्ला थियो। बङगालीहरू सांस्कृतिक हिसाबले अब्बल र सुसंस्कृत हुने गर्दछन्। तर, पूर्वी पाकिस्तानमाथि उर्दु भाषा थपियो जुन कि विद्रोहको कारणमा रूपान्तर भयो।

अर्कोतर्फ पूर्वी पाकिस्तान अमेरिकी र पाकिस्तानी खोपीया, एजेन्सीको प्रयोगशालाको रूपमा रूपान्तरित भयो। अमेरिकीको खोपिया एजेन्सी सी.आई. र पाकिस्तानी खोपिया एजेन्सी आए.एस.आई.ले भारतका उत्तरी पूर्वी भागमा हातहतियार निर्यात गर्दै पृथकत्तावादी शक्तिहरूलाई उद्वेलित गर्न गुरूयोजनाका साथ अगाडि बढिरहेको थियो । सन् १९६५ मा पाकिस्तानलाई युद्धमा पराजय गरेपश्चात् भारतसमेतले पाकिस्तान विभाजनका लागि गुरुयोजना बनाइरहेको थियो ।

सन् १९६८ ताका भारतका खोपिया एजेन्सी रावले पूर्वी पाकिस्तानीलाई आवश्यक मद्दत गर्न मुक्ति बाहिनीलाई सक्रिय गर्यो । इन्दिरा गान्धीको दृढ नेतृत्वले गर्दा सन् १९७१ ताका नयाँ मुलुक बङ्गलादेशको जन्म भयो। कूटनीतिको अभ्यास पनि बडो विचित्रको हुँदो रहेछ।

सन् १९७१ मा भारतमाथि सैनिक कारबाही गर्ने अमेरिकाले बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रको मोहर लगाउन अग्रणी भूमिका खेल्दै बङ्गलादेशमा आप्mनो सक्रियतालाई कायम नै राखे । तर बङ्गलादेशको नेतृत्व सेख हसिनाका पिता मुजाबुर रहमानको कुशल नेतृत्वमा थियो।

बङ्गलादेशीहरू उनलाई बंगबन्धुको नामले आदर गर्दछन्। बंगबन्धुको नेतृत्व अमेरिकी र पाकिस्तानीलाई पाच्य थिएन। सन् १९७५ ताका २० जना परिवारका सदस्यसहित मुजीबुर रहमानको हत्या गरियो । सौभाग्यबस सेख हसिना जर्मनीमा थिइन्।

सेख हसिनालाई भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा विशेष सुरक्षाका साथ आश्रय दिइन्। सेख हसिना भारतको सहयोग र सद्भावलाई आफ्ना पुस्तक “माइ फादर एन्ड बङ्गलादेश”मा रोचक ढङ्गले वर्णन गरेकी छिन्।

बङ्गलादेशको स्वतन्त्रता संग्राममा ३ हजार भारतीय सैनिक साहदत हुनु र १२ हजार सैनिक घाइते हुनुजस्ता परिघटनाका बारेमा पनि उनी आफ्ना पुस्तक “लिभिङ्ग विथ टियरस” मा उल्लेख गरेकी छिन्। सन् १९८१ ताका हसिना बङ्गलादेश फेर्केर अगामी लिग नामक पार्टीको छातामा आफ्ना राजनैतिक यात्रा शुरू गरिन्।

सेख हसिना भारत बङ्गलादेश सम्बन्धका पक्षधर छिन्। जीवनको आरोह र अवरोहमा उनी १९ पटक सांघातिक हमलामा पर्दै ज्यान जोगाउन सफल भएकी छिन्।

सन् २०४० सम्म बङ्गलादेशलाई मलेसियाजस्तै राष्ट्र बनाउन संकल्पित हसिनाले आर्थिक विकासलाई उच्च प्राथमिकता दिएकी छिन्। बङ्गलादेशको विकासमा भारतको योगदानलाई उच्च महत्व दिँदै बङ्गलादेश र भारतको व्यापार १८ बिलियन अमेरिकी डलरभन्दा पनि अधिक रहेको छ।

बङ्गलादेश भारतको छैठौं व्यापारिक साझेदार रहेको छ। भारत र बङ्गलादेशबीच बृहत् व्यापारिक सम्झौतासमेत भएको छ। त्यसअनुरूप भारतले बङ्गलादेशको पूर्वाधार विकासका लागि ७ देखि १५ बिलियन अमेरिकी डलर ल्याउने सहमत भएको छ।

भारत बङ्गलादेशबीच सीमासम्बन्धी लामो विवाद रहिआएको थियो। सन् २०१४ मा मोदीको आगमनका साथै सीमा विवाद सामाधानका लागि दुई ओटै मुलुकहरूले संयन्त्रलाई अगाडि बढाउँदै सीमासम्बन्धी सम्पूर्ण विवादलाई सामाधान गर्न सफल भएको देखिन्छ।

हुन त मोदी आगमन हुनुभन्दा पहिलेदेखि नै सन् २००९ मा गृहकार्य शुरू भइसकेको थियो। भारत बङ्गलादेश ५४ ओटा नदीहरूबाट समेत जोडिएको छ। सन् १९९६ मा गंगा नदीको पानीको भाग हिस्सामा समेत दुईओटै मुलुकहरू सहमत भए तापनि हालसम्म टिस्टा नदीको समस्या सामाधान भएको छैन । बङ्गलादेशको प्रमुख समस्या ऊर्जा हो।

ऊर्जा समस्यालाई सामाधान गर्न भारतले २ बिलियन अमेरिकी डलरमा मैत्री थरमल प्लान्ट बङ्गलादेशमा निर्माण गरिरहेका छन्। कनेक्टिभिटीलाई विशेष जोड दिँदै अरबोटा रेल लाइन पनि भारतको सहयोगमा निर्माण भइरहेको छ।

बङ्गलादेश पूर्वाधार विकास हुनुको भारतले पनि प्रचूर मात्रामा लाभ प्राप्त गर्न सक्दछ। अर्थात् भारतका बङ्गाल प्रान्त र त्रिपूराले समेत यी पूर्वाधार विकासबाट लाभान्वित हुन सक्दछ। विगत ९ वर्षमा भारत बङ्गलादेशको व्यापार तीन गुणाले बढोत्तरी भएको छ।

रोचक पक्ष के छ भने बङ्गलादेशको निर्यातले समेत भारतलाई फाइदा पुर्‍याउँछ। बङ्गलादेश कच्चा पदार्थको आयात भारतबाट गर्दछ । भियतनामजस्तै गार्मेन्टको क्षेत्रमा अमेरिका र युरोपको बजारमा बङ्गलादेशको पकड बलियो भइरहेको छ।

दक्षिण एसियामा तीव्र रूपले आर्थिक विकास गरिरहेको मुलुकमध्ये बङ्गलादेश अगाडि रहेको छ। तर, बङ्गलादेश भारतका साथै चीनसँग सन्तुलित नीतिका साथ अगाडि बढिरहेको छ।

बङ्गलादेशले चीनको बी.आर.आए. योजनामा हस्ताक्षर गरेका छन्। तर, चीनको जोखीमपूर्व ऋणबाट बङ्गलादेश सचेतसमेत देखिएको छ । आफ्ना ७० प्रतिशत हतियार चीनबाट खरिद गर्दै आएको छ।

त्यसले गर्दा भारतसमेत सर्तक रहेको देखिन्छ । कूटनीतिको यो सामान्य नियम पनि हो। तर, भौगोलिक हिसाबले भारतीय अर्थतन्त्रसँग बङ्गलादेश नजोडिएको भए बंगलादेश यो उचाइमा पुग्ने थिएन।

सन् १९७४ मा बङ्गलादेशलाई खाद्यान्नबाट सहयोग गर्ने मुलुक नेपाल नै थियो। आज नेपालको अर्थतन्त्र तरल अवस्थामा छ। विकासको मुद्दा जबसम्म राजनीतिले ग्रहण गर्दैन तबसम्म कूटनीतिले राष्ट्रहितलाई प्रतिनिधित्व गर्दैन।

नेपालको हरेक राजनीतिक दलहरूले आफ्नो अर्जुन दृष्टिमा विकासको मुद्दालाई अगाडि बढाउँदै यी मुलुकहरूबाट सकारात्मक पाठ सिक्नु पर्दछ। आर्थिक विकास बिना राष्ट्रवाद दिगो र बलियो हुँदैन।

प्रतिक्रिया दिनुहोस्