कांग्रेसभित्रको प्रतिपक्षी समूहसँग नजिकिँदै प्रधानमन्त्री



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताको मुख्य साझेदार दल नेपाली कांग्रेसभित्रको प्रतिपक्षी समूहका नेतासँग सम्बन्ध सुधारमा लाग्नुभएको छ।

प्रधानमन्त्री प्रचण्ड पछिल्लो केही समययता कांग्रेस संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासँग नजिकिन लाग्नुभएको हो।

कांग्रेसका शक्तिशाली महामन्त्री थापासँग प्रधानमन्त्रीले नियमित सल्लाह सुझाव लिन थाल्नुभएको छ भने नेता कोइरालालाई केही दिनअघि मात्रै बालुवाटारमा बोलाएर राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा कुरा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने दाबी गर्दै आएका प्रधानमन्त्री दाहालले सरकारको गतिविधिप्रति खरो आलोचकका रूपमा प्रस्तुत भएका नेता कोइराला र थापासँगको निकट हुनुलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ।

राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिइसकेपछि प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण विषयमा निर्णय लिँदा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँगै र कांग्रेस महामन्त्री गगन थापासँग सल्लाह लिने गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वर्तमान सरकार माओवादीको एकल बहुमतको सरकार होइन । सरकारको मुख्यसहयात्री दल कांग्रेसको प्रभावशाली महामन्त्री हुनुको नाताले प्रधानमन्त्रीले थापासँग विभिन्न विषयमा सल्लाह लिने गर्नुभएको छ। उहाँ पटकपटक सांसद र अघिल्लोपटक प्रचण्डकै प्रधानमन्त्रीकालमा स्वास्थ्यमन्त्री भएर सफल कार्यकाल पुरा गर्नुभएकाले सरकारलाई प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीले उहाँसँग सल्लाह लिँदा उचित ठान्नुभएको हो।’

तर, प्रधानमन्त्रीले इतर समूहका नेताहरूसँग यसरी सल्लाह लिएको कांग्रेस सभापति शेरबहादुर देउवालाई भने मन परेको छैन। कांग्रेसको संस्थापन पक्षका नेताहरूलाई मात्रै मिलाउँदा प्रधानमन्त्री प्रचण्डलाई सरकार चलाउन सकस देखिएकाले उहाँले इतर पक्षलाई पनि विश्वासमा लिएर अगाडि बढ्न खोजेको नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले बताए।

उनले भने– ‘कांग्रेसमा पार्टी एउटै भए पनि दुइ समुह प्रष्ट देखिएको छ। हरेक निर्णय प्रक्रियामा दुवै समूहका एजेन्डा समानान्तर हुन्छन् र निर्र्णय गर्दा दुवैलाई समायोजन गरेर अघि बढ्ने चलन रहेछ। नत्र हरेक निर्णय कार्यान्वयनमा कांग्रेसमा अप्ठ्यारो देखियो। त्यसको असर सरकारमा समेत पर्ने भएकाले शेखर समूहका नेताहरूसँग पनि प्रधानमन्त्रीले सल्लाह सुझाव लिनुभएको हो। ’

राष्ट्रिय सभामा कांग्रेसभित्र कुरा मिल्न नसकिरहेका बेला प्रधानमन्त्रीले केही दिनअघि डा. कोइरालालाई बालुवाटारमा बोलाएर कृष्णप्रसाद सिटौलाको नाममा विरोध नगरिदिन आग्रह गर्नुभएको थियो।

सिटौलालाई राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्षसम्म बनाउनमा सत्ता गठबन्धनका दलहरू सहमत छन्। सिटौलालाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएकोमा सभापति देउवाप्रति संस्थापनइतर समूह रुष्ट छ।

पार्टीले उम्मेदवार छनोट गरेको निर्णय प्रक्रियाप्रति महामन्त्री थापाले माइन्युटमै असहमति जनाउनुभएको थियो भने कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य बलबहादुर केसी र अर्जुजननरसिंह केसीले समेत वक्तव्य जारी गर्दै उम्मेदवार छनौट प्रक्रियाको विरोध गर्नुभएको थियो।

सोही असहमति र विरोधका कारण राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई असर पर्न सक्ने देखेर पनि प्रधानमन्त्री दाहालले संस्थापनइतरका नेताहरूसँग संगत बढाउनुभएको कतिपयको विश्लेषण छ।

तर, प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालको पहिलो एक वर्ष सोचेअनुसार काम गर्न नसकिएको निष्कर्ष निकाल्दै बाँकी कार्यकालमा सचिवालयलाई समेत चुस्त बनाउने र सरकारको प्रभावकारिता बढाउन सहयात्री दलका महत्वपूर्ण नेताहरूसँग नियमित सल्लाह सुझाव लिने रणनीतिमा अबलम्बन गर्न लागेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्