महाजात्राको आहा क्या राम्रो



काठमाडौं ।

अत्यधिक सफल सिक्वेलका रूपमा निर्माणाधीन फिल्म महाजात्राको पहिलो भिडियो सामग्रीको रूपमा गीत सार्वजनिक गरिएको छ। माघे सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको आहा क्या राम्रो बोलको गीत फिल्मको प्रमोसनका लागि तयार गरिएको हो।

केही समय अगाडि खुल्ला मञ्चमा सेट लगाएर छायांकन गरिएको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ।

गीतमा फिल्मका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ र रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन्। अरुण र आश्मा गीतमा मात्र रहेको निर्देशक प्रदीप भट्टराईले जानकारी गराए।

‘फिल्म सुहाउँदो गीत भएकाले अरुण र आश्मालाई राखिएको हो। यसलाई हामीले प्रचार–प्रसारका लागि तयार गरेका हौँ’, निर्देशक भट्टराईले भने। एक सयभन्दा बढी कोरस कलाकार प्रयोग गरेर तयार गरिएको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्।

‘पहिला गीत भनेपछि सहजता महशुस गर्दिनथिएँ। तर, अहिले बानी परिसकेको छ। किनकि, नृत्यको मेरो आफ्नै शैली छ’, अभिनेता कार्कीले भने । निर्देशक भट्टराईले फिल्ममार्फत् प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए।

अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ। यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत् पाउने सर्वाधिक रकम पाइसकेको छ।

नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन्। फिल्म जात्रा र जात्रै जात्राको व्यावसायिक र समीक्षात्मक सफलतापश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खलाको रूपमा निर्माणाधीन महाजात्रामा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको छ।

फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञेश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शन हुनेछ।

फिल्ममा जितबहादुर रुवाली एसोसियट निर्देशक, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार र पुरुषोत्तम प्रधान छाया“कार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्